धवलागिरि अस्पताललाई एम्बुलेन्स किन्न अष्ट्रेलियामा रहेका बागलुङवासीद्वारा १० लाख सहयोग

  २०७८ जेठ १२ गते १२:०२     विकासन्युज

गलकाेट । अष्ट्रेलियामा रहेका बागलुङवासीले धवलागिरि अस्पतालमा अत्याधुनिक एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गरेका छन् । अस्पतालमा अहिले एउटा एम्बुलेन्स रहेकामा अब प्रवासीको सहयोगमा नयाँ एम्बुलेन्स थपिने भएको छ ।

बागलुङबाट अध्ययन तथा रोजगारीको सिलसिलामा अष्ट्रेलियामा रहेका बागलुङवासीले कोरोना सङ्कटमा साथ दिनका लागि अत्याधुनिक एमबुलेन्स खरिद गर्ने अभियान चलाएका छन् ।

उनीहरूले कोरोना सङ्क्रमण अथवा कुनै पनि पनि रोगबाट कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले एम्बुलेन्स खरिदका लागि आर्थिक सङ्कलन अभियान चलाएको र पहिलो चरणमा १० लाख हस्तान्तरण गरेका हुन् ।

सुविधासम्पन्न एम्बुलेन्स अभावमा कतिपय बिरामीको अस्पताल पु¥याउँदा नै ज्यान जाने अवस्थालाई मध्यनजर गरी अस्पतालले एम्बुलेन्स खरिद गर्ने गरी रकम पठाएको बागलुङ घर भई अष्ट्रेलियामा रहेर एम्बुलेन्स खरिदका लागि सहयोग सङ्कलन अभियान चलाएका सुमन विष्टले जानकारी दिए ।

सुविधासम्पन्न अत्याधुनिक एम्बुलेन्स खरिदका लागि अष्ट्रेलियामा रहेका बागलुङवासीले पहिलो चरणमा १० लाख सहयोग गरेका छन् । भन्सार छुटसहित करिब २८ लाख ५० हजारमा खरिद गरिने एम्बुलेन्स जिल्लामा अहिले सञ्चालनमा आएका एम्बुलेन्सभन्दा फरक र सुविधासम्पन्न हुनेछ ।

नयाँ एम्बुलेन्समा दुई बिरामी, स्वास्थ्यकर्मी र आवश्यक उपकरण राख्न सकिनेछ । एम्बुलेन्स खरिदका लागि बाँकी रकम एक हप्तामै आउने र एक महिनाभित्रै अस्पतालमा नयाँ एम्बुलेन्स सञ्चालनमा ल्याउने धवलागिरि अस्पताल व्यवस्थापन समिति बागलुङका अध्यक्ष केबी राना मगरले बताए ।

पहिलो चरणको १० लाखको चेक सुमन विष्टका बुवा तिलक विष्टले धवलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रानामगरलाई हस्तान्तरण गरेका थियो । उनले अस्पतालको सिङ्गो टिम र सहयोगीको साथका कारण अस्पतालले मुहार फेरेको बताउँदै अस्तालमा आधुनिक एम्बुलेन्स आउँदा दुःखी तथा गरिबका लागि सहयोगी बन्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.