सगरमाथा आधार शिविरबाट फर्केका १२ जनामा कोरोना संक्रमण

  २०७८ वैशाख २४ गते १९:३४     विकासन्युज

काठमाडौं । हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ । सगरमाथा आधार शिविरबाट फर्किएका १२ र सोलुदूधकुण्ड नगरपालिकामा थप एक जनामा पोजिटिभ देखिएसँगै सङ्क्रमितको सङ्ख्या २१ पुगेको हो ।

सगरमाथा आधार शिविरबाट फर्केका दुई विदेशीसहित १२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको खुम्बुपासाङ ल्हामु गाउँपालिकाका स्वास्थ्य संयोजक अर्थिमाया तामाङले जानकारी दिईन ।

उनका अनुसार यही वैशाख १५ र १६ गते एन्टिजेन परीक्षण गर्दा दुई जनामा कोरोना सङ्क्रण पुष्टि भएको थियो । यस्तै बुधबार दुई तथा बिहीबार र शुक्रबार थप चार÷चार जनामा सङ्क्रमण पुष्टि भएको छ ।

तीमध्ये कोरोना सङ्क्रमित दुईमा श्वासप्रश्वासमा समस्या देखिएपछि गाउँपालिकाको आइसोलेशन सेन्टरमा राखी उपचार शुरु गरिएको गाउँपालिकाले जनाएको छ । अन्य आठ जनालाई होम आइसोलेशनमा राखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका अनुसार आजसम्म चार जनालाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिकाबाट फिलिपिन्स र दुबईका एक÷एक नागरिकलाई थप उपचारका लागि हेलीकोप्टरमार्फत काठमाडौँ पठाइएको गाउँपालिका स्वास्थ्य संयोजक तामाङले जानकारी दिईन ।

यस्तै, जिल्ला अस्पताल फाप्लुमा परीक्षण गरेकामध्ये एकलाई काठमाडौँ र एकलाई विराटनगर रिफर गरिएको छ ।

लिखु हाइड्रोपावरमा गरिएको परीक्षणसहितको तथ्याङ्कलाई आधार मान्ने हो भने अहिलेसम्म जिल्लामा ३० जनामा कोरोना सङ्क्रमण भएको छ तर हाइड्रोपावरले गरेको परीक्षणलाई नेपाल सरकारले आधिकारिक मानेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.