अर्थले बजेट निर्माणका लागि अर्थविदहरुसँगको परामर्श थाल्यो, सातै प्रदेशका अर्थमन्त्रीसँग पनि छलफल हुँदै

  २०७७ चैत २७ गते १६:१३     विकासन्युज

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि निर्माण हुने बजेटका लागि अर्थविदहरुसँग परामर्श गर्न थालेको छ । आगामी आर्थिक वर्षको बजेट निर्माणको कार्य तालिका अनुसार नै अर्थ मन्त्रालयले अर्थ विदहरुसँग बजेटको लागि परामर्श गर्न थालेको बताएको हो ।

आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट तर्जुमा कार्यकातिका अनुसार अर्थ मन्त्रालयले बजेटका लागि सुझाव संकलन गर्न अर्थविदहरुसँगै पूर्व अर्थमन्त्री, पूर्व गभर्नर, पूर्व अर्थ सचिव राजनीतिक दलका प्रतिनिधिहरुसँग परामर्श सुरु गरेको हो ।

अर्थमन्त्रालयका प्रवक्ता सुमन दाहालले बजेट तर्जुमा कार्यतालिका अनुसार बजेट निर्माणका लागि सुझाव संकलनको काम भइरहेको बताए । उनका अनुसार बजेट निर्माणका लागि विभिन्न अर्थशास्त्री तथा अर्थविदहरुको सुझाव संकलन गर्ने समय चैत २६ गतेदेखि बैशाख २५ गतेसम्म तोकिएको छ ।

यो सँगै अर्थमन्त्रालयले चैत २१ गतेदेखि सातै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रालयसँग बसेर बजेटका लागि छलफल पनि गरिरेहेको छ ।

प्रवक्ता दाहालले अर्थ मन्त्रालयले हालसम्म १७ वटा मन्त्रालयसँग बजेटका लागि छलफल तथा बजेट सम्बन्धि सुझावहरु लिइसकेको छ । यो सँगै बजेट निर्माणका लागि बनाइएका विभिन्न समिति उप समितिहरुले विभिन्न समयमा विभिन्न कार्यक्रमहरु राखेर बजेटको लागि सुझाव संकलन गरिरहेको बताए । उनका अनुसार बजेट तयारी सम्बन्धी छलफललाई तिव्रता दिएको छ ।

बजेट तर्जुमा कार्यतालिकाका अनुसार २०७८ बैशाख २ गतेदेखि २५ गतेसम्म मन्त्रालयहरुसँग बजेट कार्यक्रम र खर्च शिर्षकगत छलफल, बैशाख २५ गतेभित्रै नै विनियोजन विधेयकका सिद्धान्तहरु र प्राथमिकताको मस्यौदा तयार गर्ने, बैशाख २० गते विनियोजन विधेयकका सिद्धान्तहरु र प्राथमिकताका संघीय संसदका दुबै सदनमा पेश गर्ने, बैशाख २५ गतेसम्म प्राविधिक सहायता तथा अन्य गैर सहकारी संस्थामार्फत परिचालन हुने सहायता यकिन गर्ने लगायतका कार्यक्रमहरुको कार्यतालिका रहेको छ ।

अर्थमन्त्रालयले विभिन्न समयमा खर्च गर्न सकिने र कार्यान्वयन हुन सक्ने कार्यक्रम तथा आयोजनजाहरु मात्रै बजेटमा प्रस्ताव गर्न आग्रह गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.