खनिजमा आधारित औद्योगिक क्रान्तिले मात्र पनि नेपालको कायापलट हुन सक्छ

  २०७८ वैशाख ६ गते १३:०३     भीम चन्द

दैनिक रुपमा प्रयोग हुने अधिकांश भाँडाकुँडा, सवारीसाधन, बिजुलीबत्तीको तार, धातुजन्य तमामौँ तयारी वस्तुहरु, मोवाइल तथा अन्य विद्युतीय उपकरण आदिमा प्रयोग हुने धातु र आणविक कच्चा पदार्थ खानीहरुबाट प्राप्त गर्न सकिन्छ । यसैगरी, निर्माण सामग्री, पेट्रोलियम पदार्थ, खाना पकाउने ग्याँस, नुन, सुन आदि विभिन्न प्रकारका खनिज पदार्थहरु जमीनबाटै प्राप्त हुन्छ ।

सियोदेखि हवाइजहाज रकेटसम्मका वस्तुहरुमा प्रयोग हुने धातु अधातुजन्य खनिज पदार्थहरु सबै जमीनकै गर्भबाट प्राप्त गर्न सकिन्छ । तरल, ठोस र ग्याँसको रुपमा पृथ्वीको गर्भमा रहेका विभिन्न किसिमका खनिज पदार्थहरुको उत्खनन, प्रशोधन, प्रशोधित वस्तुको कच्चा प्रयोग तथा त्यसबाट विभिन्न तयारी वस्तुहरुको उत्पादनबाट विश्व समुदायले चमत्कारिक समृद्धि हासिल गरिरहेको छ । अति बहुमूल्य सम्पत्तिहरुको भण्डारमाथि शयन गरिरहेका भए पनि सर्वसाधारण नेपाली नागरिकहरु दैनिक गुजाराका लागि विदेशिनु परिरहेको छ ।

हामीले आफूसाग भएको अथाह अनमोल मणिको खजाना चिन्न र सदुपयोग गर्न नसकेर दु:ख पाइरहेका छौं । प्राकृतिक ग्याँस र पेट्रोलियम पदार्थको भण्डारमा बसेर बाँच्नका लागि भातभान्सा तथा दैनिकी चलाउन वार्षिक अर्बौंको इन्धन आयात गरिरहेका छौं । आफ्नो देशमा तामा फलामका तमामौं खानीहरु भएर पनि यसबाट निर्मित सियोदेखि सम्पूर्ण सवारी साधनहरु, घरायासी, कृषि, निर्माण तथा विद्युत सामग्री र औद्योगिक प्रयोजनका सामानहरु आदिको आयातमा निकै ठूलो धनरासी विदेशिने गरेको छ । प्राकृतिक श्रोत सम्पदा नभएका कतिपय राष्ट्रहरुले विज्ञान प्रविधिको अधिकतम उपयोगद्धारा कृतिम वस्तु उत्पादन गरेरै भए पनि विकासमा फड्को हानी रहँदा हामी भने अथाह सम्पदा भएर पनि भिखारीको रुपमा बाँच्नु निकै लज्जाजनक छ ।

नागरिकहरुको जीवनस्तरमा अभिवृद्धि र देशको रुपान्तरणका लागि अग्रगामी सोचकासाथ लगानी सुरक्षाको प्रत्याभूति सहित हडताल हिंसारहित उत्प्रेरणात्मक नतीजामूखी श्रमनीति निर्माण तथा लगानी प्रोत्साहित वातावरणका साथै दीर्घकालीन कर प्रणालीमा राज्यले जोड दिनुपर्छ । उपयुक्त द्रुत विकास नीति तथा कार्यनीति निर्माण र अवलम्बन, अनलाइनबाटै भिसा र एकद्धार प्रणाली मार्फत कार्य अनुमति तथा प्रकृयागत कामको द्रुत व्यवस्था गरिनुपर्छ । अनुभवी सक्षम लगानीकर्ताहरुलाई लगानीका लागि आब्हान गर्नुका साथै परिणाममुखी कर्मठ दक्ष जनशक्ति उत्पादन र परिचालन, आवश्यक अत्याधुनिक प्रविधिको उपयोग तथा प्रयोगशाला र यन्त्र उपकरण आदिको व्यवस्था गर्नुपर्छ । जिम्मेवारी र कार्य सम्पादनका आधारमा कर्मचारीहरुको मूल्याङ्कन, खानीहरुसम्म ठूला भारवाहक गाडीहरु सजिलै ओहरदोहर हुन सक्ने पहुँचमार्गको निर्माण र खानी उत्खननका लागि आवश्यक पर्ने विद्युतको व्यवस्था पनि राज्यले गर्नुपर्छ । यसका साथै खानीहरुको विस्तृत अध्ययन, अनुसन्धान, उत्खनन, प्रशोधन तथा त्यसबाट विभिन्न वस्तुहरुको उत्पादनका लागि स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई लगानीका लागि आव्हान गरिने हो भने एक दशक भित्रै देशको कायापलट हुन सक्छ ।

