गाउँपालिका अध्यक्ष भन्छन् – हाम्रा किसानले प्रोत्साहन र पुरस्कारस्वरुप लाखौं पाउँछन्

  २०७८ वैशाख २९ गते १३:३३     विकासन्युज

नेपालको प्रदेश १ अन्तर्गत मेची अञ्चलको पाँचथर जिल्लामा अवस्थित प्राकृतिक रूपमा सुन्दर एवं रमणीय गाउँपालिका हो मिक्लाजुङ गाउँपालिका । ८ ओटा वडा रहेको यस गाउँपालिकामा २४ हजार ६ सय १५ जना मानिसको बसोबास रहेको पाइन्छ । यो गाउँपालिका १ सय ६६ दशमलव ६१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा चर्चित हुनुका साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक रूपले पनि फरक विशेषता बोक्न सफल मानिएको छ । कृषि विकासका लागि गाउँपालिकाले के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा कस्तो भूमिका खेलिरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष अमरराज माखिमसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् ।

सर्वप्रथम कृषिबाटै सुरु गरौं, गाउँपालिकाले कृषिक्षेत्रतर्फ के–कस्ता काम गरिरहेको छ ?

कृषि विकासको लागि हामीले धेरै काम गर्दै आएका छौं । पालिकामा कृषकहरूलाई प्रोत्साहन गर्नको लागि उन्नत जातका गाई, भैँसीका पाडा पाडी वितरण गरेका छौं । कृषकहरूको आवश्यकता मध्यनजर गर्दै कृषि विकासको कामहरु अगाडि बढाएका छौं । बिजुली नपुगेका कृषकको घरमा पालिकाको तर्फबाट १ सय ३ ओटा ५० वाटको सोलार वितरण गर्दैछौं । यहाँका धेरै नागरिकहरूले कृषि पेशा नै अँगालेका छन् । धेरै नागरिकहरू कृषि पेशामा आवद्ध भएकाले हामीले पनि पशु र कृषिक्षेत्रलाई नै प्राथमिकतामा राखेका छौं । गाउँपालिकाभित्र भइरहेको परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने हाम्रो लक्ष्य रहेको छ ।

पालिकाको भूगोल अनुसार ब्लक र पकेट क्षेत्र छुट्याएका छौं भने पालिकामा कृषि समूहहरूको पनि गठन भएको छ । पालिकामा सुन्तला, एभोकाडो, लिच्ची, किवी आदिको पकेट क्षेत्रहरु रहेका छन् । माछापालन गर्ने किसानका लागि १ लाख ५० हजार माछाको भुरा अनुदान स्वरुप वितरण गर्ने योजना छ । पालिकामा माछा पालन गर्नको लागी नागरिकहरुले पोखरी पनि निर्माण गर्दैछन् । सबै वडामा पशु र कृषिको प्राविधिक राखेका छौं । कृषिका नमुना फार्महरु पनि सञ्चालन हुँदै आएका छन् । कृषिका विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुँदै आइरहेका छन् भने पालिकामा व्यवसायिकरुपमा कृषि खेती पनि हुन थालेको छ । दुध र छुर्पी पनि उत्पादन हुने गरेको छ ।

किसानहरुलाई आर्थिक रूपमा सबल बनाउने योजना छ । बैदेशिक रोजगारीबाट फर्केका युवालाई रोजगारमूलक बनाउन चाहेका छौं । हामीले कृषकहरूलाई लागत साझेदारीको रूपमा अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । गाउँपालिकालाई समृद्ध बनाउने आधार नै कृषि हो । गाउँपालिकाभित्र तरकारी र फलफूल खेती नै मुख्य रूपमा हुने गरेको छ । कृषकहरूलाई सुलभ दरमा ऋणको व्यवस्था मिलाउनको लागी बैंकसँग समझौता गरेका छौं । पालिकामा ३ ओटा बैंकहरु सञ्चालनमा आएका छन् भने यी बैंकहरुले नै कृषकहरुलाई सुलभ दरमा ऋण दिँदै आएका छन् ।

गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध छन् होला ?

