अरुण तेस्रो आयोजनाका कामदारहरू कोरोनाको उच्च जोखिममा छन् – अध्यक्ष पोखरेलसँगको अन्तर्वार्ता

  २०७८ वैशाख २२ गते १७:१९     विकासन्युज

नेपालको प्रदेश १ अन्तर्गतको संखुवासभा जिल्लामा पर्ने एउटा सुन्दर एवं रमणीय गाउँपालिका हो, मकालु गाउँपालिका । यस गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा चर्चित हुनुका साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रूपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष तेज बहादुर पोखरेलसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् ।

सर्वप्रथम कृषिबाटै सुरु गरौं, गाउँपालिकाले कृषि क्षेत्र तर्फ के–कस्ता काम गरिरहेको छ ?

हामीले कृषि विकासको लागि धेरै काम गर्दै आएका छौं । यहाँका धेरै नागरिकहरूले कृषि पेशा नै अँगालेका छन् । धेरै नागरिकहरू कृषि पेशामा आवद्ध भएकाले हामीले पनि पशु र कृषि क्षेत्रलाई नै प्राथमिकतामा राखेका छौं । पालिकामा कृषि समुहहरुको पनि गठन भएको छ । हाम्रो गाउँपालिका भित्र कृषिका विभिन्न कार्यक्रमहरु पनि सञ्चालन हुँदै आइरहेका छन् । कृषिलाई आधुनिकिकरण गर्नमा हामीले विशेष जोड दिइरहेका छौं । तरकारी खेती गर्ने कृषकहरूलाई प्लास्टिक टनेल अनुदान स्वरूप वितरण गर्दै आएका छौं । यो वर्ष पनि कृषकलाई प्लास्टिका टनेल वितरण गर्ने योजना बनाएका छौं । गत वर्ष हामीले ३० जना कृषकलाई प्लास्टिक टनेल वितरण गरेका थियौं । पालिकामा कृषि प्राविधिक जे.टि.ए पनि रहेको छ । जे.टि.ए. द्धारा अलैँची बारीको माटो परीक्षण गर्ने काम पनि भएको छ ।

पालिकाको भूगोल अनुसार कस्तो खालको बिउ कुन ठाउँमा उत्पादन हुन्छ भनेर हामीले माटो परीक्षण गरेका हौं । माटो परीक्षणले कृषिमा आएका समस्या र रोगको नियन्त्रण हुन्छ भन्ने हाम्रो आशा रहेको छ । जडिबुटी पनि हाम्रो गाउँपालिको मुख्य आयस्रोत हो । व्यावसायिक रूपमा पालिकामा अलैँची खेती धेरै हुने गरेको छ । अलैँची खेतीमा पछिल्लो समय विभिन्न रोगहरु देखा पर्न थालेको छ । कृषिलाई निर्वाहमुखी मात्र नभएर व्यावसायिक बनाउन पनि किसानहरूलाई आग्रह गरेका छौं । हामीले आधुनिक कृषि प्रणालीलाई पनि विशेष जोड दिएका छौं । पालिकामा अनुदानका विभिन्न कार्यक्रम पनि रहेको छ । डल्ले खुर्सानी खेती गर्ने कृषकलाई प्रोत्साहन गर्ने भनेर केही रकम पनि छुट्याएका छौं । पालिकाको भूगोल अनुसार पकेट क्षेत्र छुट्याएका छौं ।

गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध छन् होला ?

यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । प्रतिशतमै भन्नुपर्दा करिब ७० प्रतिशत मानिसहरू कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । आय आर्जनको लागि तरकारी खेती गर्ने नागरिकलाई प्रेरित गर्ने कार्यक्रम पनि पालिकामा रहेको छ । हामीले राम्रो कृषि उत्पादन गर्ने कृषहरुलाई प्रोत्साहन स्वरूप पुरस्कृत गर्नुपर्छ भनेर यो वर्षबाट पुरस्कृत गर्ने योजना पनि तयार पारेका छौं ।

तपाईंहरुको पालिका पर्यटकीय स्थल भनेर चर्चित छ, आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ?