खानी अध्ययन, अनुसन्धान, मूल्यांकन तथा उत्खनन

नवलपरासीको धौवाडी, सुर्खेतको धनरास, ललितपुरको फुलचोकी, रामेछापको ठोसे आदि क्षेत्रमा फलामखानी रहेको पाइन्छ । बझाङ्गको सुनिकोट, तनहुको मादी र चुदीबगर आदि स्थानमा सुन, धादिङ्गको गणेश हिमाल क्षेत्रमा निलम, रुवी, सीसा आदि तथा तनहुको बन्दीपुर, मुस्ताङ्गको धागरजोङ्ग, जनकपुर र लुम्बिनीका विभिन्न स्थानमा स्लेटहरु रहेको पाइन्छ । मकवानपुरको भैँसे दोभान, तनहुको विमलनगर, काठमाडौं उपत्यकाको चोभार, कर्णाली, राप्ती तथा देशका अधिकांश स्थानमा चुनढुंगा प्रचुर मात्रामा छ । मुस्ताङ्गको मुक्तिनाथ क्षेत्र, दैलेखको सिरस्थान, नाभिस्थान र पादुकास्थान आदि क्षेत्रमा प्राकृतिक ग्याँस तथा दैलेख, राप्ती र भेरीका अधिकांश स्थानका साथै तराई क्षेत्रमा पेट्रोलियम पदार्थ प्रसस्त रहेको मानिन्छ । मुस्ताङ्गको लोमान्थाङ्ग सहित मध्यमाञ्चलदेखि सुदूरपश्चिमका अधिकांश स्थानमा सुन भन्दा हजारौँ गुणा महंगो खनिज पदार्थ युरेनियम तथा देशका अधिकांश क्षेत्रमा विभिन्न किसिमका उपयोगी खनिज सम्पदाहरु रहेको पाइन्छ । तर कुन सम्पदा, कहाँ, कति मात्रामा, कस्तो अवस्थामा छन् त्यसको एकिन तथ्याङ्क रहेको अवस्था छैन् ।

हिमालय क्षेत्र निकै पछि मात्र उत्पति भएको विश्वकै सबभन्दा कान्छो पहाड भएकाले यसको गर्भमा खनिज सम्पदा कमै रहेको मानिएपनि युरेनियम, थोरियम, ल्याटिनम, कोरण्डम, रुवी, सफायर आदि अति बहुमूल्य खनिज पदार्थहरुको भण्डारको रुपमा रहेको मानिन्छ । विश्वमै अति दुर्लभ मानिएका १७ खनिज तत्वहरुको समूह रेयर अर्थ चीनले यसै भूखण्डबाट उत्पादन गरेको पाइन्छ । इन्डिया टुडेमा अंकित कुमारले उल्लेख गरे अनुसार चुम्बकीय र विद्युतीय रासायनिक गुणका लागि परिचित यी खनिज पदार्थहरुको उपयोग मोवाइल, ल्यापटप, स्मार्ट टि.भी., स्मार्ट स्पीकर, सर्जिकल उपकरण, पेसमेकर, एरक्राफ्ट इन्जिन, टेलिस्कोप लेन्स, लेजर, राडार, नाइटभिजन प्रणाली, मिसाइल गाइडेन्स, बख्तरबन्द बाहन आदि अत्याधुनिक उपकरणहरुमा हुने गर्छ (२०७७ जेष्ठ २१ मा हिमाल खबर पत्रिकामा प्रकाशित) । अति बहुमूल्य यी खनिज खनिज पदार्थहरु नेपाल हिमालयको दक्षिण भेग पनि हुन सक्छ । यसतर्फ अध्ययन अनुसन्धान नै भएको पाइदैन ।

