सफ्टवेयर इन्जिनियरदेखि सीईओसम्म, आइटीमा अब्बल मोनाको कथा

  २०७७ फागुन २४ गते १२:४५     नरेन्द्र रौले

काठमाडौं । आइटीमा महिलाहरुको संख्या कमै छ । उच्च पदमा पुग्नेको संख्या त अझ कम छ । त्यही थोरै संख्याभित्र पर्छिन्, चावहिलकी मोना न्याछ्यों । आइटी क्षेत्रमा मोना न्याछ्यों स्थापित नाम हो । खासगरी प्रोडक्ट म्यानेजमेन्ट, साइबर सेक्युरिटी र सफ्टवेयर डेभ्लप्मेन्टमा उनको विज्ञता छ ।

इन्टेली सफ्ट नेपालकी निर्देशक हुन्, न्याछ्यों । ५ जना पार्टनर मिलेर ६ सुरु गरेको सुरु गरेको इन्टेली सफ्टले आइटी सम्बन्धी सबै काम गर्छ । उनको मातहतमा बीस जना भन्दा बढीले काम गर्छन् । नयाँ बानेश्वरमा कार्यालय रहेको यो कम्पनीले आइटी सम्बन्धी सबै काम गर्छ । इन्टेली सफ्टसँगै न्याछ्योंले मोनल टेक कम्पनी चलाइरहेकी छिन् । कोभिड १९ को महामारीपछि घरबाटै काम गर्न सिकायो । मोनल टेकमा केहीलाई रोजगारी दिएर उनले घरबाटै काम गर्न प्रोत्साहित गरिरहेकी छिन् ।

आइटीमा रमाइरहेकी न्याछ्योंले यसअघि विभिन्न कम्पनीहरुमा काम गरिन् । पहिलो पटक सन् २००६ मा डिटुहकाइ कम्पनीमा उनले काम गरिन् । सफ्ट्वेयर इन्जिनियरका रुपमा यो कम्पनीमा जोडिएकी उनी पछि सिनियर सफ्टवेयरको पदमा समेत पुगिन् । पहिलो तलब थियो ? उनले ठ्याक्कै खुलाउन चाहिनन् । तर, डलरमै तलव थापेको स्वीकारिन् । साढे ५ वर्ष यस कम्पनीमा काम गर्दा उनले राम्रै नेटवर्क बनाइन् ।

न्याछ्योंले काम गरेको दोस्रो कम्पनी हो, लगप्वाइन्ट । इन्जिनियर म्यानेजरका रुपमा उनले यस कम्पनीमा काम सुरु गरेकी थिइन् । साढे ९ वर्ष यो कम्पनीमा यति मिहिनेत गरिन् कि पछि सीईओ बन्न सफल भइन् । ‘त्यो बेला त निजी जीवन भन्ने नै थिएन ।’ न्याछ्योंले सम्झिइन्, ‘बिहान ८ बजे अफिस गएपछि एकै पटक १० बजे फर्किनुपथ्र्यो ।’ विदेशी प्रोजेक्टहरु पर्याप्त आइरहन्थे । कर्मचारी राख्ने, प्रोजेक्ट म्यानेज गर्ने जिम्मा उनकै थियो । उनी कम्पनी प्रवेश गर्दा १५ जना स्टाफ थिए । पछि कम्पनीले स्टाफको संख्या १ सय ५० जना पुर्‍यायो । सानो कम्पनी सबैको मिहिनेतले बृहत रुप लिदै गयो । लगप्वाइन्टले आफूलाई सन्तुष्टि र पहिचान दिएको उनी बताउँछिन् । स्वीडिस सरकारबाट कमन क्राइटेरिया पाउने यो एक मात्र कम्पनी हो । सेक्युरिटी प्रोडक्टमा थ्रि प्लस पाउने पनि नेपालकै एक मात्र कम्पनी भएको उनले बताइन् ।

न्याछ्योंको परिवारले उनलाई एमबिबिएस पढाउने चाहेको थियो । तर, उनको रहर आइटीमै थियो । उनी प्रविधिमा विशेष रुचि राख्थिन् । कम्प्युटर इन्जिनियर बन्ने उनको चाहना थियो । सन् २००६ मा पोखरा युनिभर्सिटीबाट इलोक्ट्रोनिक्स एण्ड कम्प्युनिकेसन्स (बि.इ.) उत्तिर्ण गरिन् । डिन लिस्ट मेरिट् स्टुडेन्ट हुन् उनी । कलेजमा छात्रबृत्तिमै पढिन् । घर, परिवारबाट एकदमै राम्रो साथ पाएर नै यो स्थान सम्म पुगेको उनले बताइन् ।

