सरकारी कम्पनीको कमालः एक क्लिककै भरमा घरमै आइपुग्छ चामलदेखि ग्याससम्म, डेलिभरी नि:शुल्क

  २०७८ वैशाख २२ गते १३:१४     समुन्द्र घिमिरे

काठमाडौं । बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्ला लगायत धेरै जिल्लामा सरकारले कोरोना संक्रमणलाई ध्यानमा राख्दै निषेधाज्ञा लागू गरेको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञाका कारण तपाईंलाई खाद्यान्न खरिद गर्न समस्या भएको छ भने घरमा नै सुरक्षित बसेर अनलाईन मार्फत आफूलाई आवश्यक पर्ने खाद्य पदार्थ खरिद गर्न सक्नुहुनेछ ।

यो काम निजी क्षेत्रबाट संचालित कुनै कम्पनी वा व्यापारिक फर्मले गरेका होलान् भन्ने सोच्दै हुनुहुन्छ भने एक छिन् पर्खनुस् । कुनै बेला धराशायी भएर सरकारका लागि सेतो हात्ती जस्तै बनेर पाल्न गाह्रो भएको नेसनल ट्रेडिङ र खाद्य संस्थान मर्ज भएर बनेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी आधुनिक प्रविधिको प्रयोग गरेर सर्वसाधारणलाई सहज बनाउने प्रयत्न गरिरहेको छ ।

कम्पनी अहिले आफ्ना विक्री केन्द्रबाट मात्रै दैनिक उपभोग्य वस्तु बिक्री वितरण गरिरहेको छैन । उसले आफ्नै अनलाइन पोर्टल र अन्य इकमर्श कम्पनीसँग सहकार्य गरेर एक क्लिककै भरमा डेलिभरी शुल्क नलिई सामान घरघर पुर्याइरहेको छ । तर, अहिले यस्तो होम डेलिभरी सेवा काठमाडौं उपत्यकाको चक्रपथ भित्रका लागि मात्रै उपलब्ध छ ।

समस्या भएका उपभोक्तालाई ध्यानमा राख्दै सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौं उपत्यकाभित्र निःशुल्क रुपमा खाद्य पदार्थको होम डेलिभरी सेवा सुचारु गरेको छ ।

कम्पनीले खानाका लागि आवश्यक पर्ने सम्पूर्ण खाद्य पदार्थहरु अनलाईन तथा उपत्यकाका चार वटा बिक्री काउन्टरबाट बिक्री वितरण गर्दै आएको छ ।

गत वर्षको बन्दाबन्दीका कारण उपभोक्तालाई समस्या भएको भन्दै सुरु गरेको अनलाईन बिक्रीलाई कम्पनीले निरन्तरता दिइरहेको छ ।

कम्पनीका उत्पादनहरु कम्पनीको अनलाईन सेवा (नेपाल फुड) तथा इ–कमर्श सेवा सस्तोडिल डटकम मार्फत खरिद गर्न सकिनेछ ।

खाद्यले नेपाल फुडमा आएको खाद्य पदार्थको होम डेलिभरीको माग अनुसार रिङ्गरोड भित्रका उपभोक्तालाई निःशुल्क रुपमा होम डेलिभरी सेवा प्रदान गर्दै आएको छ । यस्तै, सस्तोडिलले उपभोक्ताको माग अनुसार काठमाडौं उपत्यकाभर निःशुल्क रुपमा डेलिभरी सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले अनलाइन मार्फत अडर गर्न नेपाल बैंक र सेन्चुरी बैंकको खल्ती वा ई–सेवामार्फत ‘ई–पेमेन्ट’ गरेर सामान अर्डर गर्न सकिने व्यवस्था गरेको छ ।

