भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनुनै मेरो कार्यकालको ठुलो उपलब्धि हो – गाउँपालिका अध्यक्ष शेरचन

  २०७८ वैशाख २८ गते १२:००     विकासन्युज

नेपालको गण्डकी प्रदेशअन्तर्गत मुस्ताङ जिल्लामा अवस्थित प्राकृतिक रूपमा सुन्दर एवं रमणीय गाउँपालिका हो थासाङ गाउँपालिका । ५ ओटा वडा रहेको यस गाउँपालिकामा वि.सं. २०६८ को जनगणनाअनुसार २ हजार ९ सय २० जना मानिसको बसोबास रहेको पाइन्छ । यो पालिका परापूर्व कालदेखि नै केही न केही विशेषताले चर्चामा आएको पाइन्छ ।

यस गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा चर्चित हुनुका साथै ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक रूपले पनि फरक विशेषता बोक्न सफल मानिएको छ । यस गाउँपालिकामा कृषि विकासका लागि के–कसरी काम हुँदै आएको छ, पालिकाले कोरोना संक्रमण दरलाई न्यूनिकरण गर्न के–कस्तो भूमिका खेल्दै छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचनसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् ।

कोरोनाको संक्रमण पुनः बढ्न थालेको छ, संक्रमण दरलाई न्यूनिकरण गर्नको लागि के–कस्तो भूमिका खेल्दै हुनुहुन्छ ?

कोरोनाको संक्रमण पालिकामा पनि बढ्दो छ । हाम्रो पालिकाकाबाट अरू पालिकामा जोडिने सडक भएकाले हाम्रो पालिका कोरोना भाइरसको उच्च जोखिममा छ । सबैले आ–आफ्नो क्षेत्रमा हेल्थडेक्स तथा क्वारेन्टिन स्थापना गर्नुपर्छ भनी जानकारी गराएका छौं । पालिकाका केही नागरिकहरूलाई कोरोना संक्रमण पनि भएको छ । पालिकामा प्रवेश गर्दा मास्क तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरेका छौं ।

संक्रमण रोक्नका लागि बजार, विद्यालय तथा विभिन्न संघ संस्थाहरूमा भिडभाड कम गर्न आग्रह गरेका छौं । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै पालिकाले सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गरेका छौं । संक्रमण दर गत सालभन्दा भयावह भइरहेको छ । पालिकामा पनि कोरोनाको संक्रमण बढ्न थालेपछि पूर्वतयारी गर्नमा पनि जुटेका छौं । यस समयमा बाहिरी जिल्लाबाट पालिकामा प्रवेश गर्ने नागरिकहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्नको लागि अपिल गरेका छौं । हामिले मास्क क्वारेन्टिनलाई भन्दा होम क्वारेन्टिनलाई जोड दिएको छांै । पूर्वातयारी गरेन भने पालिकमा पनि यो रोगको नियन्त्रण गर्न नसक्ने अवस्था हुन्छ जस्तो मलाई लाग्छ ।

तपाईंहरुको पालिका पर्यटकीय स्थल भनेर चर्चित छ, आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ?

हाम्रो गाउँपालिका प्राकृतिकरूपले निक्कै सुन्दर छ भने यहाँ पर्यटकीयस्थलहरु पनि धेरै छन् । पालिका मात्र नभई समग्र मुस्ताङ जिल्ला नै एउटा पर्यटकीय स्थल हो । पालिकामा पर्यटकीय गन्तव्यहरू निक्कै छन् । पर्यटन विकासको लागि पर्यटन पूर्वाधार तयार पारेका छौं । सेकुङ ताल, भुछर्ताे ताल, टिटि ताल, धौलागिरि आइसफल, गुरुसाङबो गुफा, बौद्ध गुम्बा, खर्क आदि पालिकाको पर्यटकीय स्थलहरू हुन् । पर्यटन विकासको लागि हामीले विशेष जोड दिइरहेका छौं । धार्मिक र पर्यटकीय हिसाबले हाम्रो गाउँपालिका महत्वपूर्ण मानिन्छ । स्थानीय नागरिकहरूले होमस्टे तथा होटेल व्यवसाय पनि सञ्चालन गर्दै आएका छन् । पालिकामा रहेको मठमन्दिरको संरक्षण गरी मन्दिरको निर्माण गरिरहेका छौं । परम्परागत संस्कृतिको संरक्षणतर्फ पनि हाम्रो विशेष ध्यान रहेको छ । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं तर हाल कोभिडको कारणले पालिकाको पर्यटन क्षेत्र प्रभावित भएको छ ।

तपाईंहरु निर्वाचित भएर आएको करिब ३ वर्ष पूरा भयो, यो बिचमा जनता सामु गरेका बाचा के–कति पूरा भए अनि कति बाँकी छन् होला ?

हो, हामी निर्वाचित भएर आएको ३ वर्ष पुरा भयो । हामी पालिकामा निर्वाचित भएर आउँदा प्रशासनिक भवन नभएर केही समस्या थियो भने कर्मचारीको अभावले विकास निर्माणको काम गर्न पनि जटिल भएको थियो । हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेका कुराहरू करिब करिब पूरा गर्न सफल भएका छौं । राज्यले दिएको सिंहदरबारको अधिकार स्थानीय तहमा भन्थे तर यो अधिकार पालिकामा लागु हुनसकेको छैन । प्रदेश र संघले आफ्नै तरीकाले काम गरिरहेको छ तर पनि पालिकामा सोचेको जस्तो काम हुन सकेको छैन ।

कर्मचारी र जनप्रतिनिधिहरू बिचको सम्बन्ध कस्तो छ नि ?

