थपिदै फोरजीका ग्राहक, ८७ प्रतिशत जनसंख्याको पहुँचमा इन्टरनेट

  २०७८ जेठ ११ गते १२:३५     विकासन्युज

काठमाडौं । नेपालमा फोरजीका ग्राहक ७६ लाख भन्दा बढी भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको (गत साउनदेखि फागुन मसान्तसम्म) तथ्यांक अनुसार फारजीका प्रयोगकर्ता ७६ लाख ६८ हजार १८१ पुगेको हो ।

नेपालमा तीन दूरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन् । तीन कम्पनी मध्येमा सबैभन्दा धेरै ग्राहक एनसेलको रहेको छ । आठ महिनामा एनसेल कम्पनीका फोरजीका ग्राहक ४८ लाख ५६ हजार ७४२ जना पुगेको छ । गत माघ महिनाको तुलनामा फागुन महिनामा ५ लाख ३० हजार ८०६ जना बढेका छन् । गत माघ महिनामा फोरजीका ग्राहक ४३ लाख २५ हजार ९३६ जना रहेका थिए ।

प्राधिकरणको तथ्यांक अनुसार सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को फोरजीका ग्राहक २५ लाख ८९ हजार २९४ जना पुगेका छन् । गत माघ महिनाको तुलनामा फागुन महिनामा ४४ हजार ५७० जनाले बृद्धि भएको छ । गत माघ महिनामा फोरजीका ग्राहक २५ लाख ४४ हजार रहेका थिए ।

यसैगरी, स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता २ लाख २३ हजार १४५ जना पुगेको छ । गत माघ महिनाको तुलनामा फोरजीका ग्राहक एक हजारले मात्र बढेका छन् । स्मार्ट टेलिकमका फोरजीका मात्र ग्राहक रहेका छन् ।

फोरजीका प्रयोगकर्ता सगैँ गत माघ महिनाको तुलनामा फागुन महिनामा २ लाख बढी थ्रीजीका प्रयोगकर्ता थपिएका छन् । गत माघ महिनामा १ करोड १३ लाख ५१ हजार प्रयोगकता रहेकोमा फागुन महिनामा एक करोड १५ लाख ६५ हजार बढी थ्रीजीका प्रयोगकर्ता रहेका छन् ।

नेपालमा कुल जनसंख्याको ८७ प्रतिशत जनसंख्यामा इन्टरनेटको पहुँच पुगेको छ । आठ महिनाको तथ्यांक अनुसार नेपालमा दुई करोड ६३ लाख ५६ हजार बढी जनसंख्याको पहुँचमा इन्टरनेट सेवा पुगिसकेको छ ।

गत माघ महिनाको तुलनामा फागुन महिनामा ९ लाख ३६ हजार बढी प्रयोगकर्ता थपिएका छन् । गत माघ महिनामा कूल २ करोड ५४ लाख १९ हजार जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.