न्याछ्योंले सन् २०१८ मा वुमन इन् आइटी अवार्ड हात पारिन् । यस्तै अमेरिकाको सिलिकन भ्यालीमा अमेरिकन संस्थाले आइटीमा एसियाका महिलाको सूचीमा उनको नामाकरण गरेको थियो । सिंगापुरमा सन् २०१९ मा पनि आइटी क्षेत्रकै सम्मान प्रदान गरेको थियो ।

बिभिन्न कम्पनीहरुमा अनुभव बटुलेपछि यतिखेर न्याछ्योंले आफ्नै कम्पनी हाँकिरहेकी छिन् । ‘नयाँ कम्पनी स्थापित गर्न एकदम गार्‍हो हुँदो रहेछ ।’ उनले भनिन् ‘सुरुमा काम पाउन, ग्राहक पाउँन समस्या हुन्छ ।’ नेपाली र विदेशी दुबै प्रोजेक्टहरु वेव डेभ्लप्मेन्ट, एप्लिकेशन डेभ्लप्मेन्ट, प्रोडक्ट डेभ्लप्मेन्टका क्षेत्रमा उनको कम्पनीले काम गरिरहेको छ । युरोप, अमेरिका लगायतका देशमा आइटीका प्रोजेक्टहरु महंगो भएकाले सुरुमा नेपाल, भारतमा बढी कामका लागि अफर आउँथे । अहिले भने त्यो चलनमा परिवर्तन आएको न्याछ्यों बताउँछिन् । अचेल नेपालका कम्पनीहरुले पनि राम्रो सेवा दिन थालेको उनको अनुभव छ । नेपाल बाहिरबाट कामका लागि अफर आउँदा नगएका बरु स्वदेशमै केही इच्छा भएको उनले सुनाइन् ।

नेपालमा आईटीका क्षेत्रमा पहिला भन्दा राम्रो अवस्था भएको न्याछ्यों बताउँछिन् । लगप्वाइन्ट कम्पनीमा काम गर्दा उनी एक्लै महिला थिईन् । ‘अहिले तल्लो तहमा संख्या बढे पनि माथिल्लो पदमा महिलाको संख्या अझै न्युन छ ।’ उनी भन्छिन् । आइटीमा कमाई एकदमै राम्रो भएको उनको अनुभव छ । सुरुदेखि अहिलेसम्म उनले डलरमै तलब थापिरहेको स्वीकारिन् । आफूमा सीप भए घरमै बसेर काम गर्न सकिने, राम्रै आम्दानी गर्न सकिने उनी बताउँछिन् । सामान्यत सफ्टवेयर डेभ्लप्मेन्टले नेपालमा १ लाखदेखि तीन लाख रुपैयाँ कमाई गर्ने गरेको उनी बताउँछिन् । नयाँहरुलाई पनि जीवन धान्न गार्‍हो नभएको उनी बताउँछिन् ।

कामका सिलसिलामा कतिपय पुरुषहरुले महिलाको क्षमतामा विश्वास नगर्ने मानसिकता रहेको उनले बताइन् । महिलाहरुले पनि आइटीको काम सक्छन् र ? भन्ने प्रश्न गर्ने गरेको उनी बताउँछिन् । तर, आफूले भने तीतो अनुभव नभोगेको बताइन् । नेपालका ग्रामिण क्षेत्रबाट आईटी क्षेत्रमा महिलाको उपस्थिीति छैन । त्यसो हुनुमा पारिवारिक कारण समस्या रहेको उनको ठम्याई छ । अर्को कुरा अवसर कहाँ छ, त्यो थाहा नपाएर पनि यस्तो अवस्था आएको उनी बताउँछिन् । करिअर बनाउने, पढ्ने, विवाह गर्ने काम एकै पटक हँुदा झमेलाले महिलाहरु अगाडी बढ्न गार्‍हो भएको उनको ठम्याइ छ ।

‘म त लक्की भएँ ।’ उनले सुनाइन् ‘बुझ्ने परिवार पाइयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.