बालशिक्षा पढाउने शिक्षिकाहरुलाई पुरस्कारस्वरुप हरेक वर्ष १० हजार रुपैयाँ दिने गरेका छौं – गाउँपालिका अध्यक्ष सिटौला

  २०७८ वैशाख २ गते १८:४३     विकासन्युज

आठराई त्रिवेणी गाउँपालिका पूर्वी नेपालको मेची अञ्चल अन्तर्गत ताप्लेजुङ जिल्लाको दक्षिण भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो । यो गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले फरक विशेषता बोक्न सफल छ भने कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा पनि निक्कै चर्चित छ ।

८८ दशमलव ८३ वर्ग किलोमिटर क्षेत्रफलसम्म फैलिएको यस गाउँपालिकामा १३ हजार ७ सय ८४ जनाको बसोबास रहेको छ । गाउँपालिकाको पूर्वतर्फ याङ्गवारक गाउँपालिका र पाँचथर जिल्ला पश्चिममा मैवाखोला गाउँपालिका, उत्तरमा फुङ्लिङ नगरपालिका एवं दक्षिणमा तेह्रथुम जिल्ला रहेका छन् ।

गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू के–के छन्, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष विश्वनाथ सिटौलासँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् ।

सर्वप्रथम कृषिबाटै शुरु गरौं, गाउँपालिकाले कृषिक्षेत्र तर्फ के–कस्ता काम गरिरहेको छ ?

कृषि विकासका लागि हामीले गाउँपालिकामा धेरै काम गर्दै आएका छौं । हाम्रो गाउँपालिकामा ५ ओटा वडा रहेका छन् भने वडा अनुसारको पकेट क्षेत्र छुट्याएर कृषि विकासको लागि काम गरिरहेका छौं । गाउँपालिकामा अलैँची, कागती, कफी, किवी आदि उत्पादन हुने गरेको छ । वडा नं १ लाई कफी र सुन्तला पकेट क्षेत्र, २ नं. वडालाई सुन्तला, कागती तथा अलैँची पकेट क्षेत्रको रूपमा छुट्याएका छौं । वडा नं ३ लाई कफी, अलैँची तथा सुन्तला पकेट क्षेत्रका रुपमा, ४ नं. वडालाई किवी तथा अलैँची पकेट क्षेत्रका रुपमा छुट्याएका छौं भने वडा नं ५ लाई चाहिँ कफी तथा सुन्तला पकेट क्षेत्रको रूपमा छुट्याएका छौं ।

हामीले यो आर्थिक वर्ष देखि कृषकलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । हामीले सुन्तला, कागती, कफीका बिरुवाहरू पालिकामा उत्पादन गरेर कृषकलाई निःशुल्क वितरण पनि गर्दै आएका छौं । गाउँपालिकाले नै किवीको बिरुवा खरिद गरेर ४ वडाका कृषकलाई वितरण गरेका छौं । आलु उत्पादन गर्ने कृषकलाई पनि हामीले आलुको विउ वितरण गरेका छौं । हामीले किसानको माग अनुसारको बिउ उपलब्ध गराएका छौं । कृषिलाई निर्वाहमुखी मात्र नभएर व्यावसायिक बनाउन पनि किसानहरूलाई आग्रह गरेका छौं ।

गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध रहेका छन् ?

यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । प्रतिशतमै भन्नुपर्दा करिब ८० प्रतिशत मानिसहरू कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । गाउँपालिकामा राम्रो कृषि उत्पादन गर्ने किसानलाई सामान्य पुरस्कारको पनि व्यवस्था मिलाएका छौं । किसानले यदी अर्काको जग्गा कमाएर ३० मुरी धान उत्पादन गर्छन् भने त्यस्ता किसानलाई नगद पुस्कार दिने व्यवस्था गरेका छौं । तर यो व्यवस्था भने १ र ३ नं वडामा मात्र लागु भएको छ ।

गाउँपालिकामा रहेका ठूला आयोजना तथा परियोजनाहरू के–के छन् ?

