सात निर्माण कम्पनीमाथि कारवाही, समयमा स्पष्टीकरण नदिए कालोसूचीमा राखिने

  २०७७ चैत २० गते १६:०७     विकासन्युज

काठमाडाैं । सडक डिभिजन कार्यालय हेटौँडाले सम्झौताबमोजिम निर्माण सम्पन्न नगर्ने तथा सम्पर्कमा नआउने सात निर्माण कम्पनीमाथि कारवाही थालेको छ ।

कार्यालयका सूचना अधिकारी लोमस उपाध्यायका अनुसार पटकपटक लिखित र मौखिकरुपमा ताकेता गर्दासमेत सम्पर्कमा नआएपछि ती सात वटा निर्माण कम्पनीसगँको ठेक्का सम्झौतासमेत तोडेर आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको हो ।

उनका अनुसार आशिया कन्स्ट्रक्सन, सौरभा कन्स्ट्रक्सन, सरस्वती निर्माण सेवा, सोनु कन्स्ट्रक्सन, नन्दनी कन्स्ट्रक्सन, जिपिवी कन्स्ट्रक्सन र दामुचन्द्रमाला कन्स्ट्रक्सनविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाईएका छ । ती कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको छ भने कालोसूचीमा राख्ने प्रक्रिया समेत अगाडि बढाइएको छ ।

कार्यालयले गत असोजमा ती कम्पनीसँगको सम्झौता तोडिएको हो । एघार वर्ष अगाडि विभिन्न सडक निर्माण र मर्मत ठेक्काको सम्झौता गरेका ती निर्माण कम्पनीलाई निर्माण सम्पन्न गर्न तोकता गरिए पनि लामो समयदेखि सम्पर्कमा नआएपछि कारवाही गरिएको कार्यालयले जनाएको छ ।

ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरीद अनुगमन कार्यालय काठमाडौंमा सिफारिस गरिएको छ । सार्वजनिक खरिद अनुगन कार्यालयले ३० दिनभित्र स्पष्टीकरण पेश गर्न ती कम्पनीलाई निर्देशन दिएको छ । तोकिएको समयमा स्पष्टीकरण नदिएमा कालोसूचीमा राखिने छ ।

बारा, पर्सा र मकवानपुरमा कार्यक्षेत्र रहेको सो सडक डिभिजन कार्यालयले चालू आर्थिक वर्षमा विभिन्न स्थानमा २० वटा पुल र पक्की सडक निर्माण गरिरहेको प्रमुख खड्गलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार पुल र सडक निर्माणको लागत करीब ४० करोड रुपैयाँ रहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.