नर्भिक ‘कोभिड अस्पताल’ मा रुपान्तरण, ९० वटै शैया भरिभराउ, बेड संख्या थप्ने तयारी

  २०७८ वैशाख २१ गते १९:५७     विकासन्युज

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल वर्तमान समयको आवश्यकतालाई मध्यनजर गर्दै ‘कोभिड अस्पताल’को रुपमा रुपान्तरण भएको छ । नर्भिकले केही दिन अघि नै आफूलाई ‘कोभिड अस्पताल’को रुपमा रुपान्तरण गर्दै सेवा दिन सुरु गर्न थालेको हो ।

नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले नर्भिकले आफ्नो सेवालाई कोभिड केन्द्रीत गरेको र त्यसलाई थप परिस्कृत गर्दै लगिएको बताए । उनले बिरामीहरुको अनुरोधलाई मध्यनजर गरी नर्भिकलाई कोभिड अस्पतालमा रुपान्तरण गरेको समेत प्रष्ट पारेका छन् ।

सबै ठूला अस्पताललाई कोभिड अस्पतालको रुपमा रुपान्तरण गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणालाई समेत स्वागत गर्दै उनले नर्भिकले कोभिड संक्रमणको दोश्रो लहर सुरु भएसँगै यो अवस्थाको आँकलन गरी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरिसकेको बताएका छन् ।

‘सरकारले समेत सोहीअनुसारको घोषणा गरेकोमा हामी खुशी छौं । अब अरुले पनि आफ्नो सेवालाई कोभिड केन्द्रीत गर्नुपर्ने देखिएको छ ।’, उनले थपे ।

कार्यकारी निर्देशक सिंहकाअनुसार हाल नर्भिक अस्पतालमा उपलब्ध १३५ शैयामध्ये ९० शैया कोभिड शैयाको रुपमा रुपान्तरित भइसकेका छन् । ती ९० शैया कोभिडका बिरामीले भरिएका छन् ।

नर्भिकमा रहेका ३५ आइसीयू बेडमा पनि कोभिडकै सिकिस्त बिरामीलाई राखिएको छ । हाम्रो अस्पतालमा उपलब्ध बेडहरु अहिले भरिभराउ छन् । ‘हामीले सरकारको नीति निर्देशनभित्र रहेर बेड संख्या थप गर्ने विषयमा समेत गृहकार्य गरिरहेका छौं ।’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.