करिब ७५ प्रतिशत नागरिक कृषि पेशामा आबद्ध छन् । नयाँ खोलामा माछा मार्नको लागि बन्देज गरिएको छ । पालिकामा माछा पालनको लागि १ पोखरी बराबर ५ हजार माछाका भुरा दिने हाम्रो योजना छ । माछापालनले नागरिकहरूको आर्थिक वृद्धि हुन्छ भन्ने आशा छ । माछापालन गर्ने कृषकहरुले पोखरीको पनि निर्माण गरिरहेका छन् । बाँझो जमीन नराख्न सवैलाई अपिल गरेका छौं । ४० मुरी धान उत्पादन गर्ने कृषकहरुलाई १ लाख रुपैयाँ पुरस्कार दिन्छौं । ४ फुट उचाई र २० फुट लम्बाई भएको मकाइको थाम राख्ने कृषकले पनि १ लाख रुपैयाँ पुरस्कार पाउँछन् । ३५ मन देखी माथि आलु उत्पादन गर्ने कृषकलाई प्रतिकेजी २० रुपैयाँका दरले प्रोत्साहन गर्दै पनि आएका छौं । कृषकलाई पुरस्कार दिने कार्यक्रमको कार्यविधि नै बनाएका छौं र यो निरन्तर चलिरहन्छ ।

कोरोनाको संक्रमण पुनः बढ्न थालेको छ, संक्रमण दरलाई न्यूनिकरण गर्नको लागि के–कस्तो भूमिका खेल्दै हुनुहुन्छ ?

हामीले गत साल पनि पालिकामा ५५ बेडको क्वारेन्टिनको स्थापना गरेका थियौं भने हाल यही क्वारेन्टिनलाई सुचारुमा ल्याउने योजना छ । हाल हामीले ५ बेडको कोभिड अस्पताल पनि निर्माण गरेका छौं । यो अस्पतालमा ५ बेडसम्मको अक्सिजन सहितका आइसोलेसन कक्ष रहेको छ । कोभिडको लागि उपचार गर्ने १ जना डाक्टर अनि २ जना स्वास्थ्यकर्मी छन् । नागरिकहरूलाई स्वास्थ्य मापदण्ड अपनाउनको लागि अपिल गरेका छौं । हामीले भोजभतेर, आमसभाका नाममा धेरै भिडभाड नगर्न पनि आग्रह गरेका छौं । एक करोड रुपैयाँको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष (कोरोना कोष) स्थापना गरेका छौं ।

पालिकामा प्रवेश गर्दा मास्क तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरेका छौं । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै पालिकाले सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गरेको छ । संक्रमण दर गत सालभन्दा भयावह भइरहेको छ । कोरोनाको प्रभाव खासै नपरे तापनि कोरोना न्यूनिकरण गर्नको लागि पूर्वतयारीमा जुटेका छौं । कोभिडको बिरामीहरूलाई पालिकामा नै उपचार गर्ने तयारी छ । यस समयमा बाहिरी जिल्लाबाट पालिकामा प्रवेश गर्ने नागरिकहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्नको लागि अपिल गरेका छौं । मास्क क्वारेन्टिनभन्दा होम क्वारेन्टिनलाई जोड दिएका छौं । पीसीआर परीक्षण पालिकाले निःशुल्क गर्ने व्यवस्था मिलाएको छ ।

शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आएको छ त ?

