घोषणापत्रमा उल्लेख गरेका सबै प्रतिवद्धताहरु पुरा गरिसकेँः अध्यक्ष राई

  २०७८ वैशाख १३ गते १८:४३     विकासन्युज

नेपालको प्रदेश १ अन्तर्गत भोजपुर जिल्लाको दक्षिण–पश्चिम भू–भागमा अवस्थित प्राकृतिक रूपमा सुन्दर एवं रमणीय गाउँपालिका हो रामप्रसाद राई गाउँपालिका । ८ ओटा वडा रहेको यस गाउँपालिकामा १८ हजार ८ सय ८८ जना मानिसको बसोबास रहेको पाइन्छ । यो गाउँपालिका क्षेत्रफल १ सय ५६ दशमलव २५ वर्ग किलोमिटरसम्म रहेको छ । यस स्थानीय तहको नामकरण बि.सं. २००७ सालको प्रजातन्त्रिक योद्धा राम प्रसाद राईको नामबाट नामकरण गरिएको छ । गाउँपालिकाको अधिकांश भाग पहाडी भूभागले ढाकेको छ भने यहाँ मिश्रित जातजातिको बसोबास रहेको पाइन्छ । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष विजय राईसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् ।


गाउँपालिकामा रहेका ठूला योजना तथा परियोजनाहरू के–के छन् ?

गाउँपालिकामा धेरै कृषिका योजनाहरु नै रहेका छन् । कृषिको लागि केही बजेट पनि छुट्याउँदै आएका छौं । हाम्रो गाउँपालिकामा सडक निर्माणको काम पनि भइरहेको छ । हामीले गाउँपालिकाको प्रत्येक वडामा सडक पुर्याएका छौं । अन्य पालिका र सदरमुकामसम्म सडक जोड्नको लागि कुनै समस्या छैन । करिब करिब गाउँपालिका सडकहरू स्तारोन्ती गरेर बिर्खेमा पनि यातायात सञ्चालन हुने अवस्था छ । गाउँपालिकाका धेरै सडकहरू कच्ची छन् । १, २, ३ र ४ नं. वडाहरुमा करिब करिब बिजुली पुगेको छ । ५ र ६ नं वडामा बिजुली पुगेको छ ।७ नं. वडामा पनि बिजुलीको काम भइरहेको छ । वडा नं. ८ मा पनि बिजुलीका पोलहरू पुर्याउने काम भएको छ । संघीय सरकार, विद्युत प्रविधिकरणले गर्ने र हामीले गर्ने काममा समन्वय नभएपछि समस्या हुँदो रहेछ ।

गाउँपालिकाको विभिन्न खोलाहरूमा निर्माण भइरहेको पुलका कामहरु पनि अन्तिम चरणमा पुगेको छ । हाम्रो गाउँपालिकामा खानेपानीका योजना पनि रहेको छ । वडा नं ४ मा लिफ्टीङ खानेपानी योजनाको काम सकिएर सञ्चालनमा आएको छ । ५ नं. वडामा पनि खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । बाँकी केही वडामा पनि खानेपानीको योजनाका काम रहेका छन् ।

शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आएको छ ?

शैक्षिक क्षेत्रको विकासको लागि हामीले धेरै काम गर्दै आएका छौं । हाल हामीले विद्यालय भवनहरू निर्माण गरी डेक्स, बेन्चको व्यवस्थापन गरेका छौं । गाउँपालिकाको शैक्षिक गुणस्तरमा विशेष पहल गरिरहेका छौं । आधुनिक विद्यालयका भवनहरू पनि केही ठाउँमा बनेका छन् । आधुनिक शिक्षा प्रणालीलाई पनि हामीले ध्यान दिइरहेका छौं । शिक्षा प्रणालीलाई व्यवस्थित गर्ने काम पनि भइरहेको छ । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामीले प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । बेलाबेलामा विभिन्न क्षेत्रका विज्ञहरूबाट शिक्षकहरूलाई तालिम पनि दिँदै आएका छौं । शैक्षिक क्षेत्रको विकासका लागि हामीले केही बजेट पनि छुट्याउँदै आएका छौं ।

गाउँपालिकामा स्वास्थ्य क्षेत्र विकासको लागि कसरी काम गर्दै आइरहनुभएको छ ?