खाना, पानी, लुगाकपडा झै जीवन निर्वाहका लागि आवश्यक पर्ने धातु तथा अधातु आदि खनिज पदार्थहरु पनि भूमिबाटै प्राप्त हुन्छ । कृषि उपज, वनस्पति, काठ, पानी, सामान्य ढुंगा, माटो आदि वस्तुहरु जमीनको सतहमा सजिलै प्राप्त र उपयोग गर्न सकिन्छ । तर जमीनको गर्भमा रहेका तामा, काँस, फलाम, सुन, चाँदी, सिसा, टिन, जस्ता, थोरियम, ल्याटिनम, युरेनियम आदि धातुहरु पत्ता लगाउन, तिनको उत्खनन तथा उपयोग गर्न निकै दक्षता तथा साधन र शक्तिको आवश्यकता पर्छ । यसैगरी कोइला, पेट्रोलियम पदार्थ, प्राकृतिक ग्याँस, चुनढुंगा, मार्वल, रत्न पत्थर आदि अधातुहरु पनि विशेष अध्ययन, अनुसन्धान, कार्ययोजना, विशिष्ट प्राविधिक ज्ञान, दक्ष जनशक्ति र आधुनिक प्रविधिको उपयोग, विशेष उपकरण तथा सिर्जनात्मक प्रयासबाट मात्र प्राप्त गर्न सकिन्छ । नुन, तामा, फलाम, आल्मुनियम, जस्ता, पेट्रोलियम पदार्थ, खाना पकाउने ग्याँस आदि अत्यावश्यकीय खनिजदेखि स्फटिक, पन्ना, माणिक, रक्तमणी, नीलमणी, हरितमणी आदि बहुमूल्य रत्नपत्थरको उत्खनन तथा प्रशोधन गरेर ठूलो लाभ लिन सकिन्छ । यसका साथै अति बहुमूल्य सुन, युरेनियम, कोरन्डम, थोरियम, हीरा आदि सयकडौँ खनिज पदार्थहरुको अध्ययन, अनुसन्धान, पहिचान, उत्खनन, प्रशोधन तथा प्रशोधित वस्तुहरुको बजारीकरण, यथोचित सदुपयोग एवं समूचित व्यवस्थापन गर्न सकिएमा हाम्रो देशको चमत्कारिक आर्थिक तथा भौतिक उन्नति हुने कुरामा दुईमत हुन सक्दैन ।

दक्ष जनशक्ति नभए पनि स्थानीय आवश्यकता परिपूर्तिका लागि आधा शताब्दी अघि नै नेपालमा नुन, सुन, फलाम, खाना पकाउने ग्याँस, मार्वल, चुनढुंगा तथा बहुमूल्य रत्न पत्थरहरु आदिको अध्ययन, अनुसन्धानका साथै केही हदसम्म उत्खनन, प्रशोधन तथा उपयोग समेत हुने गरेको थियो । समय संगसंगै राज्यले दक्ष जनशक्तिको उत्पादन गरी खनिज सम्पदाको विस्तृत अध्ययन, अनुसन्धान, उत्खनन, प्रशोधन तथा गुणस्तरीय वस्तुहरुको उत्पादनमा जोड दिनुपथ्र्यो । आधारभूत आवश्यकता परिपूर्ति र राष्ट्रको बहुआयामिक क्षेत्रको दीगो विकास गरिनु पथ्र्यो । तर देशको शासन प्रणालीमा अयोग्य, असक्षम, अदुरदर्शी र गैरजिम्मेवार भ्रष्ट नेतृत्वको आधिपत्य बढ्दै जाँदा राष्ट्रको अथाह श्रोत सम्पदाहरुको हिनामिना, दुरुपयोग तथा बेचबिखनले देश झनझन अधोगतिमा चलिरहेको अवस्था छ ।

