जाजरकोटकाे प्रत्येक पालिकामा नमूना सामुदायिक विद्यालय

  २०७७ फागुन २९ गते १४:३०     विकासन्युज

जाजरकोट । सामाजिक विकास कार्यालयले सातै स्थानीय तहमा नमूना विद्यालय निर्माण गरेको छ । प्रतिविद्यालय २० देखि ५० लाखसम्मको लगानीमा नमूना विद्यालय निर्माण गरेको कार्यालय प्रमुख धनबहादुर विष्टले जानकारी दिए ।

भौतिक पूर्वाधार नहुँदा समस्य भएका विद्यालय नयाँ भवन निर्माणसँगै खुशी छाएको छ । उहाँका अनुसार नलगाड नगरपालिकाको वीरेन्द्र हिमालय माध्यमिक विद्यालय तल्लु, वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालय लिम्सा, बारेकोट, भेरी नगरपालिकाको दीपेन्द्र माध्यमिक विद्यालय कालाभुर, लक्ष्मी प्राप्ति मावि खुर्पा कुशेमा नयाँ आधुनिक भवन निर्माण भएका छन् ।

त्यस्तै छेडागाड नगरपालिका–४ मा रामोदय मावि जेवा, जुनिचाँदे गाउँपलिकामा महेन्द्र मावि कोताङ, शिवालय गाउँपालिकामा सरस्वती मावि सीमा र भेरीकै त्रिभुवन मावि खलङ्गामा नयाँ भवन निर्माण गरिएका हुन् । त्यस्तै रु २० लाखमा भेरी नगरपालिकाभित्र रामजनकी प्रावि इउरी, बाल प्रावि कुस्तरामा आधुनिक भवन निर्माण गरिएको छ ।

त्यस्तैगरी कालिका माध्यमिक विद्यालय छेडागाड, कालिका मावि सेडाखरेमा समेत सुविधायुक्त भवन निर्माण गरिएको कार्यालय प्रमुख विष्टले जानकारी दिए । त्यस्तै २० लाखमा जनता प्रावि थानवाडा, बारेकोट– ३ मुलसामस्थित दीपेन्द्र मावि र नलगाड नगरपालिकामा जुनी बालसंरक्षण माविका भवन निर्माण गरिएका छन् ।

विद्यालय व्यवस्थापन समितिको सक्रियतामा विद्यालय भवन निर्माण भएका हुन् । भवन निर्माणसँगै विद्यार्थी रमाएर बस्न पाएका छन् । नवनिर्मित भवनको प्रदेशसभा सदस्य गणेसप्रसाद सिंह, प्रदेश योजना आयोगको टोलीलेसमेत अनुगमन, निरीक्षण गरी गुणस्तर राम्रो भएको बताएको छ ।

यो वर्षमा नलगाड नगरपालिकाको सिर्के, सिर्के, भेरी नगरपालिकाको त्रिवेणी मावि रिम्ना, छेडागाडको नारायणी मावि कार्कीगाउँ, ज्ञानकुञ्ज क्याम्पस दशेरामा निर्माण कार्य जारी छ । आवश्यकता, विद्यार्थीको चापका आधारमा विद्यालय भवन निर्माण गरिएको प्रमुख विष्टले जानकारी दिए । जाजरकोटमा विद्यालय भवनको अवस्था कमजोर रहेको भन्दै उनले थप विद्यालय भवन निर्माण जारी रहेको बताए ।

त्यस्तै स्थानीय तहले पनि विद्यालय निर्माण कार्य जारी राखेका छन् । विद्यार्थीलाई खेल मैदानको समस्य भएको ठाउँमा खेल मैदान, विद्यालयमा घेराबारको कामसमेत भएको बताएको छ । प्रदेश सरकारको मतहतमा रहेको सामाजिक विकास कार्यालयले संरचना निर्माण तथा गुणस्तरमा ध्यान दिएको बताएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.