गाउँपालिकामा स्वास्थ्य केन्द्रहरु रहेको छ । प्रत्येक वडामा स्वास्थ्यका भवनहरू रहेका छन् । स्वास्थ्य क्षेत्रलाई पनि हामीले प्राथमिकतामा नै राखेका छौं । गाउँपालिकामा रहेका सबै नागरिकहरूको पहुँच प्राथमिक स्वास्थ्य सेवासम्म पुगेको छ । स्वास्थ्यकर्मीहरूसँग बेलाबेलामा छलफल गर्ने र तालिम दिने काम पनि हामीले गरिरहेका छौं । स्वास्थ्य सेवालाई सहज बनाउनको लागि बजेट पनि छुट्याउँदै आएका छौं । गाउँपालिकामा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन् । पछिल्लो पटक स्थापन गरेको वडाहरुमा पनि ३ जना स्वास्थ्यकर्मीहरु राखेका छौं ।

तपाईंहरु निर्वाचित भएर आएको करिब ३ वर्ष पुरा भयो, यो बिचमा जनता सामु गरेका बाचा के–कति पुरा भए अनि कति बाँकी छन् ?

हामीले घोषणापत्रमा लेखेका विषय तथा निर्वाचित हुँदा बोले अनुसारका काम लगभग सकिसकेका छन् । केही कामहरु त बाँकी रहेको छन् तर अबको बाँकी रहेको कार्यकालमा यो काम पनि पुरा गरिसक्छु ।

कोरोनाको संक्रमण पुनः बढ्न थालेको छ, कोरोना संक्रमण दरलाई न्यूनिकरण गर्नको लागि के–कस्तो भूमिका खेल्दै हुनुहुन्छ ?

हालै हाम्रो पालिकाका नागरिक कोरोनाका कारण त्रसित हुनु पर्ने अवस्था छैन । बाहिरी ठाउँबाट मानिहरु पालिका भित्र कमै मात्रका आउने गर्छन् । तर पनि कोरोना संक्रमणबाट बच्न सुरक्षित मापदण्ड अपनाएकै छौं । कोरोना सम्बन्धी सूचना पनि प्रकाशन गरेका छौं । कोरोनाको मापदण्ड अपनाएर नै विकास निर्माणको कामहरू अगाडि बढाएका छौं । स्वास्थ्य मापदण्डहरू अपनाउन लागि हामीले नागरिकहरुलाई पनि आग्रह गरिरहेका छौं । पोहोर गाउँपालिकामा कोरोनाको कारण धेरै नागरिकहरू त्रसित भएका थिए । हामीले पनि कोरोना नियन्त्रणको लागि विभिन्न सुरक्षाका मापदण्ड अपनाएको थियौं । अन्तिम चरण आएर अक्सिजन सहितको अस्थायी कोरोना अस्पताल पनि निर्माण गरी सकेका छौं । क्वारेन्टिनमा र आइसोलेसन कक्षको पनि स्थापना गरेका थियौं । तर आजका दिनको कुरा गर्नुपर्दा भने यता कोरोनाको प्रभाव खासै रहेको छैन । नागरिकहरू पनि सामान्य रूपमा जीवन यापन गरिरहेका छन् । तर पनि नागरिकहरू कोरोना देखि सचेत रहन आग्रह गरेका छौं ।

गाउँपालिकालाई समृद्ध बनाउनको लागि के–कस्ता योजनाहरू अगाडि बढाउनु भएको छ ?

गाउँपालिकालाई समृद्ध बनाउनको लागि केही योजनाहरू अगाडि सारेका छौं । पालिकालाई समृद्ध बनाउनको लागि विकास निर्माणको काम नै गर्नुपर्ने रहेछ । १ नं. वडामा सडक भइसकेपछि २ नं. वडामा बिजुलीको आवश्यक पर्ने नै रहेछ । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य आदिको विकासको लागि केही कार्यक्रम बनाएका छौं । गाउँपालिकामा पुल निर्माणको काम पनि भइरहेको छ । तर पनि ठुला ठुला विकास निर्माणको काम गर्नु प¥यो भने अझै पनि समस्या हुने गरेको छ ।

तपाईंहरुको गाउँपालिका कृषि उत्पादनको लागि महत्वपूर्ण क्षेत्र हो, कृषि विकासका लागि के–कसरी काम गर्दै आउनु भएको छ ?

कृषि विकासको लागि हामीले गाउँपालिकामा कृषिका विभिन्न कार्यक्रहरु गर्दै आएका छौं । कृषिका विभिन्न कार्यक्रमहरू गर्दै आए पनि कार्यन्वयन गार्ना समस्या हुने गरेको छ । हाम्रो पालिका विशेष गरी धान, कोदो, मकौ, आदि उत्पादन हुने गरेको छ । यो बर्षबाट, सुन्तला, एवोगाडो, किवी आदिको खेति पनि पालिकामाहुनथालेको छ । हामीले कृषि विकासका लागिचाहे जस्तो काम गर्न सकिरहेका छैनौं । कृषिका प्रविधिकहरु पढेर भन्दा अनुभवले बढि जानकारी हुनु पर्ने हो ।