केही वर्ष अघिसम्म मुस्ताङ्गको नर्सिङ्ग खोलाबाट उत्पादित औषधीयुक्त नुनले केही हदसम्म थाकखोला क्षेत्रको माग धान्ने गरेको थियो भने हाल उक्त नुनखानी बन्द छ । रामेछापको ठोसे र सुर्खेतको धनरासबाट ५ दशक अघि नै उच्च गुणस्तरको फलाम उत्खनन हुने गरेको थियो । उक्त फलामबाट कुटो, कोदालो, हँसिया, खुकुरी आदि औजार बनाएर स्थानीय आवश्यकता परिपूर्ति गरिनुको साथै फलाम पैठारीका लागि विदेशिने धनराशी केही हदसम्म जोगिने गरेको थियो । राज्यको अकर्मण्यताका कारण हाल उक्त उत्खनन कार्य पनि बन्द छ । बझाङ्गको सुनिकोटबाट उत्पादन हुने गरेको सुनखानी पनि राज्यले नै बन्द गराएको अवस्था छ । आधा शताब्दी अघि राजा महेन्द्रको पालामा इन्डियाको बिरला कम्पनीका इन्जिनीयरले पानीको जाँचबाट गणेश हिमाल क्षेत्रमा ठूलो मात्रामा सिसा र जस्ताको खानी रहेको पत्ता लगाएका थिए । तात्कालिन श्री ५ को सरकारको स्वामित्वमासोमदाङ्गको सिसा र जस्ता खानी स्थापना र संचालन भए पनि हाल उक्त खानी बन्द रहेको छ । खानी अध्ययन र स्थापनादेखि हालसम्म पनि त्यस क्षेत्रबाट रुवी आदि बहुमूल्य रत्न पत्थरको इन्डियातर्फ चोरी निकासी भइरहेको केही स्थानीयहरुको भनाइ छ ।

हिमालय क्षेत्रका गुणस्तरीय बहुमूल्य रत्नपत्थरहरु क्रिस्टल क्वार्ज, टुर्मालिन, कायानाइट, एक्वाम्यारिन, हेरम्बराइट, गार्नेट, डेव्युराइट आदिको उत्खनन तथा प्रशोधनको अनुमति लिएर घरेलु तथा साना उद्योग विकास समितिले डोटी, सुर्खेत र धादिङ्गमा प्रशोधन तथा विकास केन्द्र खोलेर काम गर्‍यो । तर केन्द्रले प्रशोधन गरेका वस्तुहरुले स्थानीय बजारमा स्थान नपाएको र राज्यको भ्रष्ट र पछ्यौटे नीतिका कारण अन्तर्राष्ट्रिय बजारसम्म सीधा पहुँच नपाउँदा यसमा गरिएको लगानी जोखिममा परेको छ । यस्ता कच्चा वस्तुहरु अन्तर्राष्ट्रिय बजारमा क्यारेटको हिसाबमा बिक्री गरिरहेका भारतीय व्यापारीहरुले स्थानीय केही व्यक्तिहरुबाट अवैध रुपमा किलोको हिसाबमा कौडीको मूल्यमा किनिरहेको पाइन्छ । तर यस्ता तयारी वस्तुहरु महंगो पर्ने भएकाले ती भारतीय व्यापारीहरुले किन्दैनन् । यस सम्बन्धी राज्यको आधिकारिक निकाय खानी तथा भूगर्भ विभागले राजश्व शुल्क असुलेर अध्ययन तथा उत्खनन अनुमति दिन्छ । तर उत्पादित वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा निकासीको लागि अनुमति दिदैन । स्थानीय बजारमा खासै माग नभएका खनिज पदार्थहरुको उत्खनन गर्न अनुमति दिने तर उत्खनन गरिएका अर्धप्रशोधित ती वस्तुहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पहुँच नदिने हो भने उत्खनन अनुमति विभागले किन दिइरहेको छ π? राज्यको आधिकारिक निकायबाट नै जनताको लगानी जोखिममा पार्ने दुष्कर्म भइरहेको छ । यस्तो गैरजिम्मेवार कार्यले त झन अवैध गतिविधिलाई प्रश्रय दिइरहेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको खानी तथा भूगर्भ विभागको मूल उद्देश्य भौगर्भिक अध्ययन, अनुसन्धान तथा खनिज सम्पदाको प्रबद्र्धन एवं विकास रहेको छ । स्थापना कालदेखि हालसम्मको करीव एक शताब्दीमा देशमा विद्यमान अथाह खनिज सम्पदाको समुचित उपयोग हुने, जनताको जीवनस्तर उकास्ने तथा दैनिक आवश्यकता परिपूर्तिमा सहयोग हुने गरी खनिज सम्पदाको प्रबद्र्धन एवं विकासमा यस विभागले के कति काम गर्‍यो? विश्वका अधिकांश देशहरु खनिज पदार्थको उच्चतम सदुपयोग गरेर समृद्धितर्फ लम्किरहेका छन् । हाम्रो देशका जिम्मेवार निकायका अधिकांश गैरजिम्मेवार प्रशासकहरुले भने देशको समृद्धि हुने उपलब्धिमुलक काममा दक्षताको सदुपयोग गर्ने गरेको पाइदैन । व्यक्तिगत र दलीय राजनीतिक गफगाफमा समय खेर फाल्ने, कार्यालय समयमा अनुत्पादक बैठकहरु गर्ने र सेवाग्राहीहरुलाई अनावश्यक दु:ख दिने गरेको पाइन्छ । केही भौगर्भिक नक्शा बनाउने र भूकम्प मापन सम्बन्धी काम बाहेक यसको उल्लेखनीय उपलब्धी केही देखिदैन । वर्तमान संघीय संरचनासंग तालमेल मिलाउन राष्ट्रिय खनिज नीति २०७४ ल्याइए पनि तीन तहको संघीय संरचनाबीच अधिकार र जिम्मेवारीको द्वन्द्वले यसबाट लछारपाटो लाग्ने देखिदैन ।