कर्मचारी र जनप्रतिनिधि बिचको सम्बन्ध सुमधुर रहेको छ । वास्तवमै, जनप्रतिनिधि र कर्मचारीको सामूहिक भावनाले मात्रै पलिकाको विकास निर्माणको काम देखि लिएर अन्य काम गर्न सकिन्छ । हालसम्म कर्मचारी र जनप्रतिनिधिको मनमुटाब भएको छैन । जनताको सेवाको लागि तत्पर रहन सबै कर्मचारीहरूलाई आग्रह गरेको छु । कर्मचारीको सहयोगमा नै विकास निर्माणको काम अगाडी बढाउने हो ।

शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आएको छ त ?

पालिकामा शैक्षिक क्षेत्रको अवस्था नाजुक रहेको छ । तरपनि हामीले शैक्षिक सुधारको लागि विशेष पहल गरिरहेका छौं । कोरोनाको कारण गाउँपालिकाका सबै विद्यालयहरू बन्द गरिएको छ । कोरोनाको समयमा पनि पालिकाको परीक्षा सञ्चालन भएको थियो । अहिले बालबालिकालाई विद्यालयमा उपस्थिति गराएर पठनपाठन सञ्चालन गर्न समस्या छ । प्राविधिक शिक्षालाई पनि हामीले विशेष जोड दिइरहेका छौं । विद्यालयहरूका भौतिक सुधारको कार्यक्रम गर्दै आएका छौं । शैक्षिक सुधारको लागि हामीले विशेष जोड दिएका छौं । परीक्षा प्रणालीलाई व्यवस्थित गर्ने काम पनि भइरहेको छ । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । गाउँपालिकामा केही विद्यालय भवनहरू पनि निर्माण भएका छन् ।

तपाईंको कार्यकालमा भएको सबैभन्दा ठुलो उपलब्धि केलाई ठान्नुहुन्छ ?

भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रको विकास नै मेरो कार्यकालको ठुलो उपलब्धि हो भन्न सकिन्छ । विकास निर्माण गरेअनुसार उपलब्धि पनि राम्रो नै भएको छ ।

कृषि विकासका लागि पालिकाले के–कसरी काम गर्दै आएको छ ?

हामीले कृषि विकासको लागि धेरै काम गर्दै आएका छौं । पशुपालन तर्फ पनि हामीले जोड दिएका छौं । पशु सुधार कार्यक्रम पनि सञ्चालन गरेका छौं । यहाँका नागरिकहरूले भैँसी तथा याक पाल्दै आएका छन् । कृषि विकासको लागि भनेर केही बजेट पनि छुट्याएका छौं । यो वर्ष पालिकाले भैँसी र याक खरिद गरी नागरिकलाई अनुदान स्वरूप वितरण गर्ने भन्ने हाम्रो योजना रहेको थियो । कोभिडको कारण यो कामको पनि टेन्डर प्रक्रियामा अगाडि बढ्न सकेन । वडाहरू आफैं जिम्मेवार भएर यो प्रक्रियालाई अगाडि बढाउने हो कि भन्ने हाम्रो योजना रहेको छ । यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । हाम्रो पालिकामा विभिन्न अनुदानको कार्यक्रमहरू पनि रहेको छ । पालिकामा विभिन्न जडिबुटि तथा अलैँची खेती हुने गरेको छ ।

तपाईंको पालिकामा सडक सञ्जालको अवस्था कस्तो छ ?

पालिकमा केही ठाउँमा सडक सञ्जाल पुग्न बाँकी छ । पालिकाको सडक पिच गर्न लागेका छौं तर मौसम खराब भएको कारण पिचको काम सुरुहुन सकेको छैन । लेदे देखि घाँससम्मको सडक राम्रो छ । म्याग्दी जिल्ला र मुस्ताङ जिल्लाको बोर्डरमा सडक बनाइयो तर बर्खाको समयमा भत्केर समस्या भएको छ । त्यस ठाउँमा सडक निर्माण पनि नहुने अवस्था छ । खोलामा पुल निर्माण नभएको कारण यातायात सञ्चालन गर्न पनि समस्या भएको छ । सबै वडामा सडकको विकास गर्ने योजना बनाएको पनि छु । पालिकामा केही सडकहरू ग्राबेल पनि भएका छन् भने कतिपय सडकको स्तरोन्नती पनि गरेका छौं । गाउँपालिकाको सडकहरू बाह्रै महिना सञ्चालन हुने अवस्था छैन ।

अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ?

अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । पालिकालाई सकेसम्म राम्रो बनाउँछु, विकास निर्माणको काम धेरै गरौंला भन्ने थियो तर कोरोनाको कारणले आफूले चाहेको जति काम गर्न सक्ने अवस्था छैन । यहाँका जनताले भोलिका दिनमा पनि मैले गरेका कामहरूबाट लाभ लिइरहन सकून् भन्ने चाहना छ त्यसका लागि जनताको चाहना र आवश्यकता पूरा गर्न कम्मर कसेरै लागिपरेको छु । हामीले पालिकास्तरको योजना तयार पारेका छौं । ती योजना पूरा गर्नमा हामीले विशेष जोड दिएका छौं । हामीले भौतिक पूर्वाधारको विकासमा पनि जोड दिइरहेका छौं । निर्माणाधीन विकास निर्माणको कामहरू सम्पन्न गर्नुपर्ने छ ।

अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ?

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । सबै नागरिकलाई आ–आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुहोस् र त्यसैगरी स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड पनि अपनाउनुहोस् भन्न चाहन्छु । पहिले आफू बाँचौं र अरूलाई पनि बचाऔं, विकास निर्माणको काम त अर्को वर्ष पनि गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.