बैदेशिक रोजगारबाट फर्केको युवाले व्यवसाय गर्न चाहेमा सिँचाई, बिजुली अनि सडकको व्यवस्था गरिदिन्छौं – अध्यक्ष पौडेल

  २०७७ फागुन १६ गते २०:०८     विकासन्युज

नेपालको गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा जिल्लामा पर्ने ‘आँधिखोला गाउँपालिका’ कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा चर्चित त छ नै ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं प्राकृतिकरुपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ ।

पोखरा–स्याङ्जा सडकको नागडाँडाबाट करीव साढे ७ किलोमिटरको दुरीमा अवस्थित यस गाउँपालिकामा ६ ओटा वडा रहेका छन् । यस गाउँपालिकाको सिमाना पूर्वतर्फ पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिका, पश्चिममा अर्जुनचौपरी गाउँपालिका, पर्वत जिल्लाको फलेबास नगरपालिका र कुश्मा नगरपालिका, त्यसैगरी उत्तरमा फेदीखोला गाउँपालिका, पर्वत जिल्लाको कुश्मा नगरपालिका र कास्की जिल्लाको पोखरा महानगरपालिका सम्म फैलिएको छ भने दक्षिणमा चाहिँ अर्जुनचौपारी गाउँपालिका र पुतलीबजार नगरपालिकासम्म फैलिएको छ ।

जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भैसकेपछि गाउँपालिकामा कस्ता खाले परिर्वतन आए, गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के के छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेलिरहेको छ भन्नेलगायतका विषयमा केन्द्रीत रहँदै सो गाउँपालिकाका अध्यक्ष सुधिर कुमार पौडेलसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुुत छ उक्त कुराकानीको अंश ।

सर्वप्रथम कृषिबाटै सुरु गरौं, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ?

धेरै काम भइरहेको छ । हाम्रो गाउँपालिका कृषिमै आत्मनिर्भर बन्दै गएको छ । मल वितरण कार्यक्रम सञ्चालनमा छ । कृषिमा अनुदान देखि लिएर तरकारीका विउ वितरण कार्यक्रम पनि गाउँपालिकामा सञ्चालन हुने गरेको छ । यसका साथै व्यवसायीक कृषि प्रणालिमा हामीले विशेष जोड पनि दिँदै आएका छौं ।

किसानले उत्पादन गरेको तरकारीलाई बजारीकरण गर्ने काम गरेका छौं । पकेट क्षेत्रहरु पनि छुट्याएका छौं । फलफुलको विरुवाहरु कृषकलाई वितरण गरेका छौं । तरकारीका विउ र फलफुलका विउ हामीले ५० प्रतिशत अनुदानमा कृषकलाई उपलब्ध गराएका छौं । बाख्रा पालन, माछा पालन, फलफुल, तरकारी, धान, कोदो, काउली, गोलभेडा, बोडि लगायतका खेति गाउँपालिका भित्र हुने गरेको छ । हामीले माटोको परिक्षण गरेर तरकारीको विउ लगाउने काम पनि गरेका छौं । कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर पनि वितरण गर्दै आइरहेका छौं ।

गाउँपालिकामा कति नागरिकहरु कृषि पेशामा आवद्ध रहेका होलान् ?

हाम्रो गाउँपालिकाको धेरै भुभाग ग्रामिण क्षेत्र रहेको छ । गाउँपालिका भित्रका अधिकांश नागरिकहरु कृषि पेशामा नै आवद्ध रहेका छन् । हाम्रो गाउँपालिकाको मुख्य पेशा भनेको नै खेति किसानी हो । हामीले राम्रो कृषि उत्पादन गर्ने किसानलाई पुरस्कारको व्यवस्था मिलाएका छौं । राम्रो कृषि उत्पादन गर्ने कृषकलाई वर्षमा ५० देखि ६० हजार रुपैयाँसम्म पुरस्कार दिने गरेका छौं ।

गाउँपालिकामा ठुला योजना तथा परियोजनाहरु के–के छन् त ?

गाउँपालिकाकै ठुलो योजनाको रुपमा सडक निर्माणको कामलाई लिन सकिन्छ । ११ कारोड रुपैयाँ बराबरको बजेटमा हामीले सडक निर्माणको काम गरिरहेका छौं । ‘एक घर एक धारा’ को अभियान चलाएका छौं । गाउँपालिका भित्रका धेरै घरमा खानेपानी पुग्न लागेको छ । सिँचाई सम्बन्धि कामहरु भइरहेको छ । पूर्वाधारको विकासमा पनि हामीले जोड दिएका छौं । गाउँपालिकामा पुल निर्माण सम्बन्धि काम पनि भइरहेको छ । गाउँपालिकाका सम्पूर्ण वडामा सडक अनि बिजुली पुर्याउनको लागि हामी कम्मर कसेर लागिपरेकाछौं । यसका साथै अस्पताल र विद्यालय भवनहरु चाहिँ कतै निर्माण हुने क्रममा छन् भने कतै चाहिँ निर्माण भइसकेको छ ।

तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन हो ?

गाउँपालिकामा स्थानीय नागरिकले सञ्चालन गरेका साना तथा मझौला उद्योगहरु मात्र छन् । कृषि उद्योग धेरै संख्यामा रहेका छन् । कृषकहरुले कुखुरा पाल्ने, भैँसी पाल्ने लगायतका काम पनि गर्दै आएका छन् ।

तपाईं निर्वाचित भइसकेपछि गाउँपालिकामा कस्ता खाले परिर्वतन आएका छन् ?