हाम्रो गाउँपालिकामा धेरै योजनाहरू सडक निर्माणको नै रहेको छ । ठुलो बजेट पनि सडक निर्माणतर्फ नै छुट्टिएको छ । धेरै नागरिकको माग पनि यही विषयमा नै हुने गरेको छ । गाउँपालिकाको कुल बजेटमध्ये ४० प्रतिशत बजेट सडक निर्माणमा रहेको छ । वित्त व्यवस्थापनमा पनि हामीले केही रकम छुट्याएका छौं । यो आर्थिक वर्षमा कोभिड नियन्त्रणको लागि ३० लाख रुपैयाँ बजेट छुट्याएका थियौं ।

गाउँपालिकाले विपन्न वर्गको घरमा खरको छानो हटाई टिनको छानो पनि निःशुल्क रुपमै लगाइदिँदै आएको छ । विगत २ वर्ष देखि यसो गर्न थालिएको हो । अबको २ वर्ष पछि गाउँपालिकामा कसैको पनि घरमा खरको छानु हुने छैन । टिन लगाउने अवस्था भएपछि मात्र गाउँपालिकाले विपन्नको घरमा टिनको छानु लगाइदिने छ । वृहत् खानेपानी योजना १, २ र ३ नं. वडामा लागु भएको छ । गाउँपालिकाले सानासाना खानेपानीको मुहानलाई संरक्षण गरेर नगरिकलाई खानेपानी वितरण गर्नेे लक्ष्य राखेको छ । सिँचाई र कुलोको काम पनि गाउँपालिकामा अघि बढेको छ । १ र २ नं. वडामा तम्मर खोलाको पानी पुर्याउने तयारीमा छौं । यस योजनामा २० लाख रुपैयाँ बजेट छुट्याई डीपीआर गर्ने काम पनि अगाडि बढाएका छौं ।

हामी गाउँपालिकाका सबै वडामा बिजुली बाल्न सफल भएका छौं । सडक सञ्जाल पनि सबै वडामा पुगेको छ । हाल गाउँपालिकाका धेरै सडक कच्चि भएपनि त्यसलाई पिच गर्ने लक्ष्य रहेको छ । गाउँपालिकामा २ ओटा पक्कि वडा कार्यलयहरु रहेका छन् भने ३ ओटा पुराना अथवा कच्चि कार्यलयहरु रहेका छन् ।

शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आइरहेको छ त ?

शैक्षिक विकासको लागि हामीले गाउँपालिकामा धेरै काम गर्दै आएका छौं । शिक्षकहरूलाई हामीले विभिन्न किसिमका तालिमहरू पनि दिँदै आएका छौं । शैक्षिक सुधारका लागि हामीले विशेष जोड दिएका छौं । बालशिक्षा पढाउने शिक्षिकाहरुलाई पुरस्कारस्वरुप वर्षमा १० हजार रुपैयाँ प्रदान गर्ने गरेका छौं ।

गुणस्तरीय शिक्षाकालागि हामीले नियम बनाएर अगाडि बढेका छौं । विद्यालयका भवनहरू निर्माण भएका छन् । उत्कृष्ट छात्रछात्राहरूलाई छात्रवृत्तिको पनि व्यवस्था मिलाएका छौं । उत्कृष्ट शिक्षकहरुलाई पनि पुरस्कारको व्यवस्था मिलाएका छौं । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा विद्यालयका प्रधानाध्यापक तथा समितिसँग लगातार छलफल गरिरहेका हुन्छौं । प्राविधिक शिक्षाको लागि पनि विशेष जोड दिएका छौं ।

हामी यस आर्थिक वर्षको अन्तिम चरणमा आइपुगेका छौं, यस अवधिमा बजेट के कति खर्च भयो ? खर्चअनुसार उपलब्धि प्राप्त भएको छ कि छैन होला ?