नेपालको तराई क्षेत्रमा गरिएको पेट्रोलियम अध्ययन र टेकुको ग्याँस अध्ययन कागजमा मात्र सीमित भयो । छिमेकी राष्ट्र चीनसंगको सहकार्यमा दैलेखमा प्राकृतिक ग्याँस र नवलपरासीको धौवाडीमा फलाम खानी अध्ययनको काम पनि कत्तिको उपलब्धिमुलक हुन्छ हेर्न बाँकी छ । दर्जनौँ खनिज पदार्थको अध्ययन तथा उत्खनन अनुमति वितरण गरिएको भए पनि राष्ट्रको उन्नति प्रगतिमा योगदान हुनेगरी निजी क्षेत्रद्धारा गरिएको सिमेन्टको उत्पादन बाहेक कुनै उपलब्धी हासिल हुन सकेको छैन । नेपालका अधिकांश नदी बेसिनमा सोनाहा आदि जातिले सुन संकलन गरेर जीवन निर्वाह गरिरहेका छन् । नदी बगरमा बालुवा छानेर सामान्य अप्राविधिकहरुले सजिलै प्राप्त गर्न सक्ने सुनको विस्तृत खोज अनुसन्धानमा विभागले तिनै सोनाहाको विशेषज्ञताको उपयोग गर्ने हो कि π विभागले सुनको खानी, परिमाण, अवस्था, उत्खनन् लागत तथा कूल बजार मूल्य आदि पत्ता लगाउनु पर्छ । आर्थिक रुपले फाइदाजनक रहेका खानीहरुबाट सुन उत्खननको कामलाई व्यवस्थित रुपले यथाशीघ्र अगाडी बढाउने हो भने नेपालको चमत्कारिक समृद्धिमा टेवा पुग्नेछ ।

यसैगरी सुर्खेत, रामेछाप, नवलपरासी, ललितपुर आदि क्षेत्रमा रहेका फलामखानीहरु पत्ता लगाई उत्खनन गर्नुपर्छ । फलाम, नुन, खाना पकाउने ग्याँसदेखि पेट्रोलियम पदार्थ र तामा आदि खनिज पदार्थको देशभित्रै उत्पादन र आपूर्ति हुने हो भने यी वस्तुमा विदेशिने खर्बौ धनराशीले देशको कायापलट हुन सक्छ । यसका साथै झिनामसिना विषयहरुले पनि छिमेकी राष्ट्रहरुसंग झुक्नुपर्ने र अनावश्यक दबाब सहनुपर्ने अवस्थाबाट मुक्ति मिल्नेछ ।

