मेरो कार्यकायको सबैभन्दा ठूलो उपलब्धि कृषि विकास नै हो– अध्यक्ष भुजेलसँगको कुराकानी

  २०७८ वैशाख १२ गते २०:०२     विकासन्युज

बुद्धशान्ति गाउँपालिका पूर्वी नेपालको मेची अञ्चल अन्र्तगत झापा जिल्लाको उत्तर पूर्वी भागमा अवस्थित प्राकृतिक रूपमा सुन्दर एवं रमणीय गाउँपालिका हो । पहाडको चिसो सँगसँगै मधेशको सुरुवाती तापको सम्मिश्रण रहेको यो गाउँपालिकामा अनुकूल वातावरण, प्राकृतिक सुन्दरता तथा धार्मिक सहिष्णुता भएकाले एक उपर्युक्त पर्यटकीय गन्तव्य स्थलको रूपमा पनि लिन सकिन्छ ।
७ ओटा वडा रहेको यस गाउँपालिकामा ४२ हजार ५ सय २५ जना मानिसको बसोबास रहेको पाइन्छ । यस गाउँपालिका क्षेत्रफल ७९ दशमलव ७८ वर्ग किलोमिटरसम्म रहेको छ । गाउँपालिकाको पूर्वतर्फ मेचीनगर नगरपालिका, पश्चिममा अर्जुनधारा नगरपालिका, उत्तरमा इलाम जिल्ला र त्यसैगरी दक्षिणमा मेचीनगर र अर्जुनधारा नगरपालिका रहेका छन् । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष रमेश कुमार भुजेलसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् ।


तपाईंहरुको गाउँपालिका कृषि उत्पादनको लागि महत्वपूर्ण क्षेत्र हो, कृषि विकासका लागि के–कसरी काम गर्दै आउनु भएको छ ?

कृषि विकासको लागि हामीले गाउँपालिकामा धेरै काम गर्दै आएका छौं । हाम्रो पालिका विशेष गरी धान खेतिको लागि चिनिने गर्छ । हामी कृषकहरुलाई बिषादी मुक्त तरकारी उत्पादनको लागि आग्रह गरेका छौं । कृषकहरुले प्राङ्गारिक मल प्रयोग गरी अर्गानिक तरकारीको उत्पादन गरिरहेका छन् । गाउँपालिकामाकरिव ९५ प्रतिशत कृषकहरुले प्राङ्गारिक मल प्रयोग गर्ने गरेका छन् । हाम्रो पालिकामा बेमौसमी तरकारी खेति पनि हुने गरेको छ ।

हामीले कृषकहरूलाई प्लास्टिक टनेल, तरकारीका बिउ, आवश्यक प्राङ्गारिक बिषादी पनि वितरण गर्दै आएका छौं । गाउँपालिकाले खरिद गरेर ल्याएको बिउ प्रभावकारी हुन सकेन । त्यसैले किसानले नै बिउ खरिद गरी किसानलाई बिउको रकम पनि दिँदै आएका छौं । गाउँपालिकामा तरकारी खेति राम्रो हुने गरेको छ । कृषकको आवश्यक पर्ने सामानहरू उपलब्ध गराएका छौं । कृषि विकासको लागि हामीले गाउँपालिकामा ब्लक र पकेट क्षेत्रहरू पनि छुट्याएका छौं । पालिकामा कृषि समूहहरू पनि गठन भएका छन् । हामीले कृषिमा अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । कृषकहरूले व्यवसायिक खेतिको पनि सुरुवात गरेका छन् ।

यहाँका धेरै नागरिकले कृषि पेशा नै अँगालेका छन् । गाउँपालिकामा पशुपालन गर्ने किसानहरू पनि धेरै रहेका छन् । हामी कृषकलाई कृषि औजार वितरण गर्दै आएका छौं । कृषकहरुलाई बेला बेलामा कृषि सम्बन्धी तालिम पनि दिँदै आएका छौं । कृषकहरूले यहाँ गाई, भौँसी, बङ्गुर तथा कुखुराफर्महरू पनि सञ्चालन गर्दै आएका छन् । कृषिका विभिन्न कार्यक्रमहरू पनि गाउँपालिकामा सञ्चालन हुँदै आएका छन् । सिँचाई सम्बन्धी काम पनि गाउँपालिकामा भइरहको छ । कृषिका योजनाहरू पनि हामीले तयार पारेका छौं ।

गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध छन् होला ?

यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । तर पनि पालिकामा रहेको बजारी भेगमा कृषिमा आवद्ध कमै मात्रमा छन् । कतिपय युवाहरू भने वैदेशिक रोजगारीमा गएका छन् । आधुनिक कृषि प्रणालीलाई विशेष जोड दिइरहेका छौं । प्रतिशतमै भन्नुपर्दा करिब ६० प्रतिशत मानिसहरू कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । यो वर्षबाट राम्रो कृषि उत्पादन गर्ने किसानलाई पुरस्कार दिने व्यवस्था मिलाएका छौं । पहिला हामीले पुरस्कारको व्यवस्था मिलाउन सकेका थिएनौं ।

शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आइरहेको छ ?

शैक्षिक क्षेत्रको विकासको लागि हामीले धेरै काम गर्दै आएका छौं । पहिला शैक्षिक सुधारको लागि गाउँपालिकामा हामीले धेरै काम गर्नुपर्ने भयो । पहिला विद्यालयका भवनहरु थिएनन् । पुराना भवन बाट पानी चुहिने अवस्था थियो । पहिला विद्यार्थीहरु भुइमा बस्नु पर्ने अवस्था थियो । हाल हामीले विद्यालय भवनहरू निर्माण गरी डेक्स, बेन्चको व्यवस्थापन गरेका छौं । गुणस्तरीय शिक्षामा हामी लागि परिरहेका छौं । विद्यालयको व्यवस्थापन भई गुणस्तरीय शिक्षा भएकाले निजि विद्यालयमा भन्दा सरकारी विद्यालयकामा विद्यार्थीहरु संख्या बढि मात्रमा हाल रहेको पाइन्छ । विद्यार्थीको संख्या बढि भएर विद्यालयमा कक्षा कोठा अभाव पनि भएको अवस्था छ । गाउँपालिकामा धेरै विद्यार्थीहरू निजी विद्यालयलाई छाडेर सरकारी विद्यालयमा आइरहेका छन् ।

हामीलाई यसको व्यवस्थापन गर्न समस्या भइरहेको छ । गाउँपालिकाको शैक्षिक गुणस्तरमा विशेष पहल गरिरहेका छौं । आधुनिक विद्यालयका भवनहरू पनि गाउँपालिकामा बनेका छन् । आधुनिक शिक्षा प्रणालीलाई पनि हामीले ध्यान दिइरहेका छौं । शिक्षा प्रणालीलाई व्यवस्थित गर्ने काम पनि भइरहेको छ । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामीले प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । बेलाबेलामा विभिन्न क्षेत्रका विज्ञहरूबाट शिक्षकहरूलाई तालिम पनि दिँदै आएका छौं । शैक्षिक क्षेत्रको विकासका लागि हामीले केही बजेट पनि छुट्याउँदै आएका छौं ।

तपाईंको पालिकामा सडक सञ्जालको अवस्था कस्तो छ ?

पालिकामा प्रायः सबै सडकहरू ग्राबेल भएका छन् भने सडक सञ्जाल पनि सबै वडामा पुगेको छ । हाम्रो पालिकामा पूर्वदेखि पश्चिमसम्म खोलाहरू रहेका छन् । नजिकै खोला भएको कारण ग्राबेल गर्नमा खर्च कम हुँदो रहेछ । यस पटक सडक पिच गर्ने भनेर प्रत्येक वडाहरुमा ३० लाख रुपैयाँ बजेट दिएका थियौं । हाल पालिकाको कुनै ठाउँमा पिच भइसेको छ भने कुनै ठाउँमा पिच भइरहेको छ । लगभग गाउँपालिका भित्रका जम्मा ८ किलोमिटर सडक पिच भइसकेको छ । गाउँपालिकाको सडकहरू बाह्रै महिना सञ्चालन हुने अवस्था छ । हामीले गाउँपालिकाको सबै वडमा बिजुली पुर्याउन पनि सफल भएका छौं ।

कोरोनाको संक्रमण पुनः बढ्न थालेको छ, कोरोना संक्रमण दरलाई न्यूनिकरण गर्नको लागि के–कस्तो भूमिका खेल्दै हुनुहुन्छ ?

हालै हाम्रो पालिकाका नागरिक कोरोनाका कारण त्रसित हुनु पर्ने अवस्था छैन । बाहिरी ठाउँबाट मानिहरु पालिका भित्र कमै मात्रका आउने गर्छन् । तर पनि कोरोना संक्रमणबाट बच्न सुरक्षित मापदण्ड अपनाएकै छौं । कोरोना सम्बन्धी सूचनापनि प्रकाशन गरेका छौं । कोरोनाको मापदण्ड अपनाएर नै विकास निर्माणको कामहरू अगाडि बढाएका छौं ।स्वास्थ्य मापदण्डहरु अपनाउन लागि हामीले नागरिकहरुलाई आग्रह गरिरहेका छौं । पोहोर गाउँपालिकामा कोरोनाको कारण धेरै नागरिकहरू त्रसित भएका थिए । हामीले पनि कोरोना नियन्त्रणको लागि विभिन्न सुरक्षाका मापदण्ड अपनाएको थियौं । हामीले क्वारेन्टिनमा र आइसोलेसन कक्षको पनि स्थापना गरेका थियौं । तर आजका दिनको कुरा गर्नुपर्दा भने यता कोरोनाको प्रभाव खासै रहेको छैन । नागरिकहरू पनि सामान्य रूपमा जीवन यापन गरिरहेका छन् ।

अहिलेसम्म तपाइँले गाउँपालिकामा गरेको सबैभन्दा ठूलो उपलब्धि केलाई ठान्नु भएको छ ?

