कनेक्ट आईपीएसमा एक महिनामै साढे ३ अर्बले बढ्यो कारोबार, क्यूआर कोड प्रयोग गर्ने पनि बढ्दै

  २०७७ चैत ४ गते १६:१०     विकासन्युज

काठमाडौं । पछिल्लो समय अनलाइनको सहजता र प्रविधिको प्रयोगले नगदरहित कारोबार गर्नेको संख्यामा बृद्धि हुन थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ७ महिनाको तथ्यांक अनुसार इन्टरनेट तथा मोबाइल बैंकिङसहितका प्रविधिको प्रयोग गर्नेको संख्यामा बृद्धि भएको पाइएको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांक अनुसार गत महिनाको तुलनामा कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान र मोबाइल वालेट मार्फत हुने कारोबारमा बृद्धि भएको हो । उक्त प्रविधिको प्रयोग गरी गत महिनाको तुलनामा माघ महिनामा मात्र दश अर्ब बढीको कारोबार भएको छ ।

उक्त प्रविधिको प्रयोग गरी पुस महिनामा १ खर्ब ५३ अर्ब १७ करोड बढीको कारोबार भएकोमा माघ महिनामा एक खर्ब ६३ अर्ब ८७ करोड बढीका कारोबार भएको हो ।

बैंकको तथ्यांक अनुसार माघको एक महिनामा मात्र कनेक्ट आईपीएस मार्फत १ खर्ब ४ अर्ब ३९ करोडभन्दा बढीको कारोबार भएको छ । जुन गत पुसको तुलनामा साढे ३ अर्बले बढी हो । पुस महिनामा १ खर्ब ७७ करोड बराबरको कारोबार भएको थियो । यो अबधिमा १५ लाख ४५ हजार पटक कनेक्ट आईपीएसको प्रयोग भएको छ ।

माघ महिनामा मोबाइल बैकिङ मार्फत ३८ अर्ब ५९ करोड ७० लाख बढीको कारोबार भएको छ । गत पुस महिनामा ३३ अर्ब १५ करोड ३ लाख बढीको कारोबार भएको छ । माघ महिनामा मोबाइल बैंकिङमार्फत ९६ लाख ७२ हजार ४७८ पटक कारोबार भएको छ ।

यसैगरी, माघ महिनामा इन्टरनेट बैंकिङमार्फत ९ अर्ब २२ करोड ७० लाख बढीको कारोबार भएको छ । गत पुस महिनामा इन्टरनेट बैंकिङमार्फत ८ अर्ब ५० करोड ३० लाख बढीको कारोबार भएको थियो । माघ महिनामा ३१ हजार ४८२ पटक कारोबार भएको छ । पुस महिनाको तुलनामा माघमा वालेट मार्फत हुने कारोबार रकममा बृद्धि भएको छ ।

वालेट मार्फत पुस महिनामा ९ अर्ब ६५ करोड ६० लाख बराबरको कारोबार भएकोमा उक्त रकममा बृद्धि भई माघमा ९ अर्ब ९४ करोड ८० लाख बराबरको कारोबार भएको छ । कारोबार रकमसगैँ कारोबार पटकमा समेत बृद्धि भएको छ । एक महिनामा एक करोड ५१ लाख ६ हजार पटक कारोबार भएको छ ।

यसैगरी गत पुस महिनामा अनलाइन (इ–कमर्श) बाट ८४ करोड ३० लाख कारोबार भएकोमा माघमा उक्त रकममा बृद्धि भई ९३ करोड २० लाख बराबरको कारोबार भएको छ ।

बढ्यो क्यूआरमार्फत हुने कारोबार

कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेट मार्फत हुने कारोबार रकमसगैँ क्यूआरमार्फत हुने कारोबारको रकममा समेत बृद्धि भएको छ ।

गत पुस महिनाको तुलनामा माघ महिनामा ४६ करोड ७० लाख बढीको कारोबार भएको छ । गत पुस महिनामा १ अर्ब २४ करोेड ५० लाख बराबरको कारोबार भएकोेमा माघ महिनामा १ अर्ब ७१ करोड २० लाख बराबरको कारोबार भएको हो । गत पुस महिनामा ३ लाख ७२ हजार १ सय ७६ पटक कारोबार भएकोमा माघ महिनामा ५ लाख ३५ हजार ७९० पटक कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.