शैक्षिक विकासको लागि भनेर हामीले शिक्षा ऐनको निर्माण गरेका छौं । शिक्षा नियमावली, कार्यविधि तथा निर्देशिका बनाएका छौं । यो दायरा भित्र बसेर हामीले शिक्षाको गुणस्तरलाई माथि ल्याउनुपर्छ भनेर जोड पनि दिएका छौं । हाल कोभिडको कारणले पालिकाका शैक्षिक क्षेत्रहरू सबै बन्द भएका छन् । कोरोनाको कारणले शैक्षिक क्षेत्रलाई असर पुर्याए पनि शैक्षिक गुणस्तरलाई हामीले विशेष जोड दिइरहेका छौं । विद्यालयहरूको भौतिक सुधारको कार्यक्रम गरिरहेका छौं । गरिब, जेहेन्दार तथा विपन्न बालबालिकालाई छात्रवृत्ती दिने कार्यक्रम पनि रहेको छ ।

गाउँपालिकामा बाल विकास केन्द्रलाई पनि विशेष जोड दिएका छौं । परीक्षा प्रणालीलाई व्यवस्थित गर्ने काम पनि भइरहेको छ । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । पहिलेको तुलनामा त गाउँपालिकाको शिक्षा क्षेत्रमा परिवर्तन आएको छ । गाउँपालिकामा केही विद्यालयका भवनहरू निर्माण भएका छन् भने केही भवनहरू बन्ने क्रममा रहेको छ । क्याम्पसका आधुनिक भवनहरू पनि निर्माण गरेका छौं ।

तपाईंहरु निर्वाचित भएर आएको करिब ३ वर्ष पूरा भयो, यो बिचमा जनता सामु गरेका बाचा के–कति पूरा भए अनि कति बाँकी छन् होला ?

हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेका कुराहरु पूरा गर्न सफल भएको महशुस गरेको छु । यो हामीले मात्र नभएर आम नागरिकहरूले महशुस गर्ने कुरा पनि हो । पूर्वाधार विकास, पर्यटन विकास, शैक्षिक सुधार आदिको काम गर्ने भनेर हामीले घोषणापत्रमा लेखेका थियौं । हामी निर्वाचित नहुँदा पालिकामा बिजुली आइपुगेको थिएन । पालिकामा भौतिक पूर्वधारहरु थिए भने हाल पूर्वधारको निर्माण पनि भएको छ । पालिकाको भवन थिएन । हाल पालिकाको भवन ४ करोड ५० लाख रुपैयाँको लगतमा निर्माण भइरहेको छ । अस्पताल निर्माण गर्नको लागि भर्खरै पालिकाले १ करोड ४० लाख रुपैयाँको टेन्डर पनि हालेको छ । वडा कार्यालयहरु निर्माण गर्नको लागी टेन्डर पनि आह्वान गरेका छौं ।

दीर्घ रोगीहरुलाई वार्षिक २० हजार रुपैयाँ दिने नीति पनि ल्याएका छौं । बालबालिकालाई १ वर्षसम्म माशिक ५ सय रुपैयाँ पोषण भत्ता दिने व्यवस्था मिलाएका छौं । पालिकाले ४ वर्ष देखी यता पोषण भत्ता वितरण गर्दै आएको छ । पूर्वाधारको विकासमा पनि हामीले जोड दिइरहेका छौं । घोषणापत्रमा लेखेको कुराले मात्र पालिकाको विकास हुँदैन । हामीले गर्छौं भनेको कुराबाहेक अन्य विभिन्न कुराहरू पनि महत्वपूर्ण हुन सक्छन् भन्ने ठानेर समग्र पालिकाको विकास निर्माणमा जुटेका छौं । पालिकाको खोलानालामा झोलुङ्गे पुल पनि धेरै संख्यामा निर्माण भएका छन् । खेलकुद विकासको लागि पनि हामीले जोड दिइरहेका छौं ।

तपाईंको पालिकामा सडक सञ्जालको अवस्था कस्तो छ ?