कम्पनीले निःशुल्क डेलिभरी सेवाका लागि न्यूनतम रुपमा २ हजार रुपैयाँ र बढीमा ५ हजार रुपैयाँ बराबरको खाद्य पदार्थ खरिद गर्नुपर्ने प्रावधान राखेको छ । खाद्य पदार्थको छनोट गरेको सामान पाएपछि रकम भुक्तानी समेत गर्न सकिन्छ ।

कम्पनीले रकम भुक्तानीका लागि दुई विकल्प राखेको छ । कम्पीले सामान खरिदको अर्डर दिएपछि डिजिटल भुक्तानी मार्फत रकम भुक्तानी गर्नसक्ने वा सामान पाएपछि नगद नै दिनसक्ने गरी उपभोक्तालाई दुई विकल्प दिएको हो ।

पाँच दिनमा ७० अर्डर

गत बिहीबारदेखि आईतबार साँझसम्म नेपाल फुड र सस्तोडिल मार्फत करिब ७० वटा माग आएको कम्पनीले जनाएको छ ।

जसमा नेपाल फूडमा पाँच दिनकोे अबधिमा १६ वटा माग र सस्तोडिलमा ५०भन्दा बढी माग आएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।

उनका अनुसार नेपाल फुडमा अनलाईन मार्फत आएका अर्डर अनुसार कम्पनीले ५ क्वीन्टल ४५ किलो चामल र १५ किलो कर्णालीको सिमी डेलिभरी गरिसकेको छ ।

जसमा स्टीम जिरा २ क्वीन्टल २५ किलो, मकवानपुर १ क्वीन्टल २० किलो, बासमती चामल २ क्वीन्टल र मार्सी चामल १९ किलो रहेको थियो ।

अनलाईमा थोरै मात्रामा अर्डरहरु आएपछि चारवटा बिक्री काउन्टरबाट नियमित रुपमा खाद्य पदार्थको खरिद बिक्री भईरहेको छ ।

ग्यास बिक्रीकोे तयारी

खाद्यले निषेधाज्ञाको समयमा अनलाईन तथा काठमाडौँ उपत्यकाका विभिन्न चार बिक्री काउन्टरहरुबाट खाद्यान्नको बिक्री वितरण गर्ने गरेकोमा खाना पकाउने एलपी ग्यास बिक्रीको तयारी गरेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनबाट खाना पकाउने एलपी ग्यास ल्याएर बिक्रीको तयारी भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले जानकारी दिए ।

‘हामीले उपभोक्ताको माग अनुसार खाना पकाउने ग्यास बिक्रीको तयारी गरेका हौं, साल्ट ट्रेडिङसँग कुरा भइसकेको छ, उताबाट आजै पठाउछौं भन्नुभएको छ, ग्यास आउनासाथ चार वटै बिक्री काउन्टरबाट बिक्री सुरु गछौँ’, उनले भने ।

उनका अनुसार कम्पनीले निषेधाज्ञाकै बीचमा साल्ट ट्रेडिङ कर्पोरेशनबाट आटा, दाल, नुन तथा तेल ल्याएर बिक्रीको समेत तयारी गरेको छ ।

यसअघि गत वर्षको बन्दाबन्दीमा साल्ट ट्रेडिङ कर्पोरेशनबाट चिनी, नुन तथा डीडीसीबाट घ्यु ल्याएर बिक्री गरेको कम्पनीले गत बैशाख १६ गतेबाट उपत्यकामा लागू भएको निषेधाज्ञासँगै उक्त सामग्री ल्याएर फेरि बिक्री सुरु गरेको हो ।

बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म काउन्टर खुला

कम्पनीले थापाथली बिक्री काउन्टर बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्दै आएको छ । गत बिहीबारदेखि जारी भएको निषेधाज्ञामा उपभोक्तालाई असहज हुने भन्दै कम्पनीले थापाथली र  नख्खु काउन्टर १२ घन्टा सञ्चालन गर्दै आएको छ ।

कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने निषेधाज्ञाको अवधिमा उपभोक्तालाई समस्या नहोस् भन्ने उद्देश्यका साथ बिहानैदेखि बिक्री कक्ष खुला गरिएको बताउँछिन् ।

‘हाम्रो कार्यालय रहेका दुई स्थान थापाथली र नख्खुमा सिफ्ट मिलाएर काउन्टर खुला गरिएको छ, थापाथली र नख्खुमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म तीन सिफ्ट तोकिएको छ, निषेधाज्ञाको समयमा काठमाडौं उपत्यकावासी उपभोक्तालाई पर्न जाने असुविधालाई ध्यानमा राखी हामीले आफ्नो सामाजिक जिम्मेवारी पूरा गर्न खाद्यलगायतका सामाग्रीहरु बिक्री कक्षमा राखेका छौं,’ उनले भनिन् ।

कम्पनीले विक्री कक्षहरु रामशाहपथ (बग्गीखाना), थापाथली, ललितपुरको नख्खु गोदाम र भक्तपुरको सूर्यविनायकका बिक्री काउन्टर खुला गर्ने जनाएको छ । जसमा थापाथली र नख्खु बिक्री कक्ष दिनमा तीन पटक  तथा रामशाहपथ र सूर्यविनायकमा बिहान ७ बजेदेखि दिउँसो ११ बजेसम्म खुला हुनेछ ।

के के बिक्री हुन्छ ?

कम्पनीले हाल रन्जित स्टिम चामल, सोना चामल, जापानिज चामल, कर्णालीमा उत्पादित सिमी, मार्सी चामल, मुसुरो, रहरको दाल, खाने तेल, घ्यू, नून, आटा बिक्री गर्दै आएको छ । कम्पनीले विक्री गर्ने खाद्यान्न बजारमा अन्यत्रभन्दा केही सस्तो हुने गरेको उपभोक्ताले बताउने गरेका छन् ।

कति छ मौज्दात ?

काठमाडौं उपत्यकामा कम्पनीले विक्री गर्नको लागि अहिले चामल १३ हजार ९४५ क्वीण्टल चामल, ५ सय क्वीण्टल दाल र ४ सय क्वीण्टल कर्णालीको सीमा मौज्दात राखेको छ ।

कुन सामानको कति पर्छ ?

कम्पनीले अहिले जुम्ली मार्सी चामल पनि विक्री गर्दै आएको छ । जुम्ली मार्सी चामलको मूल्य प्रतिकेजी २२५ रुपैयाँ खुद्रा मूल्य तोकिउको छ ।

यस्तै, सोना स्टीम मन्सुली चामको खुद्रा मूल्य प्रतिकेजी ५५ रुपैयाँ, रहर दालको मूल्य प्रतिकेजी १६० रुपैयाँ, मकवानपुर चामल प्रतिकेजी ५० रुपैयाँ, गहूँ प्रतिकेजी ४३ रुपैयाँ, दुग्ध विकास संस्थानको घ्यू प्रतिलिटर ८७० रुपैयाँ, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीले उत्पादन गर्ने सन्चो सेनिटाइजरको मूल्य २ सय एमएलको २ सय रुपैयाँ र १ सय एमएलको १०५ रुपैयाँ खुद्रा मूल्य छ । यस्तै, स्टिम जिरा मसिनो चामल प्रतिकेजी ६३ रुपैयाँ, अरुवा मध्यम चामल प्रतिकेजी ५५ रुपैयाँ, रञ्जित स्टिम चामल प्रतिकेजी ६५ रुपैयाँ, सोना मन्सुली चामल प्रतिकेजी ५३ रुपैयाँ र वास्मती चामल प्रतिकेजी ११० रुपैयाँ खुद्रा मूल्य तोकिएको छ ।

One comment on "सरकारी कम्पनीको कमालः एक क्लिककै भरमा घरमै आइपुग्छ चामलदेखि ग्याससम्म, डेलिभरी नि:शुल्क"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.