१९ अर्ब लागतमा जगदुल्ला जलविद्युत् निर्माण हुँदै, सरकार र स्थानीयवासीले सेयर हाल्न पाउने

  २०७७ फागुन १३ गते १०:४३     विकासन्युज

जाजरकाेट । जगदुल्ला जलविद्युत् आयोजनाको डिपिआरको काम सम्पन्न भएको छ । डिपिआर सकिएलगत्तै आयोजना निर्माणको कूल लागत १९ अर्ब ९० करोडको लाग्ने अनुमान गरिएको छ । २२ अर्बबाट लागत रकम घटेर १९ अर्बमा झरेको आयोजना प्रमुख सञ्जय सापकोटाले जानकारी दिए । इलमा ६३ घरधुरीको ७१ रोपनी जग्गाको प्रतिरोपनी पाँच लाख ५० हजार र काइगाउँमा १८७ रोपनी १०० घरधुरीको प्रतिरोपनी पाँच लाख १५ हजारका दरले मुआब्जा वितरण कार्य पूरा भएको छ ।

कूल ३०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि अहिले भौगोलिक विकटताका कारण १०६ मेगावाट मात्र विद्युत् उत्पादन गर्न सकिने आयोजनाले जानकारी दिएको छ । पहिलो चरणमा २५८ रोपनी जग्गा अधिग्रहण भएको छ । अर्धजलाशयका रूपमा थालिएको आयोजना छ वर्षभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य लिइएको छ ।

करिब सात दशमलव एक किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलस्थित ३०० मिटरभित्र रहेको विद्युत् उत्पादन गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा २३ मिटर उचाइ र १०० मिटर चौडाइको जलाशययुक्त बाँध निर्माण हुनेछ । छ घण्टा पानी थुनेर आयोजना सञ्चालन गरिनेछ । विस्तृत परियोजनाको जिम्मा एनइए इञ्जिनीयरिङले २७ करोडमा लिएको उनको भनाइ छ । आयोजना निर्माणका लागि १० प्रतिशत शेयर स्थानीयवासीले हाल्न पाउनेछन् । सरकार आफैँ र स्थानीयवासीलाई शेयर दिएर यो आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ ।

अहिले विद्युत् उत्पादन गृहको माटो जाँचका लागि ३०० मिटरभित्र सुरुङ निर्माण गर्नुपर्ने छ । त्यस्तै इलमा समेत पुल निर्माण गरिने भएको छ । कर्णाली प्रदेश सरकारले त्रिवेणीदेखि इलसम्मको सडक ट्र्याक छिटो खोलेमा आयोजनाको कामसमेत छिटो हुने आयोजनाको भनाइ छ । आयोजना निर्माणका लागि आवश्यक विद्युत्का लागि इलस्थित फेदीखोलाबाट दुई मेगावाट र काइगाउँस्थित स्थानीय खोलाबाट दुई मेगावाट विद्युत् उत्पादन गर्न सम्भाव्यताको काम शुरु भएको छ । आयोजना निर्माणस्थल बाँधस्थलमा घर नभएका कारण आयोजना निर्माणका लागि समस्या नभएको प्रमुख सापकोटाले जानकारी दिए ।

त्यस्तै तीन करोडको जगदुल्लाबाट मुड्केचुलाको सर्मीसम्म सडकको काम शुरु भए पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण तोकिएको मितिमा सम्पन्न हुन मुस्किल परेको छ । काइगाउँबाट मुड्केचलासम्म जोड्ने सडकको काम रु पाँच करोडमा शुरु गरिएको प्रदेशसभा सदस्य शाहीले जानकारी दिए।

त्रिवेणी, मनमङ र नीलदहमा पक्की पुल जगदुल्ला जलविद्युत् आयोजनाले बनाउने छ । आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न २०७७ पुसमा सार्वजनिक सूचना प्रकाशित गरी प्रभावित क्षेत्रको विवरण दिन आग्रह गरिएको थियो ।

अर्को ८२ मेगावाटको आयोजना

एक सय छ मेगावाट क्षमतामा निर्माणको तयारी भइरहेको जगदुल्ला जलविद्युत् आयोजनाले ८२ मेगावाटको ‘जगदुल्ला ए’ जलविद्युत् आयोजना पनि निर्माणको तयारी गरेको छ । आयोजनाको डिपिआर सार्वजनिक गरेर सरोकारवालाको राय सङ्कलन पनि गरिसकिएको आयोजना प्रमुख सापकोटाले बताए ।

क्यासकेड आयोजनाको रूपमा जगदुल्ला ए निर्माण गर्दा अर्धजालाशयको लागत पनि घट्ने र दुवै आयोजनालाई आकर्षक आयोजना बनाउन सकिने बताइएको छ । विद्युत् उत्पादन कम्पनीअन्तर्गत बनेको जगदुल्ला जलविद्युत् कम्पनीमा अतिविपन्न परिवारलाई दुई प्रतिशत शेयर सुरक्षित गरिएको छ । आयोजनामा सर्वसाधारणका लागि १७ प्रतिशत र आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १० प्रतिशत शेयर दिने बताइएको छ ।

विद्युत् उत्पादन कम्पनीमा ऊर्जा मन्त्रालयको २० प्रतिशत शेयर रहेको छ । त्यसैगरी नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चयकोष र दूरसञ्चार कम्पनीको १०/१० प्रतिशत शेयर छ । अर्थ मन्त्रालय, कानून मन्त्रालय र नागरिक लगानी कोषको पाँच/पाँच प्रतिशत, जलविद्युत् लगानी तथा विकास कम्पनीको चार प्रतिशत र राष्ट्रिय बीमा संस्थानको दुई प्रतिशत प्रवद्र्धक शेयर रहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.