सेवाग्राहीहरुलाई मुस्कान सहितको सेवा दिने निती बनाएका छौं – फेदाप गाउँपालिकाका अध्यक्षसँगको कुराकानी

  २०७८ वैशाख ९ गते १७:४८     विकासन्युज

नेपालको प्रदेश १ अन्तर्गत तेह्रथुम जिल्लाको मध्यपूर्वी भागमा अवस्थित प्राकृतिक रूपमा सुन्दर एवं रमणीय गाउँपालिका हो फेदाप गाउँपालिका । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रूपमा चर्चित त छ नै साथै ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक रूपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । ११ दशमलव ८३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिकामा ५ ओटा वडा रहेका छन् । बि.सं. २०६८ को जनगणना अनुसार यस गाउँपालिकामा १७ हजार ६ सय जनाको बसोबास रहेको छ । गाउँपालिकाको अधिकांश भाग पहाडी भूभागले ढाकेको छ भने यहाँ मिश्रित जातजातिको बसोबास रहेको पाइन्छ ।

गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू के–के छन्, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष हरी प्रसाद चोङवाङसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् ।

गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ?

कृषि विकासको लागि हामीले गाउँपालिकामा धेरै काम गर्दै आएका छौं । कृषि केद्रबाट नै कृषिका कामहरू अगाडि बढाइरहेका छौं । कृषि विकासको लागि हामीले गाउँपालिकामा ब्लक र पकेट क्षेत्रहरू पनि छुट्याएका छौं । गाउँपालिकामा प्याज, लसुन आदि तरकारीको पकेट क्षेत्रहरू छुट्याएका छौं । हामीले कृषिमा अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । धेरैजसो विउहरु कृषकहरुलाई ५० प्रतिशत अनुदानमा वितरण गर्ने गरेका छौं । कृषकहरुले व्यवसायिक खेतिको पनि सुरुवात गरेका छन् । यहाँका धेरै नागरिकहरूले कृषि पेशा नै अँगालेका छन् । गाउँपालिकामा पशुपालन गर्ने किसानहरू पनि धेरै रहेका छन् ।

हामी कृषकलाई कृषि औजार वितरण गर्ने तयारीमा छौं । कृषकलाई बेला बेलामा कृषि सम्बन्धी तालिम पनि दिँदै आएका छौं । हाम्रो गाउँपालिकाको प्रत्येक वडामा कृषक समुहहरुको गठन भएका छन् । किसानहरूले यहाँ गाई, भैँसी, बङगुर तथा कुखुराफर्महरू पनि सञ्चालन गर्दै आएका छन् । कृषि विकासका लागि हामीले विभिन्न किसिमका कार्यक्रमहरू पनि गर्दै आएका छौं । कृषिको लागि मलको व्यवस्थापन गर्ने काम हामीले गरिरहेका छौं । सिँचाई सम्बन्धी काम पनि गाउँपालिकामा भइरहको छ । कृषिका योजनाहरू पनि हामीले तयार पारेका छौं ।

गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध रहेका छन् होला ?

यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । कतिपय युवाहरु भने वैदेशिक रोजगारीमा गएका छन् । आधुनिक कृषि प्रणालीलाई विशेष जोड दिइरहेका छौं । प्रतिशतमै भन्नुपर्दा करिब ८५ प्रतिशत मानिसहरू कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ ।

गाउँपालिकामा रहेका ठूला योजना तथा परियोजनाहरू के–के छन् ?

ठुला योजनाको रुपमा त सडक सञ्जाल नै रहेको छ । सडक विकासको कामहरुमा नै धेरै बजेट पनि छुट्याएका छौं । सडक नै विकासको मूल आधार मानिएको कारण हमीले पनि सडकलाई नै प्राथमिकताको रूपमा राखेका छौं । गाउँपालिकामा केही गौरवका आयोजनाहरू पनि रहेका छन् । गाउँपालिकामा खानेपानीको आयोजनाहरू पनि रहेका छन् । कच्ची सडकहरु गाउँपालिकामा धेरै रहेका छन् । हाम्रो गाउँपालिकाको सबै वडामा सडक पुगिसकेको छ । गाउँपालिकाको सबै वडामा बिजुली पनि पुर्याएका छौं ।

शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आइरहेको छ त ?