कृषि विकासको लागि हामीले गाउँपालिकामा ब्लक र पकेट क्षेत्रहरू पनि छुट्याएका छौं । वडा नं. ५ र ६ मा सुन्तला पकेट क्षेत्रको रूपमा छुट्याएका छौं । आँप र लिची पकेट क्षेत्र भनेर वडा नं. ४ को केही भागलाई छुट्याएका छौं । गाउँपालिकामा प्रविधिक जनशक्ति, र प्रविधिक ज्ञान नभएर समस्या भइरहेको छ । पालिकामा आधुनिक खेतिको सुरुवात भएको छ तर त्यसको पद्धति अन्योलमा परिरहेको छ । पालिकामा सुन्तलाको बिरुवा उत्पादन अनुदानबाट नै सुरुवात भएको छ । एवोगाडो खेति प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सुरु भइरहेको छ ।

मौसम प्रतिकुल भएर सुखा खडेरीले गर्दा केही समस्या पनि आएको छ । गाउँपालिकामा तरकारी खेति राम्रो हुने गरेको छ । पालिकामा कृषि समूहहरू पनि गठन भएका छन् । कृषकहरूलाई व्यावसायिक खेति गर्नको लागि आग्रह पनि गरेका छौं । हामीले कृषिमा अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । यहाँका धेरै नागरिकले कृषि पेशा नै अँगालेका छन् । गाउँपालिकामा पशुपालन गर्ने किसानहरू पनि धेरै रहेका छन् । कृषकहरूले यहाँ गाई, भौँसी, बङ्गुर तथा कुखुरापालन पनि गर्दै आएका छन् । कृषिका विभिन्न कार्यक्रमहरू पनि गाउँपालिकामा सञ्चालन हुँदै आएका छन् । कृषिका योजनाहरू पनि हामीले तयार पारेका छौं । कृषिका योजनाहरु तयार गरी पनि कार्यन्वयन गर्ने समस्या भइरहेको छ ।

गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध छन् ?

यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । कतिपय युवाहरू भने वैदेशिक रोजगारीमा गएका छन् । आधुनिक कृषि प्रणालीलाई विशेष जोड दिइरहेका छौं । प्रतिशतमै भन्नुपर्दा करिब ८० प्रतिशत मानिसहरू कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । राम्रो कृषि उत्पादन गर्ने किसानलाई पुरस्कार दिने व्यवस्था मिलाएको लागि कार्यक्रम चाहिँ गाउँपालिकामा राखेका छौं । तर यसको कार्यान्वयन हुन सकेको छैन ।

गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

हामी युवाहरूलाई कृषि क्षेत्रमा जोडिनको लागि आग्रह गरेका छौं । केही युवाहरू गाईपालन, बाख्रापालन, कुखुरापालन लगायत गर्दै आएका छन् । बाँझो जमिनको उपयोग भनेर हामीले कार्यक्रम ल्याएका छौं । यसको लागि केही बजेट पनि हामीले छुट्याएका छौं भने कृषि शाखा कृषि विकासको लागि राम्रो काम गर्न पनि आग्रह गरेका छौं ।

गाउँपालिकामा सर्वसाधारणले के कस्ता समस्या लिएर आउँछन् ?

गाउँपालिकाको नगरिकहरु प्रायःजसो खानेपानी, बाटोघाटो, घरनक्सा पास, राहत सहयोग, न्याय निरूपण, पशुपन्छीको रोग, कृषिसम्बन्धी लगायतका समस्याहरू लिएर आउने गरेका छन् । तर पनि यी सबै समस्याको समाधान गरेर मात्र हामी अगाडि बढी रहेका छौं ।

अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ?

अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । पर्यटन विकासमा लागि जोड दिएका छौं । मुख्य योजना भनेकै जनताको आधारभूत आवश्यकतालाई पुरा गर्ने पनि हो । खानेपानीको उचित व्यवस्था गर्ने, सबै वडामा स्वास्थ्य भवनको निर्माण गर्ने, आधारभूत अस्पतालको निर्माण गर्ने, गुणस्तरीय शिक्षामा जोड दिने, पूर्वाधारको विकासतर्फ कम्मर कसेर अघि बढ्ने मैले योजना बनाएको छु । हामीले केही पालिकास्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा हामीले विशेष जोड दिएका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको कुरामा पनि हामीले ध्यान दिइरहेका छौं ।

अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनु हुन्छ ?

यो भूगोलको परिचालन गर्न भनेको नै नागरिकहरूले हो । गाउँपालिकालाई समृद्ध बनाउनको लागि नागरिको ठुलो भूमिका रहेको छ । स्थानीय स्रोतको परिचालन गरी विकास निर्माणको कामलाई अगाडि बढाउनु पर्छ भन्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.