बैंक वित्तीय संस्थाविरुद्ध राष्ट्र बैंकमा सोझै उजुरी गर्ने मन छ ? अब यसरी सकिन्छ गर्न

  २०७८ वैशाख ९ गते ११:१३     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले तपाईंसँग गरेको व्यवहारप्रति चित्त बुझेको छैन र त्यसविरुद्ध नेपाल राष्ट्र बैंकमा सोझै उजुरी गर्न चाहनु हुन्छ भने सजिलो भएको छ ।

नेपाल राष्ट्र बैंकले इजाजत दिएका बैंक वित्तीय संस्थाहरु तथा अन्य संस्था/एजेन्टले गरेको व्यवहारप्रति कुनै गुनासो वा सुझाव भए सोझै राष्ट्र बैंकसँग गर्न सकिने व्यवस्था मिलाएको छ । यसका लागि राष्ट्र बैंकले बेग्लै गुनासाे पोर्टल बनाएको छ ।

‘नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र/अनुमति प्राप्त गरि वित्तीय मध्यस्थता सेवा प्रदान गरिरहेका बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्था/एजेन्टले ग्राहकसँग निष्पक्ष, विश्वसनीय, र पारदर्शी ढंगबाट बैंकिङ क्षेत्रको व्यवसायिक मूल्य र मान्यता एवं नीति निर्देशनको अधीनमा रही ग्राहकको हितलाई प्राथमिकतामा राखी वित्तीय मध्यस्थता सेवा प्रदान गर्ने/गराउने कार्यको सुनिश्चितता गरी वित्तीय ग्राहकको हित संरक्षण गर्न यस पोर्टल निर्माण गरिएको छ,’ राष्ट्र बैंकले भनेको छ ।

किन बनाइयो गुनासो पोर्टल ?

वित्तीय मध्यस्थता सेवा प्रदान गर्न राष्ट्र बैंकबाट इजाजतपत्र/अनुमति प्राप्त वित्तीय सेवा प्रदायकले प्रचलित कानुन तथा राष्ट्र बैंकबाट जारी गरिएका निर्देशन, परिपत्र, सूचनाको अधीनमा रहि सबै प्रकारका ग्राहकलाई निष्पक्ष, विश्वसनीय र पारदर्शी वित्तीय मध्यस्थता सेवा प्रवाहको सुनिश्चितता प्रदान गरी ग्राहकलाई कुनै किसिमको मर्का पर्न नदिने र मर्का पर्न गएमा सोको समुचित सुनुवाई गरी उचित व्यवस्थापन गर्नु वित्तीय ग्राहक संरक्षणको प्रमुख उद्देश्य राखेर गुनासो पोर्टल बनाइएको राष्ट्र बैंकको भनाई छ ।

वित्तीय ग्राहकलाई वित्तीय सेवा प्रदायकबाट हुने असहयोग, ढिलासुस्ती, बेवास्ता, पक्षपात, गैरजिम्मेबारी, लापरवाही, झुठो, गलत सूचना संप्रेषण, अपारदर्शी कारोवार जस्ता नकारात्मक व्यवहारलाई न्युनीकरण गर्न गुनासो पोर्टल बनाइएको हो । यस्तै, वित्तीय सेवा प्रदायकले आफूले प्रदान गर्ने सेवा सम्बन्धमा न्यूनतम मापदण्ड पुरा गरी वित्तीय ग्राहकलाई निष्पक्ष र समान वित्तीय मध्यस्थता सेवा प्रदान वा प्राप्त गर्न वा गराउन प्रोत्साहन गर्ने उदेश्य पनि राष्ट्र बैंकको छ ।

वित्तीय ग्राहकलाई वित्तीय सेवा प्रदायकवाट नीति निर्देशन विपरीत निक्षेप संकलन, कर्जा प्रवाह, कर्जा असुली लगायत अन्य वित्तीय मध्यस्थता सेवा प्रवाहमा गरिने विभेद तथा क्षतिलाई न्यूनीकरण गर्न पनि गुनासो पोर्टल बनाइएको हो । वित्तीय कारोवार गर्ने ग्राहकको मनोबल उच्च राखी वित्तीय क्षेत्रप्रतिको विश्वास कायम राख्ने उदेश्य पनि राष्ट्र बैंकको छ ।

यस्तै, वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापनका सम्बन्धमा राष्ट्र बैंकको क्षेत्राधिकार भित्र पर्ने कानुन, नीति, निर्देशन, कार्यविधि सम्बन्धमा गर्नुपर्ने सुधारको बारेमा गभर्नरलाई जानकारी गराउने, गुनासो सुनुवाई प्रक्रियालाई सहज र पारदर्शी बनाउने उदेश्य राष्ट्र बैंकको छ ।

कसरी गर्ने उजुरी ?

गुनसो दर्ता गर्नको लागि राष्ट्र बैंकले दर्ता प्रक्रिया पनि सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार http://gunaso.nrb.org.np पोर्टलमा गएर गुनासो दर्ता गर्नुपर्छ । यसरी गुनसो दर्ता गरेपछि गुनासो दर्ता भएको जानकारी र दर्ता नं. इमेल मार्फत प्राप्त हुनेछ ।

गुनासो दर्ता नम्बरको सहयोगले पेश गरिएको गुनासोको स्थिति थाहा पाउन सकिने र दर्ता भएको गुनासोको अन्तिम निर्णय इमेल मार्फत जानकारी गराउने व्यवस्था राष्ट्र बैंकले मिलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.