शैक्षिक क्षेत्रतर्फ पनि गाउँपालिकाले धेरै काम गर्दै आएको छ । हाम्रो गाउँपालिका भित्र जम्मा ४२ ओटा विद्यालयहरू छन् । ८ ओटा माध्यमिक विद्यालयहरूमा हामीले कम्प्युटर शिक्षकहरू राखेका छौं । विद्यालयलाई व्यवस्थित गर्ने तर्फ पनि जोड दिइरहेका छौं । यहाँका विद्यालयहरूको शैक्षिक तथा भौतिक सुधारको कार्यक्रमहरु पनि हामीले गरिरहेका छौं । गरिब, जेहेन्दार तथा विपन्न बालबालिकाका लागि छात्रवृत्ती दिने कार्यक्रम पनि रहेको छ । गाउँपालिकाले गुणस्तर र प्रविधि शिक्षामा हामीले विशेष जोड दिएका छौं । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि समय–समयमा छलफल पनि गरिरहेका हुन्छौं ।

गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

युवाहरुलाई कृषि क्षेत्रमा जोडिनको लागि आग्रह गरेका छौं । केही युवाहरु गाईपालन, बाख्रापालन, कुखुरापालन लगायत गर्दै आएका छन् । युवालाई लक्षित गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम पनि गाउँपालिकामा सञ्चालन भएको छ । १ सयजना युवाहरुले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारी पाएका छन् । युवाहरुको सिप विकासको लागि तालिम पनि दिँदै आएका छौं । दलित महिलाहरुलाई मुढा बुनाई, ढाका टोपि, कपडा बुनाई, सिलाईकटाई आदिको पनि तालिम दिँदै आएका छौं ।

तपाईंहरु निर्वाचित भएर आएको करिब ३ वर्ष पुरा भयो, यो बिचमा जनता सामु गरेका बाचा के–कति पुरा भए अनि कति बाँकी छन् नि ?

हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका काम लगभग सकिसकेका छौं । फेदापको सदरमुकामदेखि मध्य पहाडीको बाटो जोड्ने भन्ने हाम्रो घोषणापत्रमा थियो । निर्वाचित भएर आएपछि यो काम पनि हामीले पुरा ग¥यौं । हाम्रो गाउँपालिकाका सुख्खा क्षेत्रहरुमा खानेपानी पुर्याउने भन्ने योजना रहेको थियो । सुख्खा क्षेत्रमा खानेपानी पुर्याउनको लागि डीपीआर गरेर ठेक्का प्रक्रियामा अगाडि बढ्ने र उपभोक्ताले पनि केही काम गर्ने भनेर बजेट विनियोजन भएको छ । यो काम पनि निरन्तर प्रक्रियामा अगाडि बढिरहेको छ । सुख्खा क्षेत्रहरूमा तम्मबर खोला बाट लिफ्ट सिस्टमले पानी ल्याउने काम गरिरहेका छौं । ३३ करोड रुपैयाँ बराबरको बजेटमा लिफ्ट सिस्टम योजनाको सर्भे भएको छ । २ ओटा डिप बोरिङ खानेपानी आयोजना पनि गाउँपालिकामा रहेको छ ।

कोरोनाको संक्रमण पुनः बढ्न थालेको छ, कोरोना संक्रमण दरलाई न्युनिकरण गर्नको लागि के–कस्तो भूमिका खेल्दै हुनुहुन्छ ?

हालै हाम्रो पालिकाका नागरिकहरू कोरोनाका कारण त्रसित हुनु पर्ने अवस्था छैन । पहाडी भुभाग भएको कारण गाउँपालिकामा धेरै बाक्लो बस्ती छैन । हाम्रो गाउँपालिकामा एउटा वडामा जोगी समुदायको मानिसहरूको बढि मात्रामा बसोबास रहेको छ । चैत्र र वैशाख यस समुदायका मानिसहरू चाडपर्व मनाउन भारत जाने गरेका छन् । उनीहरूलाई कोरोना संक्रमण हुन सक्ने खतरा पनि छ । पोहोर गाउँपालिकामा कोरोनाको कारण धेरै नागरिकहरू त्रसित भएका थिए ।

हामीले पनि कोरोना नियन्त्रणको लागि विभिन्न सुरक्षाका मापदण्ड अपनाएको थियौं । हामीले क्वारेन्टिनमा र आइसोलेसन कक्षको पनि स्थापना गरेका थियौं । पोहेरनै हामीले कोरोना नियन्त्रणको लागि केही सामानहरु खरीद गरेर राखेका छौं । गाउँपालिकामा कोरोनाको संक्रमण बढ्न थाल्यो भने त्यसको व्यवस्थामा पनि हामी लागि पर्ने नै छौं । तर आजका दिनको कुरा गर्नुपर्दा भने यता कोरोनाको प्रभाव खासै रहेको छैन । नागरिकहरू पनि सामान्य रुपमा जीवन यापन गरिरहेका छन् ।

गाउँपालिकालाई समृद्ध बनाउनको लागि के–कस्ता योजनाहरू अगाडि बढाउनु भएको छ ?

