काठमाडौंलाई ट्रान्जिट बनाएका भारतीय नागरिक साउदी जान पाउने

  २०७८ जेठ ३ गते १५:५८     विकासन्युज

काठमाडौं । नेपालमा रोकिएका भारतीय नागरिकलाई साउदी अरब लैजान सरकारले दुई वायुसेवा कम्पनीलाई चार्टर्ड उडान अनुमति दिएको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले सोमबार नेपाल वायुसेवा निगम र हिमालय एयरलाईनलाई साउदी उडानको अनुमति दिएको हो ।

कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै सरकारले गत बैशाख २३ गतेदेखि नियमित अन्तराष्ट्रिय उडान बन्द गर्दा साउदी जान काठमाडौं आएका भारतीय नागरिक नेपालमा रोकिएका थिए ।

ठूलो संख्यामा भारतीय नेपालमा रोकिएपछि भारतीय दुतावास र साउदी सरकारले आग्रहमा चार्टड उडानको अनुमित दिईएको क्यानका अधिकारीहरु बताउँछन् ।

कोरोना संक्रमणलाई ध्यानमा राख्दै साउदी सरकारले भारत लगायतका देशबाट हुने उडानमा प्रतिबन्ध लगाएसगैँ भारतीय नागरिकले नेपाललाई ट्राजिन्ट हव बनाएका थिए ।

कोभिड–१९ संक्रमणलाई ध्यानमा राख्दै सरकारले गत बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्ला सहित अधिकांश जिल्लामा निषेधाज्ञा लागु गरेको छ । निषेधाज्ञा लागु गरेसगैँ गत बैशाख २० गतेदेखि अनिश्चितकालका लागि आन्तरिक तथा जेठ १७ गतेसम्मका लागि अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाईएको छ ।

कुन एयरलाइन्सको कति उडान

क्यानले भारतीय नागरिक साउदी लैजानका लागि १० उडान अनुमति दिएको छ । जसमा नेपाल वायुसेवा निगमलाई ७ र हिमालय एयरलाइन्सलाई तीन उडानको अनुमति दिईएको हो ।

क्यानले हिमालय एयरलाइन्सलाई मंगलबार उडान गर्ने गरी अनुमति दिएको छ । हिमालयले साउदीको दमामका लागि मंगलबार तीन उडान गर्ने तयारी भएको जनाएको छ ।

यस्तैगरी नेपाल वायुसेवा निगमले हिमालयको उडान पछि उडान गर्ने तयारी गरेको छ ।

नियमित रुपमा हुने उडान बन्द भएपनि क्यानले चार्टर्ड, उद्धार तथा कार्गाे उडानलाई अनुमित दिने गरेको छ । नेपालमा निषेधाज्ञा सगैँ पछिल्लो समय नेपालमा रोकिएका विदेशीहरु चार्टर्ड उडान मार्फत स्वदेश फर्कने गरेका छन् । उद्धार उडान अन्तरगत सोमबार नेपालमा रोकिएका अमेरिकी नागरिक लैजान टर्किस एयरलाइन्सको जहाज काठमाडौं आउँदैछ ।

यसअघि आईतबार मात्र नेपालमा रोकिएका अमेरिकी नागरिक लैजाने अमेरिकी दुतावासको पहलमा चार्टर्ड उडान भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.