खनिज पदार्थमा आधारित वस्तुहरुको गुणस्तरीय उत्पादन

दैनिक साग तरकारी आदि काट्ने हँसिया, चक्कु र खुकुरी, खाना पकाउन र खाना खान प्रयोग हुने भाँडाकुँडा, यात्रा तथा ढुवानीका साधनहरु साइकल, मोटरसाइकल, कार, बस, हवाइजहाज, ट्रक, टिपर, रेल, पानीजहाज आदिमा प्रयोग भएको धातु जमीनकै गर्भबाट प्राप्त हुन्छ । कृषि उत्पादनमा प्रयोग हुने कुटो, कोदालो, ट्रयाक्टर, ह्यारो, कल्टिभेटर, रोलर, रोटेटर, टिलेज, प्लान्टर, हार्भेष्टर, स्प्रेयर आदि कृषिऔजार, विभिन्न किसिमका यन्त्र, मेशिन, विद्युतीय सामग्री तथा उपकरणहरुमा प्रयोग हुने धातुका साथै भवन, पुल, विद्युतगृह आदि निर्माणमा प्रयोग हुने छड पनि जमीनको गर्भबाटै प्राप्त हुन्छ । यसका साथै बुलडोजर, एक्सक्याभेटर, फोर्कलिफ्ट, कम्प्याक्टर, व्याकहोल लोडर, बुम लिफ्ट, डम्प ट्रक आदि निर्माण मेशिन उपकरणहरु, औद्योगिक प्रयोजनका यन्त्र उपकरणहरु आदिमा प्रयोग हुने तामा, फलाम, आल्मुनियम आदि धातुहरु जमीनको गर्भमा रहेका खानीहरुबाट प्राप्त गर्न सकिन्छ । खाना पकाउन प्रयोग हुने एलपि ग्याँस, सवारीसाधनमा प्रयोग हुने पेट्रोलियम पदार्थ, बहुमूल्य गरगहनामा प्रयोग हुने सुन, चाँदी, हिरा, पन्ना, मणी, पत्थर आदि सबै धर्तीकै गर्भबाट प्राप्त गर्न सकिने खनिज पदार्थहरु हुन् ।

खानीहरुमा पाइने विभिन्न खनिज पदार्थहरुबाट आवश्यकीय वस्तुहरुको वृहत उत्पादन गरी देशको आन्तरिक माग परिपूर्ति गर्नुपर्छ । उपरोक्त वस्तुहरुमा विदेशिने निकै ठूलो धनराशी जोगाएर राष्ट्र निर्माणमा उपयोग गर्न सकिन्छ । गुणस्तरीय बहुमूल्य वस्तुहरुको निकासी गरेर निकै ठूलो मात्रामा विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । आवश्यक जनशक्तिको उत्पादन तथा उपयुक्त लगानीमैत्री नीति नियमहरुको निर्माण गरेर राज्यले स्वदेशी विदेशी लगानीकर्तालाई खानी उत्खनन उद्योगहरु तथा खनिज पदार्थमा आधारित वस्तुहरुको उत्पादनशील उद्योगहरुमा लगानी गर्न प्रोत्साहन गर्नुपर्छ ।

लगानीयोग्य वातावरण भएमा यहाँ सयकडौँ राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरु स्थापना हुनेछन् । खानी तथा उत्पादनशील उद्योगहरुमा विभिन्न किसिमका जनशक्तिको जरुरत पर्नेछ । ती उद्योगहरुमा आवश्यकजनशक्तिको मागलाई आन्तरिक रुपले धान्न नसकेर विभिन्न देशबाट आपूर्ति गर्नुपर्ने अवस्था आउनेछ । नेपाल विश्व समुदायमा एक आकर्षक रोजगारदाता देशको रुपमा पनि परिचित हुनेछ । खानी र त्यसमा आधारित वस्तुहरुको उत्पादन तथा बिक्री वितरणले हाम्रो देशको कायापलट हुनुका साथै विश्व अर्थतन्त्रमा पनि प्रभुत्व कायम राख्न सक्छ ।

(लेखक सानो लगानीकर्ता तथा पर्यटन व्यवसायी हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.