गाउँपालिकालाई समृद्ध बनाउनको लागि केही योजनाहरू अगाडि सारेका छौं । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य आदिको विकासको लागि केही कार्यक्रहरु बनाएका छौं । राज्यले निर्णय गर्नुभन्दा अगाडिनै पालिका भित्र हामीले खरको छानो अन्त्य गर्ने भनेर घोषणा गरेका थियौं । हामीले ३ वर्ष अगाडि देखि टिनको छानो वितरण गर्दै आएका हौं । तर अहिले त राज्यले नै दिँदै आएको छ । त्यसैले हामीले गाउँपालिकालाई समृद्ध बनाउनको लागि जोड दिइरहेका छौं ।

सामाजिक विकृतीलाई नियन्त्रण गर्नको लागि के–कस्तो भुमिका खेल्दै हुनुहुन्छ ?

सामाजिक विकृतीलाई नियन्त्रण गर्नको लागि पनि हामीले विशेष जोड दिएका छौं । अहिले बढि मात्रामा युवाहरू कुलतमा फसेका छन् । बालविवाह पनि समाजमा धेरै बढिरहेको छ । सामाजिक विकृती नियन्त्रणको लागि सबै मिलेर कम्मर कस्नु पर्छ । सरकारले पनि विकृती नियन्त्रण गर्न ठुलो भूमिका खेल्नु पर्छ ।

आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ?

हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । पर्यटन विकासको लागि पनि हामीले विशेष जोड दिइरहेका छौं । धार्मिक र पर्यटकीय हिसाबले हाम्रो गाउँपालिका महत्वपुर्ण मानिन्छ । हाम्रो गाउँपालिकाबाट कुम्भकर्ण हिमालको दृष्य पनि देख्न सकिन्छ । ह्यात्रुङ झरना पनि पर्यटकीय दृष्टिकोणले महत्वपुर्ण रहेको छ । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । प्राकृतिक रूपले पनि हाम्रो गाउँपालिका निक्कै सुन्दर रहेको छ । देशका विभिन्न ठाउँबाट यहाँ मानिसहरू आउने गरेका छन् भने विदेशी नगरिकहरुको पनि उपस्थिति रहेको पाइन्छ । धार्मिक हिसाबले पनि हाम्रो गाउँपालिका निक्कै महत्वपूर्ण रहेको छ ।

कर्मचारी र जनप्रतिनिधिहरू बिचको सम्बन्ध कस्तो छ नि ?

कर्मचारी र जनप्रतिनिधि बिचको सम्बन्ध सुमधुर र गाडा रहेको छ । सम्बन्ध राम्रो भएको कारण विकास निर्माणको कामले पनि तीव्रता लिएको छ । कर्मचारीको सहयोगमा नै विकास निर्माणको काम अगाडी बढाउने हो । म जनप्रतिनिधि भएको हिसाबले मैले कर्मचारीहरुलाई नेपाल सरकारले दिएको सबै सुविधाहरू लिनुहोस् तर जनताको काम भने राम्रो हुनुपर्छ भनेको छु । हामीले मुस्कान सहितको सेवा भनेर नीति तथा कार्यक्रम राखेका छौं ।

अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ?

अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । यहाँका जनताले भोलिका दिनमा पनि मैले गरेका कामहरूबाट लाभ लिइरहन सकुन् भन्ने चाहना छ । यहाँका नागरिकले भोलिका दिनमा पनि मलाई खराब काम नगर्ने र एकदमै इमान्दार प्रतिनिधीको रूपमा सम्झिरहुन् भन्ने चाहेको छु । त्यसका लागि जनताको चाहना र आवश्यकता कम्मर कसेरै पूरा गर्ने लक्ष्य बनाएको छु । हामीले पालिकास्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा हामीले विशेष जोड दिएका छौं । हामीले दिर्घकालिन योजनाहरूको सुरुवात गरेका छौं । कतिपय योजनाको भने हामी अन्तिम चरणमा पुगिसकेका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको कुरामा पनि हामीले ध्यान दिइरहेका छौं ।

One comment on "सेवाग्राहीहरुलाई मुस्कान सहितको सेवा दिने निती बनाएका छौं – फेदाप गाउँपालिकाका अध्यक्षसँगको कुराकानी"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.