विश्वासको मत नपाएपछि गण्डकी सरकार ढल्यो, अब को बन्लान् मुख्यमन्त्री ?

  २०७८ जेठ २७ गते १८:०३     विकासन्युज

काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पदमुक्त बनेका छन् ।  एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारले विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका हुन् ।

मुख्यमन्त्री गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेकोमा उनले बहुमत प्राप्त गर्न सकेनन् । मतदानमा ५८ जना प्रदेश सभा सदस्य उपस्थित थिए भने ५७ जनाले मतदान गरेका थिए।

मुख्यमन्त्री गुरूङको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत आएको छ।

मुख्यमन्त्री गुरूङलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदले भोट दिएका थिएनन्। ३ जना सांसद रहेको जनमोर्चाका एक सांसद भने तटस्थ बसेका छन्। प्रदेश सभामा आज खेलकूद मन्त्री राजिव गुरूङ उपस्थित भएनन्। उनी स्वतन्त्र सांसद हुन्।

गत वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका गुरुङले संवैधानिक प्रावधानअनुसार विहीबार विश्वासको मत लिन प्रयास गरेका थिए । विश्वासको मत प्राप्त नगरेपछि अब प्रदेशमा के हुन्छ भन्नेमा चासो बढेको छ ।

प्रदेशसभाको बिहीबार बसेको बैठकमा गुरुङले भने विश्वासको मतसम्बन्धी प्रस्ताव विफल भएमा संविधानअनुसार अघि बढ्ने बताएका थिए । गुरुङ पदमुक्त भएपछि अब मुख्यमन्त्री को बन्लान् भन्ने वहस भने सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.