अहिलेसम्म गाउँपालिकाको ५० प्रतिशत बजेट खर्च भइसकेको छ । विकास निर्माणको काम पनि भइरहेको छ । केही भुक्तानी हुन बाँकि नै छन् । विकास भएअनुसार खर्च पनि भइरहेको छ । हामीले गाउँपालिकामा बजेट विनियोजन गरेजति यो आर्थिक वर्ष भित्र खर्च हुन्छ होला भन्ने अनुमान गरेका छौं ।

विकास निर्माणको कामहरू प्रभावकारी नै भइरहेको छ । विकास राम्रो भएकाले जनताहरू मसँग खुसी नै छन् जस्तो लाग्छ । विकास निर्माणको काम प्रभावकारी भएर जनताको आवश्यकता पुरा भयो भने त्यो नै मेरो लागि सन्तुष्टि हो ।

तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन होला ?

हाम्रो गाउँपालिकामा खासै ठुला उद्योग छैनन् । यहाँ गरिने प्रमुख पेशा भनेको खेती किसानी नै हो । केही कृषकहरूले भने कुखुरापालन, बाख्रापालनजस्ता कामहरू पनि गरिरहेका छन् । पालिकामा होटल व्यवसाय पनि सञ्चालनमा आएका छन् । स्थानीय नागरिकले सञ्चालन गरेका साना तथा मझौला उद्योगहरु यहाँ केही संख्यामा छन् । ठूलो उद्योग सञ्चालनको लागि तयारी गरिरहेका छौं । औद्योगीक ग्रामको लागि ३० रोपनी जग्गा एकजना व्यक्तिले निःशुल्क उपलब्ध पनि गराउनुभएको छ ।

आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ?

हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । पर्यटन क्षेत्रको पनि हामीले प्रचारप्रसार गरिरहेका छौं । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । गाउँपालिका भित्र धेरै ठुला पर्यटकीय क्षेत्र त छैन तरपनि हामीले प्रत्येक वडालाई पर्यटकीय क्षेत्र भनेर छुट्याएका छौं । वडा नं. ५ मा रहेको माछापोखरी धार्मिक हिसाबले महत्वपुर्ण रहेको छ । यस ठाउँलाई पर्यटकीय क्षेत्रको रूपमा घोषणा गरी केही बजेट पनि विनियोजन गरेका छौं । १ नं वडामा बिगुत पोखरीलाई पनि पर्यटकीय क्षेत्र बनाउनको लागि हामीले मठ मन्दिरको निर्माण गरिरहेका छौं । मठमन्दिरको संरक्षण गर्नेकाम पनि भइरहेको छ । होमस्टेहरू पनि गाउँपालिकामा सञ्चालन भइरहेका छन् भने होमस्टेको पनि उचित व्यवस्थापनतर्फ जोड दिइरहेका छौं । कोरोनाको समय पछि वाह्य पर्यटनको आकर्षण कायमै रहेको छ भने आन्तरिक पर्यटकहरू पनि गाउँपालिकामा छिटपुट रुपमा आउने गरेका छन् ।

स्वास्थ्य क्षेत्रको विकासको लागि कसरी काम गर्दै आइरहनुभएको छ ?

गाउँपालिकाको सबै वडामा स्वास्थ्यचौकीहरू छन् । सबै वडाका स्वास्थ्यचौकीहरुमा आवश्यकतानुसारको औषधीहरु व्यवस्था गरेका छौं । गाउँपालिकामा आवश्यकतानुसार स्वास्थ्य भवनहरू पनि बनाइएका छन् । कोभिड नियन्त्रण अस्पताल निर्माणको पनि काम सुरु भएको छ । स्वास्थ्यकर्मीहरुले नागरिकलाई स्वास्थ्यसम्बन्धी जानकारी पनि दिइरहनुभएको छ । गाउँपालिकामा ल्याबको पनि स्थापना भएको छ । स्वास्थ्यकर्मीहरूसँग बेलाबेलामा छलफल गर्ने र तालिम दिने काम पनि हामीले गरिरहेका छौं । गाउँपालिकामा २ ओटा प्रजनन् केन्द्रहरु पनि रहेका छन् । २ नं. वडामा पनि प्रजनन् केन्द्रको स्थापना गरिरहेका छौं ।