हो हाम्रो पालिका पर्यटकीय स्थलको रूपमा चर्चित छ । हाम्रो गाउँपालिका प्राकृतिक रूपले निक्कै सुन्दर रहेको छ । विश्वको पाँचौं अग्लो मकालु हिमाल पनि हाम्रो पालिकाम पर्छ । मकालु हिमालको नामबाट नै हाम्रो पालिकाको नामकरण गरिएको छ । मकालु हिमालको आरोहण गर्नलागि धेरै ठाउँबाट मानिसहरु आउने गरेका छन् । पर्यटन आउँदा होटेलको राम्रो व्यवस्था मिलाउने काम पनि हामीले गरेका छौं । धेरै युवाहरूले पर्यटन क्षेत्रबाट रोजगारी मुलक पनि बनेका छन् । संखुवासभा जिल्लकौ पर्यटनकी क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हाम्रो हो । पर्यटन विकासको लागि पर्यटन पूर्वाधार तयार पारेका छौं । पर्यटन विकासको लागि हामीले विशेष जोड दिइरहेका छौं । धार्मिक र पर्यटकीय हिसाबले हाम्रो गाउँपालिका महत्वपूर्ण मानिन्छ ।

पालिकामा रहेको मठमन्दिरको संरक्षण गरी मन्दिरको निर्माण गरिरहेका छौं । हामीले पर्यटकीय स्थलहरूलाई सफा राख्न पनि विशेष ध्यान दिएका छौं । परम्परागत संस्कृतिको संरक्षण तर्फ पनि हाम्रो विशेष ध्यान रहेको छ । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । देशका विभिन्न ठाउँबाट यहाँ मानिसहरू आउने गरेका छन् । कोरोनाको कारणले पालिकाको पर्यटन व्यवसायमा पनि ठुलो असर पुर्याएको छ ।

कोरोनाको संक्रमण पुनः बढ्न थालेको छ, कोरोना संक्रमण दरलाई न्यूनिकरण गर्नको लागि के–कस्तो भूमिका खेल्दै हुनुहुन्छ ?

गत साल कोरोना संक्रमण दरलाई न्युनिकरण गर्नको लागि हामीले ठुलो भूमिका खेलेका थियौं । पोहोर क्वारेन्टिनको पनि व्यवस्था मिलाएको थियौं । हाल हामीले पोहोरको जस्ता गरेका छैनौं तर पनि कोरोनाको संक्रमण बढेको देख्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनको लागि नागरिकहरूलाई अपिल गरेका छौं । कोरोना सम्बन्धी सूचना पनि प्रकाशन गरेका छौं । संक्रमण दर पोहोरको भन्दा हाल भयावह भइरहेको छ । पालिका बासिलाई कोरोनाको प्रभाव खासै छैन तर अरुण तेस्रो आयोजनमा काम गर्ने कामदारहरूलाई कोरोनाको उच्च जोखिम रहेको छ । अरुण तेस्रो आयोजनामा काम गर्ने मानिसहरु नै कोरोनाबाट प्रभावित भएको देखिन्छ ।

तपाईंको पालिकामा सडक सञ्जालको अवस्था कस्तो छ ?

पालिकामा केही ठाउँमा सडक पुगेका छन् भने केही ठाउँमा पुग्न बाँकी रहेको छ । ४ नं. वडाको सिमनासम्म मात्र सडक पुगेको छ । पलिकाको धेरै सडकहरू कच्ची रहेको छ । हामीले पालिकाका केही सडकको स्तरोन्ती पनि गरेका छौं । गाउँपालिकाको ठुलो योजना सडक सञ्जालमा नै रहेको छ । धेरै बजेट पनि सडक सञ्जालमा नै रहेको छ । पहाडि भूभाग भएको कारण सडक नै नागरिकको आवश्यकता र चाहना भएकाले ठुलो योजना सडक निर्माणमा भएकोे हो । केही खानेपानीको योजनाहरू पनि पालिकामा रहेको छ । पालिकामा अरुण तेस्रो आयोजनाको काम पनि निरन्तर भइरहेको छ ।

शैक्षिक क्षेत्रको विकासको लागि पालिकाले कसरी काम गर्दै आइरहेको छ ?

गाउँपालिकाको शैक्षिक विकासका लागि धेरै काम हुँदै आएको छ । विद्यालयको भवनहरू निर्माण भएका छन् । बेलाबेलामा शिक्षकहरुलाई तालिम दिइरहेका छौं । गुणस्तरीय शिक्षा सिकाई तर्फ पनि हामीले विशेष जोड दिएका छौं । विकासको मेरुदण्ड नै शिक्षा भन्ने हाम्रो ठहर छ । शिक्षाको विकास भएन भने मानिसको पनि विकास हुँदैन भनेर शैक्षिक क्षेत्रलाई हामीले विशेष प्राथमिकतामा राखेका छौं । पालिकामा ३ ओटा माध्यमिक विद्यायहरु रहेका छन् । कोरोनाको कारणले शैक्षिक क्षेत्रमा पनि विभिन्न समस्याहरू देखा परेका छन् ।

कर्मचारी र जनप्रतिनिधिहरू बिचको सम्बन्ध कस्तो छ नि ?

