काठमाडौं-हेटौंडाको दैनिक यातायात सेवा आगामी जेठ २५ गतेसम्म बन्द हुने

  २०७८ वैशाख १० गते १०:२५     विकासन्युज

मकवानपुर । मकवानपुरको भीमफेदी-कुलेखानी सडकखण्डमा पर्ने सिस्नेरी-दक्षिणकाली-काठमाडौं जोड्ने सडक आज(बैशाख १० गते) बिहानैदेखि काठमाडौं-हेटौंडातर्फको यातायात सञ्चालनमा रोक लगाइएको वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयले हेटौंडाले जनाएको छ ।

भीमफेदी-कुलेखानी हुँदै काठमाडौं जाने यातायत अवरुद्ध हुँदा आज बिहानैदेखि त्रिभुवन राजपथबाट हेटौंडा-काठमाडौंतर्फको हलुका यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनले निजी कार, जिप र मोटरसाइकललाई मात्र कान्तिराजपथ हुँदै काठमाडौंतर्फ जाने रुटलाई अनुमति दिइएको र आज बिहानैदेखि ती क्षेत्रबाट सामान्य यातायात काठमाडौंतर्फ प्रस्थान गरेको उल्लेख गरे ।

मदन भण्डारी राजमार्गअन्तर्गत रहेको सिस्नेरी सडकखण्डको काठमाडौंको छैमलेबाट मकवानपुरको हेबीसम्म निर्माणाधीन सडकमा अहिले कालोपत्र गर्नुपरेका कारण काठमाडौं-हेटौंडातर्फ दैनिक यातायात सेवालाई आजदेखि आगामी जेठ २५ गतेसम्म सञ्चालनमा रोक लगाइएको वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा सहदेव भण्डारीले बताए ।

उनका अनुसार भीमफेदी-कुलेखानी सडकखण्डको फाखेल सडकको ढल निर्माण, सडकमा कालोपत्र गर्ने क्रममा केही हप्ताअघिदेखि फाखेल सडकखण्डबाट काठमाडौंतर्फको यातायात सेवालाई एक महिनासम्मका लागि रोक लगाइएको थियो । वाग्मती प्रदेश, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले भीमफेदीबाट चिसापानीगढी र हेबीसम्मको सडक विस्तार र कालोपत्र गर्न दुई चरणमा गरी ३४ करोड रुपैयाँ विनियोजित गरिएको सो मन्त्रालयका प्रशासकीय अधिकृत हरिप्रसाद उप्रेतीले बताएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.