काठमाडाैं महानगरमा कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान स्थगित

  २०७७ चैत ४ गते १२:१०     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरले गत फागुन २३ गतेबाट सुरु गरेको कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान स्थगित गरेको छ । महानगरले अर्काे सूचना जारी नभएसम्मका लागि भन्दै मंगलबारबाट ओप अभियान स्थगित भएको जनाएको हो ।

महानगरले १४ वटा खोप केन्द्रबाट यसअबधिमा ४८ हजार ६८ जनालाई खोप लगाईएको जनाएको छ । दोस्रो चरण अन्तरगत ६५ वर्ष उमेर समूहभन्दा माथिका जेष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गरिएको महानगर अन्तर्गतकाे सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अर्को सूचना प्राप्त नभएसम्मका लागि खोप अभियान स्थगित गरिएको स्वास्थ्य नियमन विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार १४ खोप केन्द्रबाट २५ हजार ३ सय २५ जना पुरुष र २२ हजार ७ सय ४३ जना महिलाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

विभागको तथ्यांक अनुसार सबैभन्दा बढी सिभिल हस्पिटलबाट ६ हजार ७ सय १७ जना र ओम अस्पताल एण्ड रिसर्च सेन्टर चावहिलबाट ३ हजार ९ सय ४८ जनाले खोप लगाएका हुन् । यसैगरी, वीर अस्पतालबाट ४ हजार ३ सय ७१, टिचिङ अस्पतालबाट ३ हजार ८ सय ४३, नेपाल प्रहरी अस्पतालबाट ३ हजार ७ सय २०, हिमाल अस्पताल नक्सालबाट ३ हजार ७ सय ९, टेकु अस्पतालबाट ३ हजार २ सय ६९, स्तुपा अस्पताल बौद्धबाट ३ हजार २ सय २ र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट ३ हजार ८३ जनाले खोप लगाइसकेका छन् ।

जनमैत्री अस्पतालबाट २ हजार ४ सय ४८ र केएमसी अस्पताल सिनामंगलमा २ हजार ६ सय १० जनाले खोप लगाए । छत्रपाटी निशुल्क चिकित्सालयमा २ हजार ८ सय ४२, प्रसुति गृह थापाथलीबाट २ हजार ९ सय ९९ ले खोप लगाए । सबै भन्दा कम मदरल्याण्ड अस्पतालमा १ हजार २ सय ६७ ले खोप लगाएका छन् ।

महानगरपालिकाले खोप केन्द्रमा बस्नका लागि कुर्सी, तातो र चिसो पानी, चिया, कुकिज, फलफुल र टेण्टको व्यवस्था गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.