पालिकाको सबै भन्दा ठुलो उपलब्धि कृषि विकासमा नै भएको छ । यहाँका धेरै नागरिकले कृषि पेशा नै अपनाएका छन् । बाख्रापालनमा हाम्रो पालिका धेरै अगाडि रहेको छ । एउटै कृषकले ५ सयसम्म बाख्रापालनगरेका छन् । यहाँका कृषकहरू सुपारी, नरिवल, चिया,मकै लगायत अन्य खेतिमा पनि संलग्न भएको पाइन्छ । हाल धेरै संख्यामा यहाँका कृषकहरू गाई, कुखुरा, सुँगुर आदि जस्ता पशुपालनमा पनि आकर्षित रहेको र उल्लेखनिया मुनाफा आर्जन गरेको पनि पाइन्छ ।

तपाईहरुको पालिका पर्यटकीय स्थल भनेर चर्चित छ, आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ?

हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । पर्यटन विकासको लागि पनि हामीले विशेष जोड दिइरहेका छौं । धार्मिक र पर्यटकीय हिसाबले हाम्रो गाउँपालिका महत्वपुर्ण मानिन्छ । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । प्राकृतिक रूपले हाम्रो गाउँपालिका निक्कै सुन्दर रहेको छ । हाम्रो पालिकाको वडा नं. ७ मा निर्माण भएको भ्युटावर पनि सञ्चालनमा आएको छ । यस भ्युटावरबाट झापा, मोरङ, सुनसरी तथा भारतको विभिन्न भूभागको मनोहर दृष्यावलोकन गर्न पनि सकिन्छ । गाउँपालिकामा फनपार्कको पनि निर्माण भइरहेको छ । देशका विभिन्न ठाउँबाट यहाँ मानिसहरू आउने गरेका छन् भने विदेशी नगरिकहरुको पनि उपस्थिति रहेको पाइन्छ ।

गाउँपालिकालाई समृद्ध बनाउनको लागि के–कस्ता योजनाहरू अगाडि बढाउनु भएको छ ?

गाउँपालिकालाई समृद्ध बनाउनको लागि केही योजनाहरू अगाडि सारेका छौं । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य आदिको विकासको लागि केही कार्यक्रम बनाएका छौं । गाउँपालिकामा पुल निर्माणको काम पनि भइरहेको छ । तराई र पहाडी भूभागसँग जोडिएको कारण खहरे खोला आउने गरेको छ । साना बजेट पुल निर्माण हुँदैन । पुल निर्माण्को लागि धेरै खर्च हुने गरेको छ । गाउँपालिकामा धेरै ठुलो उद्योग पनि सञ्चालनमाछौन ।

गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

विदेशबाट फर्केका युवाहरूलाई सिप विकासको विभिन्न तालिमहरु पनि दिँदै आएका छौं । युवाहरूले गाडी पनि चलाउँदै आएका छन् । हामी युवाहरूलाई कृषि क्षेत्रमा जोडिनको लागि आग्रह गरेका छौं । केही युवाहरू गाईपालन, बाख्रापालन, कुखुरापालन लगायत गर्दै आएका छन् । महिलाहरूलाई कपडा बुनाई, ब्यूटी पार्लर,सिलाईकटाई आदिको पनि तालिम दिँदै आएका छौं । विदेशबाट फर्केका ३ सय जना युवाहरू रोजगारी मुलक बनेका छन् । सीप सिकेर ३ सय जना युवाहरुलाई रोजगारी मिलेको छ ।

अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ?

अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । पर्यटन विकासमा लागि जोड दिएका छौं । मुख्य योजना भनेकै जनताको आधारभूत आवश्यकतालाई पुरा गर्ने पनि हो । खानेपानीको उचित व्यवस्था गर्ने, सबै वडामा स्वास्थ्य भवनको निर्माण गर्ने, आधारभूत अस्पतालको निर्माण गर्ने, गुणस्तरीय शिक्षामा जोड दिने, पूर्वाधारको विकासतर्फ कम्मर कसेर अघि बढ्ने मैले योजना बनाएको छु । हामीले केही पालिकास्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा हामीले विशेष जोड दिएका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको कुरामा पनि हामीले ध्यान दिइरहेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.