यो आर्थिक वर्षभित्र पालिकामा ३० किलोमिटर सडक ग्राबेल भएको छ । यो आर्थिक वर्ष सकिँदा पालिकामा ६० किलोमिटर सडक ग्राबेल भइसक्छ । पालिकामा बिजुली पनि निकालेका छौं । पालिकामा कृषि सडकहरू धेरै छन् । पालिकाको ३ र ४ नं. वडामा पनि टेन्डर प्रक्रियाबाट सडक ग्राबेलको काम सुरु भई निरन्तर रूपमा अगाडि बढिरहेको छ । ३५ लाख रुपैयाँको बजेटमा यो सडकलाई ग्राबेल गर्न सुरु गरिएको हो । ग्राबेल गरेका सडकहरु मात्र पालिकामा बाह्रै महिना सञ्चालन हुने अवस्थामा छ । सबै वडामा सडक पुगे पनि कच्ची सडक पालिकामा धेरै छन् । पालिकाका केही सडकको स्तरोन्ती पनि गरेको छ ।

तपाईंको पालिका पर्यटकीय स्थल भनेर चर्चित छ, आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ?

हाम्रो पालिका प्राकृतिक सम्पदाहरूले सजिएको गाउँ पनि हो भने यहाँ पर्यटकीयस्थलहरु पनि धेरै छन् । पर्यटन विकासको लागि पर्यटन पूर्वाधार तयार पारेका छौं । पर्यटन विकासको लागि हामीले विशेष जोड दिइरहेका छौं । धार्मिक र पर्यटकीय हिसाबले हाम्रो गाउँपालिका महत्वपूर्ण मानिन्छ । पालिकामा रहेको मठमन्दिरको संरक्षण गरी मन्दिरको निर्माण गरिरहेका छौं । परम्परागत संस्कृतिको संरक्षणतर्फ पनि हाम्रो विशेष ध्यान पुगेको छ । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं तर हाल कोभिडको कारणले पालिकाको पर्यटन क्षेत्र प्रभावित भएका छ । ‘कृषि, पर्यटन र पूर्वाधार समृद्ध मिक्लाजुङको आधार’ भन्ने नारा त्य गरेका छौं । नेपालको नै सबै भन्दा ठूलो बुद्धको मूर्ति पालिकामा निर्माण गरेका छौं । मिक्लाजुङ डाँडा, जरीबुट्टे डाँडा, छालासुक्वा डाँडा, कमल पोखरी, यबराङ छांगा, हिले पोखरी, गोजुला भोजुला ताल, नागिडाँडा आदि पर्यटकीय स्थलको रूपमा निक्कै चर्चित छन् ।

गाउँपालिकाले विकासको लागि कुन क्षेत्रलाई बढी प्राथमिकता राखेको छ ?

हामीले विद्युत्, खानेपानी, यातायात, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेका छौं । कृषिको विकासको लागी पनि हाम्रो विशेष पहल रहेको छ ।

गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

युवाहरू कृषि उत्पादनसँग जोडिनु पर्छ भनेर हामीले जोड दिएका छांै । पालिकामा युवाहरूले व्यवसायिक खेती गरी रोजगार पनि बनिरहेका छन् । बाँझो जमीन भएको जग्गामा बङ्गुरपालन, कुखुरापालन गर्नको लागि युवाहरूलाई प्रोत्साहन गर्दै आएका छौं । हामीले युवाहरूलाई कृषिको तालिम पनि दिँदै आएका छौं । युवाहरूलाई धेरैभन्दा धेरै उत्पादन गरी बजार नपाएको अवस्थामा हामीले नै बजार व्यवस्थापन गरिदिन्छौं भनेका छौं ।

पालिकामा कोल्डस्टोर निर्माण गरेका छौं । युवालाई अनुदान दिने र केन्द्र सरकारले बनाएको नीति अनुसार बैंकमार्फत सुलभ दरमा ऋण दिने व्यवस्था पनि मिलाएका छौं । युवाप्रति लक्षित गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम लागु भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गरिबीका रेखामुनी रहेका र बेरोजगार युवाहरू मात्र छनोट भएका छन् । यस रोजगार कार्यक्रम अन्तर्गत धेरै मानिसहरुले रोजगारी पाएका छन् ।

कर्मचारी र जनप्रतिनिधिहरू बिचको सम्बन्ध कस्तो छ नि ?