पहिलाको तुलानमा त अहिले धेरै परिवर्तन आइसकेको छ । अहिले गाउँपालिका भित्र सडकको विकास भएको छ । केही सडक पिच पनि भएका छन् । खानेपानीको राम्रो व्यवस्था हुन थालेको छ । सबै वडामा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना भएको छ । पर्यटन विकास तर्फ पनि हामीले जोड दिएका छौं । विद्यालय भवन निर्माण भएका छन् भने गुणस्तरिय शिक्षा लागि पनि हामीले विशेष ध्यान दिइरहेका छौं । विकास निर्माणको काम अगाडि बढाई रहेका छौं ।

तपाईंले आफ्नो पालिकामा ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने कुन उत्पादनलाई जोड दिनुहुन्छ ?

‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनु पर्याे भने म कृषि र पशुपालनलाई नै जोड दिन्छु । गाउँपालिकामा धेरै मानिसहरु कृषि पेशामा आवद्ध रहेका छन् त्यसैले म कृषि र पशुपालनलाई नै जोड दिन्छु ।

गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

यहाँका धेरैजसो युवा कृषि पेशामा आवद्ध छन् । कृषि पेशामा आधारित भएर युवाहरु स्वरोजगार बनि रहेका छन् । केही युवालाई विकास निर्माणको काममा पनि लगाउँदै आएका छौं । बैदेशिक रोजगारबाट फर्केका युवाहरुले यदी कुनै व्यवसाय गर्न चाहन्छन् भने सिँचाई, बिजुली, सडकको व्यवस्था गरिदिन्छौं ।

स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ?

हाम्रो प्रदेश सरकारसँग सामान्य समन्वय भई रहेको छ । प्रदेशको कार्यक्रमहरु प्रदेशकौ कर्मचारीहरुले चलाएका छन् भने हाम्रो स्थानीय तह कर्यक्रमहरु हामीले चलाएका छौं । प्रदेश सरकारले गाउँपालिकाको विकास निर्माणको काममा पनि सहयोग पुर्याएको छ ।

स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आई पर्छन् नि ?

स्थानीय तहमा काम गर्दै धेरै समस्याहरु आई पर्छ । नागरिकको अपेक्षा धेरै हुन्छ । नागरिकहरु सडक चाहियो भन्छन् । उनिहरुको जमिनबाट सडक निर्माण गर्ने लाग्यो भने विरोध गर्छन् । कहिलेकाहिँ खानेपानीको समस्या पनि आई पर्छ ।

केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ?

केन्द्र सरकारबाट हामीलाई सहयोग मिलेको छ । गाउँपालिकाको आन्तरिक आय धेरै रहेको छैन । केन्द्र सरकारको नै सहयोगमा हामीले गाउँपालिकाको विकास निर्माणको कामहरु गर्नुपर्ने हुन्छ । समपुरक बजेट केन्द्र सरकारबाट आउने गरेको छ ।

आफ्नो गाउँपालिका भित्रका पर्यटन क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ?

हामीले गाउँपालिकामा भित्रका पर्यटन क्षेत्रको प्रचारप्रसार गरिरहेकै छौं । गाउँपालिकामा पर्यटन पूर्वधारको पनि विकास गरी रहेका छौं । पर्यटन सम्बन्धि व्यवसायमा पनि हामीले जोड दिएका छौं । पर्यटन पूर्वधार तथा पर्यटन उपजको विकास र गर्ने उदेश्यले हामीले ३ करोड बजेट पनि विनियोजन पनि गरेका छौं ।

गाउँपालिकाले खोलकुद विकासको लागि के कस्ता योजना बनाएको छ ?

विद्यलयस्तरको खेलकुद प्रतियोगिता गाउँपालिकामा धेरै हुने गरेको छ । खेलकुद विकासको लागि हामीले बजेट छुटाएका छौं । गाउँपालिकामा खेल मैदान निर्माण भइरहेको छ । युवा क्लवलाई खेलकुदका सामाग्रीहरु पनि दिँदै आएका छौं । धेरै युवाहरु खेलकुदमा उत्सुक पनि छन् । वडा स्तरीय खेलकुद प्रतियोगिता पनि हुने गरेको छ । बक्सीङ्ग, भलिवल, कराते, फुटवल लगायतका खेलहरु नगरपालिकामा आयोजना गर्छौं ।

गाउँपालिकाको स्वास्थ्य विकासको लागि कसरी काम गर्दै आइरहनु भएको छ ?

ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्रको स्थापना गरेका छौं । गाउँपालिकामा महिनामा एक चोटि स्वास्थ्य कर्मीहरुले स्वास्थ्य सम्बन्धि कार्यक्रम सञ्चालन पनि गरेका छौं । गाउँपालिकाको सबै नागरिकलाई प्राथमिक स्वास्थ्य सेवासम्म पहुँच पुगेको छ । गाउँपालिका सबै वडामा स्वास्थ्य भवन छन् भने बाकि रहेको १ ओटा वडामा स्वाथ्य भवनको निर्माण भई रहेको छ ।

शैक्षिक विकासको लागि गाउँपालिका कसरी काम गर्दै आईरहेको छ ?

गाउँपालिकाको शैक्षिक विकासका लागि धेरै काम हुँदै आएको छ । विद्यालयको भवनहरु निर्माण भएका छन् । ५ कक्षा सम्मका किताबहरु वितरण गरेका छौं । बेलाबेलामा शिक्षकलाई तालिम दिइरहेका छौं । ५ कक्षासम्मका विद्ययार्थीलाई खाजाको व्यवस्था मिलाएका छौं । ३२ ओटा विद्यालयहरु गाउँपालिका भित्र रहेका छन् । गुणस्तरीय शिक्षा सिकाई तर्फ पनि हामीले विशेष जोड दिएका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.