कर्मचारी र जनप्रतिनिधि बिचको सम्बन्ध सुमधुर रहेको छ । जनप्रतिनिधि र कर्मचारीको सामुहिक भावनाले मात्रै पलिकाको विकास निर्माणको काम देखि लिएर अन्य काम गर्न सकिन्छ । सम्बन्ध राम्रो भएको कारण विकास निर्माणको कामले पनि तिव्रता पाएको छ । हालसम्म कर्मचारी र जनप्रतिनिधिको मनमुटाब भएको छैन । जनताको सेवाको लागि तत्पर रहन सबै कर्मचारीहरूलाई आग्रह गरेको छु । कर्मचारीको सहयोगमा नै विकास निर्माणको काम अगाडि बढाउने हो । जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध नङ र मासुको जस्तो हुन्छ । अहिलेसम्म सम्बन्ध राम्रो नै रहेको छ ।

तपाईंको काम गराईबाट नागरिकहरू कत्तिको सन्तुष्ट भएको पाउनु भएको छ ?

मैले गरेको कामबाट नागरिकहरू खुसी नै छन् जस्तो मलाई लाग्छ । नागरिकहरूको अपेक्षा तथा चाहना पुरा गर्नको लागि हामी लागि परिरहेका छौं । नागरिकको आवश्यकता र चाहना धेरै रहेको छ । नागरिकको गुनासोलाई संभोदन गर्दै अगाडि बढि रहेका छौं । गाउँपालिकामा अहिलेसम्म विकास निर्माणको कामहरू प्रभावकारी नै भएका छन् । हामीले आशा गरेअनुरूप विकास निर्माणको काम गर्नसकेका छौं । नागरिकहरू पनि हाम्रो काम देखेर खुसी नै छन् जस्तो लाग्छ ।

पालिकाले युवाहरुका लागि रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

रोजगारी सिर्जना गर्नका लागि हामीसँग कलकारखाना छैनन् । युवाहरूलाई सिप विकासको लागि विभिन्न तालिमहरू दिँदै आएका छौं । हामी युवाहरूलाई कृषि क्षेत्रमा जोडिनको लागि आग्रह गरेका छौं । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । युवाहरूले व्यावसायिक कृषि खेतीको पनि सुरुवात गरेका छन् । कृषिमा अलैँची खेती पालिकामा धेरै हुने गरेको छ । पालिका धेरै युवाहरू अलैँची खेतीमा लागेका छन् । अरुण तेस्रो आयोजनामा पनि पालिकाका धेरै युवाहरू लागि परेका छन् । युवा लक्षित गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम पनि लागु भएको छ ।

अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ?

मेरो कार्यकालमा पालिकालाई समृद्ध बनाउने योजना बनाएको छु । हामीले पालिका स्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा हामीले विशेष जोड दिएका छौं । आर्थिक विकास, आदिका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । पालिकालाई सुखी र सवृद्ध बनाउने योजना बनाएको छु । पर्यटन क्षेत्रको प्रचुर सम्भावना भएको हाम्रो पालिकालाई पर्यटन विकास गर्नमा पनि जोड दिइरहेका छौं ।

शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको कुरामा पनि हामीले ध्यान दिइरहेका छौं । जनताको आर्थिक स्थिति सुधार गर्नको लागि कृषि र पशु क्षेत्रलाई विशेष जोड दिएका छौं । अलैँचीमा लागेको रोगलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर पनि ध्यान दिइरहेका छौं । यहाँका जनताले भोलिका दिनमा पनि मैले गरेका कामहरूबाट लाभ लिइरहन सकुन् भन्ने चाहना छ । जनताको चाहना र आवश्यकता कम्मर कसेरै पूरा गर्ने लक्ष्य लिएको छु । जल स्रोतको धनी हाम्रो पालिका प्राकृतिक रूपमा पनि निकै सुन्दर रहेको छ ।

अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ?

पालिकाका बासिको सुख दुखमा साथ दिनको लागि हामी सधै तयार छौं । नागरिकहरूबाट सकारात्मक सुझाव र सकारात्मक सेचको विकासमा लागि परौं भन्न पनि चाहन्छु । नागरिकको साथ भयो भने मात्र विकास निर्माणको काम गर्न सकिन्छ भन्न चाहन्छु । नागरिकको आवश्यकता पुरा गर्न मात्र नभई समग्र पालिकाकै विकास गर्नुपर्छ भन्ने ठानेर त्यसै अनुसार हामीले कम्मर कसेका छौं । हामीमा पाइएको कमिकमजोरीको बारेमा पनि सुझाव दिनुहोस् भन्न चाहन्छु । सबै जनाले हातेमालो गरेर पालिकाको आर्थिक तथा सामाजिक रूपान्तरण गर्नतर्फ लागौं पनि भन्न चाहन्छु । स्थानीय स्रोत तथा साधनको परिचालन गर्दै विकास निर्माणको कामलाई अगाडि बढाउनु पर्छ भन्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.