स्वास्थ्य सेवालाई राम्रो बनाउनको लागि केही बजेट पनि छुट्याउँदै आएका छौं । गाउँपालिकामा स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन् । राज्यले दिने औषधी हामीले नागरिकलाई निःशुल्क दिने गरेका छौं । हाम्रो पालिकामा स्वास्थ्यचौकीका भवनहरू कतै बनिसकेका छन् भने कतै बन्ने क्रममा छन् । गाउँपालिकामा रहेका सबै नागरिकहरूको पहुँच प्राथमिक स्वास्थ्य सेवासम्म पुगेको छ ।

खेलकुद विकासका लागि गाउँपालिकाले कस्ता आयोजनाहरू बनाएको छ ?

खेलकुद विकासको लागि खेल मैदानको व्यवस्था गरेका छौं । खेलाडीहरूलाई प्रशिक्षण दिने काम पनि भएको छ । खेलकुदको लागि हामीले बजेट पनि छुट्याउँदै आएका छौं । गाउँपालिकामा खेलकुद समितिको पनि गठन गरेका छौं । खेलकुदका औपचारिक कार्यक्रम कसरी अगाडि बढाउने भनेर छलफल गरिरहेका हुन्छौं ।

गाउँपालिकाको सबै वडामा युवा क्लबहरू गठन भएका छन् । खेलकुद समिति र गाउँपालिकामा भएका युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरू आयोजना हुने गरेका छन् । प्रायः गरेर बक्सिङ्ग, भलिबल, टेबलटेनिस, कराँते, फुटवल, क्रिकेट लगायतका खेलहरू गाउँपालिकामा आयोजना गर्ने गरिएको छ । गाउँपालिकाका धेरै युवाहरू खेलकुदतर्फ उत्सुक छन् । राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता पनि गाउँपालिकामा आयोजना हुने गरेको छ ।

गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

गाउँपालिकाका धेरै युवाहरू कृषि पेशामा नै लागेका छन् । युवाहरूको सिप विकासको लागि तालिम पनि दिँदै आएका छौं । युवाहरूले सिप विकास गरे भने पालिका भित्रनै रोजगारी पाउन सक्छन् । पशुपालनको लागि व्यक्तिगत पशु फार्महरु पनि गाउँपालिकामा दर्ता भएका छन् । काम गर्न चाहने युवाहरू खासै बेरोजगार हुनुपरेको छैन । कृषि पेशामा आवद्ध हुने युवाहरूलाई सामान्य अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । काम गर्न चाहने युवाहरूका लागि धेरै ठाउँमा अवसर छ । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं ।

गाउँपालिकामा सर्वसाधारणहरु के कस्ता समस्या लिएर आउने गरेका छन् ?

यहाँका नगरिकहरु प्रायःजसो खानेपानी, बाटोघाटो, बेरोजगारीको समस्या, घरनक्सा पास, राहत सहयोग, न्याय निरूपण, पशुपन्छीको रोग, कृषिसम्बन्धी लगायतका समस्याहरू लिएर आउने गरेका छन् । तर पनि यी सबै समस्याको समाधान गरेर मात्र हामी अगाडि बढिरहेका छौं ।

अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ?

अब हाम्रो कार्याकाल धेरै रहेको छैन । हामीले घोषणा पत्र र निर्वाचित हुँदा बोलेको कुराको काम पनि लगभग सकिसकेका छौं । हामीले पालिकास्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा हामीले विशेष जोड दिएका छौं । हामीले दिर्घकालिन योजनाहरूको सुरुवात गरेका छौं । कतिपय योजनाको भने हामी अन्तिम चरणमा पुगिसकेका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको कुरामा पनि हामी ध्यान दिइरहेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.