कर्मचारी र जनप्रतिनिधि बिचको सम्बन्ध सुमधुर रहेको छ । कर्मचारीको सहयोगले गर्दा पालिकालाई समृद्ध बनाउन ठुलो टेवा पुगेको छ । जनप्रतिनिधि र कर्मचारीको सामूहिक भावनाले मात्रै पालिकाको समग्र विकास गर्न सकिन्छ । सम्बन्ध राम्रो भएको कारण विकास निर्माणको कामले पनि तिव्रता पाएको छ । हालसम्म कर्मचारी र जनप्रतिनिधिको मनमुटाब भएको छैन । जनताको सेवाको लागी तत्पर रहन सबै कर्मचारीहरूलाई आग्रह गरेको छु । कर्मचारीको सहयोगमा नै विकास निर्माणको काम अगाडी बढाउने हो ।

तपाईंको कार्यकालमा भएको सबैभन्दा ठुलो उपलब्धि केलाई ठान्नुहुन्छ ?

विपन्न गरिब कृषकहरूलाई पुरस्कार दिन पाइएको छ । नेपालकै अग्लो बुद्ध मूर्ति निर्माण गरेका छौं । पालिका भित्र रहेका दीर्घ रोगीहरूलाई वार्षिक २० हजार रुपैयाँ दिँदै आएका छौं । टुकी बत्ति मुक्त गरी बजुली नपुगेका नागरिकको घरमा सोलार बत्ती वितरण गरेका छौं । यति गर्न सक्नु पनि हाम्रो कार्यकालको सबै भन्दा ठूलो उपलब्धि हो जस्तो लाग्छ । ३ सय रोपनी निःशुल्क जग्गा पालिका र राज्यको नाममा ल्याउन सफल भएका छौं । शिक्षा क्षेत्रको विकास पनि मेरो कार्यकालको ठुलो उपलब्धि हो भन्न सकिन्छ ।

अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ?

अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । पालिकाका विकास निर्माणको कामहरू योजना बनाएर नै गरिरहेका छौं । सडकहरूको स्तरोन्नती गर्दै पिच गर्ने योजना छ । जनताको आर्थिक स्थिति सुधार गर्नको लागि कृषि र पशुको क्षेत्रलाई विकास गर्ने प्रयासमा छौं । नागरिकको जीवनस्तरलाई उकास्ने र पछाडि परेका टोलक्षेत्रलाई विकास गर्ने सोचमा पनि छु । प्रत्येक घरमा बिजुली पुर्याउने पनि हाम्रो लक्ष्य रहेको छ ।

खानेपानीको स्रोतलाई परिचालन गरी नागरिकको घरसम्म खानेपानी पुर्याउनु पर्ने छ । यहाँका जनताले भोलिका दिनमा पनि मैले गरेका कामहरूबाट लाभ लिइरहन सकुन् भन्ने चाहना छ । हामीले पालिकास्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा विशेष जोड दिएका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको कुरामा पनि हामी ध्यान दिइरहेका छौं ।

अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ?

सधै नै नागरिकहरूकोे सहयोगको अपेक्षा गर्छु । अपेक्षा गरेअनुसार नै सहयोग पाएकोले पनि विकास निर्माणको काम अगाडि बढ्न सकेको छ । मलाई लाग्छ पालिकाले गरेको कामबाट सम्पूर्ण नागरिकहरू सन्तुष्ट छन् । नागरिकको सन्तुष्ट मापनलाई अझ बढाउन चाहन्छौं । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । सबै नागरिकहरूलाई स्वास्थ्यमा विशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरूलाई पनि बचाऔं भन्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.