बर्डफ्लु पीडित तारकेश्वरका किसानले क्षतिपूर्ति स्वरुप एक करोड पाउने

  २०७८ वैशाख ७ गते १२:२४     विकासन्युज

काठमाडौं । काठमाडौंको तारेकेश्वर नगरपालिकाका किसानले एक लाख क्षतिपूर्ति पाउने भएका छन् । बर्डफ्लुका कारण किसानले उत्पादन गरेका पशुपन्छी तथा दाना नष्ट गरेपछि क्षतिपूर्ति स्वरुप सरकारले तीन स्थानका किसानलाई क्षतिपूर्ति दिन लागेको हो ।

पहिलो चरणमा पशु सेवा विभागले काठमाडौंको तारकेश्वर नगरपालिकाको वडा नम्बर ७ साङ्लेखोला र दुई पटक सम्म संक्रमण देखिएको वडा नम्बर १ का किसानलाई क्षतिपूर्ति दिने तयारी भएको छ । किसानलाई क्षतिपूर्ति दिन अर्थ मन्त्रालयबाट बजेट आइसकेको पशु सेवा विभागले जनाएको छ । विभागका सूचना अधिकारी डा.चन्द्र ढकाल एक साताभित्र तीन स्थानका किसानलाई क्षतिपूर्ति दिने बताउँछन् ।

‘हामीले किसानलाई क्षतिपूर्ति दिनका लागि आवश्यक रकम अर्थ मन्त्रालयसँग माग गरेका थियौँ, अर्थमन्त्रालयबाट १ करोड रुपैयाँ बढी निकास भएर आएको छ, अब हामी किसानलाई तोकिएको मात्रामा रकम वितरण गछौँ’, उनले भने, ‘केही किसानसँग दररेटको विषयमा कुरा मिलेको छैन, समस्या नभएको स्थानमा वितरण गरेपछि समस्या देखिएको क्षेत्रमा थप छलफल गरेर वितरण गछौँ ।’

उनका अनुसार किसानलाई क्षतिपूर्ति वितरणका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको दर रेट निर्धारण समितिको सिफारिसका आधारमा भुक्तानी गरिनेछ । उक्त समितिले बजार मूल्यलाई आधार बनाएर मूल्य निर्धारण गर्नेछ । समितिले बुझाएको विवरणका आधारमा विभागले ७५ प्रतिशत क्षतिपूर्ति वितरण गरिने ढकालले जानकारी दिए ।उनका अनुसार समस्या नभएको क्षेत्रका किसानलाई अबको एक सातामा क्षतिपूर्ति रकम वितरण गरिनेछ ।

ललितपुरमा दोस्रो लटमा वितरण गरिने

विभागले पहिलो चरणमा बर्डफ्ल संक्रमण भेटिएका तारेकेश्वरका तीन स्थानका किसानलाई मात्र क्षतिपूर्ति वितरण गर्ने भएको छ ।

‘हामीले धरै अगाडी संक्रमण देखिएको तारकेश्वरमा क्षतिपूर्ति वितरण गर्न अर्थबाट बजेट पाइसकेका छौँ । पहिला तारेकेश्वरमा वितरण हुन्छ । ललितपुरको नख्खुमा संक्रमण पछि भेटिएको हो, थप रकम माग गरेका छौँ, अर्थबाट स्वीकृति भएसगैँ वितरण हुन्छ’, सूचना अधिकारी ढकालले भने ।

६ स्थानमा संक्रमण

काठमाडौं उपत्यका सहित ६ स्थानमा बर्डफ्लु संक्रमण फेला परेको थियो । जसमा गत माघ १६ गते पहिलो पटक तारकेश्वर नगरपालिका–७ साङ्लेखोला संक्रमण भेटिएको थियो ।

तारेकेश्वरकै वडा नम्बर १, ललितपुरको नख्खु र उपत्यकाबाहिर सुर्खेत र जाजरकोटमा संक्रमण भेटिएको भियो ।

विभागले उपत्यकाका चार स्थानका किसानलाई क्षतिपूर्ति रकम वितरण गरेपनि उपत्यका बाहिरका किसानलाई कर्णाली प्रदेश सरकारले नै क्षतिपूर्ति दिने विभागले बताएको छ ।

नष्ट गरिएको पशुपन्छी तथा दाना

पशु सेवा विभागले संक्रमण देखिएका क्षेत्र वरपर पालेका घरपालुवा जनावरको नष्ट गरेको थियो । विभागले पहिलो पटक तारेकेश्वरको साङ्लेखोलामा केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएपछि त्यस क्षेत्रमा १ हजार ८ सय ६५ हाँस, ६ सय २२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ७५ केजी दानालगायत नष्ट गरेको थियो ।

तारकेश्वर नगरपालिका–१ मा पालेका हाँसमा बर्डफ्लु देखिएपछि १४ सय २१ हाँस, ४२ वटा लोकल कुखुरा र आठ सय केजी दाना नष्ट गरिएको थियो । त्यससपछि फागुन ८ मा कर्णालीको सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका–१२ का किसानले पालेका कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लु भेटिएको थियो ।

त्यस क्रममा २ सय ७९ कुखुरा, १ सय २ परेवा र ३१ किलो दाना नष्ट गरिएको थियो । फागुन १२ गते पुनः तारकेश्वर नगरपालिका–१ मा पालिएका व्यावसायिक कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु देखियो । त्यस क्रममा ५ हजार ६ सय ५७ लेयर्स कुखुरा, ७ हजार २ सय ३६ ब्रोइलर कुखुरा, २ हजार ५ सय ४ लोकल कुखुरा, ५० टर्की, १७ बट्टाई, ३ हजार ५ सय ७० अन्डा र तीन हजार किलो दाना नष्ट गरिएको थियो ।

फागुन २६ मा फेरि कर्णालीको जाजरकोटस्थित भेरी नगरपालिका–३ सियाँलाका किसानले पालेका व्यावसायिक लेयर्स कुखुराका नमुनामा पनि बर्डफ्लु देखिएको थियो । त्यस क्रममा ब्रोइलर कुखुरा तीन सय, लेयर्स कुखुरा ३ सय ३१, लोकल कुखुरा ७०, अन्डा ८ सय ८३ र २ सय ५१ किलो दाना र दुई सय वटा अन्डाका क्रेट नष्ट गरिएको थियो ।

यस्तै, चैत १३ गते फेरि ललितपुर महानगरपालिका–१२ नक्खुका किसानले पालेका लोकल कुखुरा, बट्टाई र हाँसबाट संकलित नमुनामा पनि बर्डफ्लु भेटिएको थियो । उक्त क्षेत्रमा संक्रमण भेटिएपछि ५ सय १६ हास, लोकल कुखुरा ८ सय ५४, बट्टाई १ सय ५४, ९ सय ४४ वटा अन्डा र ३ सय ३५ किलो दाना नष्ट गरीएको थियो ।

संक्रमण देखिएका क्षेत्रमा रहेका घरपालुवा पशुपन्छीलाई नष्ट गरी सुरक्षित राखिएको थियो । ललितपुरको नख्खुमा संक्रमण नियन्त्रण भएपछि अन्य ठाउँमा हालसम्म संक्रमण पुष्टि भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.