बाँसुरीले यसरी झार्छ पैसा, बाँसुरी बजाउन संसार घुम्ने नेपाली कलाकार

  २०७७ फागुन १२ गते ११:०२     नरेन्द्र रौले

काठमाडौं । बाँसुरीसँग प्रताप केसीको बेग्लै प्रेम छ । उनले बाँसुरीमा धुन भर्न थालेको तीन दशक कटिसक्यो । कुनैबेला रहरले उनी बाँसुरी बजाउँथे । अहिले भने मुख्य पेशा नै यही बनिसकेको छ । टंगाल, काठमाडौंका स्थायी बासिन्दा केसी बाँसुरी बजाउँनकै लागि ८ महिना विदेशमा हुन्छन् । बाँकी चार महिना मात्र नेपालमा । यसपाली कोरोना महामारीले गर्दा उनका धेरै कार्यक्रमहरु रद्द हुन पुगे ।

नेपालमा भन्दा विदेशमा बाँसुरीवादक केसीको माग बढी छ । बाँसुरीको धुन विदेशीहरुले यति रुचाउँछन् कि एक पटक प्रस्तुती दिन गयो भने त्यतीले पुग्दैन । उनीहरु थप नयाँ–नयाँ कार्यक्रमको आयोजना गर्छन् । तिनै कार्यक्रममा सहभागी बन्दा उनको नेटवर्क फैलिदै–फैलिदै जान्छ । जब केसीले नेपाली मौलिक लोकभाका, झ्याउरे गीतहरु बाँसुरीको धुनमा सुनाउँछन्, विदेशीहरु मन्त्रमुग्ध हुन्छन् ।

केसी पहिलो पटक बाँसुरीको धुन सुनाउन फ्रान्स पुगेका थिए । १५ वर्ष अगाडी त्यो बेला केही दिनको टुरमा १ लाख रुपैयाँ भन्दा बढी पारिश्रमिक पाएका थिए । त्यस यता उनले १५ पटक भन्दा बढी नै फ्रान्स पाइला टेकिसकेका छन् । त्यति नै पटक जर्मन पनि पाइला टेकिसकेका छन् । युरोपमा उनले पाइला टेक्न कुनै देश बाँकी छैनन् । एक पटक टुरमा जाँदा झण्डै ७, ८ लाख रुपैयाँ पारिश्रमिक उठ्ने गरेको उनी बताउँछन् । केही वर्ष यता कार्यक्रममा सिलसिलामा विदेश जाने बेला उनले नयाँ प्रतिभाहरुलाई पनि साथमा लैजान्छन् । विदेसीहरुलाई बाँसुरीसँगै तवला, मादल, सारंगी, सितार, टुङ्ना जस्ता बाजाको धुन पनि सुनाउँछन् ।

‘एक पटकको टुरमा आफ्नो हातमा ५, ६ लाख रुपैयाँ हात पर्छ ।’ केसी भन्छन्, ‘बाँकी साथमा जाने प्रतिभालाई पनि बाँडनुपर्छ ।’ सन् २०१२ देखि उनले प्रणामुन्डी नामक सांगितिक ब्यान्ड पनि स्थापना गरेका छन् ।

‘बाँसुरीले तपाईलाई के दियो ?’ केसीलाई सोधियो ।

‘नाम र पहिचान ।’ यसो भनिरहँदा उनको मुहार उज्यालो देखिएको थियो । एउटै क्षेत्रमा निरन्तर लगाव भईरह्यो भने सफलता मिल्छ भन्ने उनी राम्रो उदाहरण हुन्, केसी । विदेशमा बाँसुरी बजाएकै कारण उनले हुन्डाईको भेनु फूल अप्सन गाडी जोडेका छन् । जसको मूल्य ४४ लाख १६ हजार रुपैयाँ पर्छ । उनले प्रयोग गर्ने ब्राण्डेड लुगा, चस्मा र परफ्यूम पनि यसै पेशाका भरमा किनेका हुन् । एक हिसाबले बाँसुरीकै कारणले उनले हाइफाइ जीवन बाँचिरहेका छन् ।

बाँसुरीवादक केसीको पृष्ठभुमितिर थोरै फर्कौं । उनको पुख्र्यौली काठमाडौंको टंगाल हो । जनकपुर चुरोट कारखानामा इन्जिनियरका रुपमा उनका बुबा जागिरको जनकपुर पुगेछन् । केसीको जन्म जनकपुरमै भयो । १०, १२ वर्षको उमेरदेखि नै केसीलाई बाँसुरीको यस्तो भूत चढ्यो कि कहिल्यै त्यसपछि अलग हुन सकेनन् । बुबा रिटायर्ड भएपछि उनको परिवार काठमाडौं नै फर्कियो ।

जनकपुरमा त्यो बेला उनका छिमेकी थिए, जेबि लामा । जो नामी बाँसुरीवादक थिए । गाउघरमा हुने कार्यक्रम, स्टेज कार्यक्रम कतै पनि उनी छुट्दैनथे । नेपालकै पुराना र उत्कृष्ट बाँसुरीवादक लामाको कला देखेर किशोरवयमा केसी पनि प्रभावित बने । त्यही देखेर रहरै रहरले केसीले बाँसुरीलाई नै साथी बनाए । पछि संगीत सिक्न उनी पटना पुगे । उस्ताद फैमुल्लाखानको घरमा एक वर्ष बसेर बाँसुरी बजाउने कला र शास्त्रीय संगीतबारे ज्ञान सिके । रेडियो पटनाका जागिरे फैमुल्लाखान स्थापित बाँसुरीवादक र सहनाइबादक थिए । उनीसँग एक वर्षको संगतले केसीले धेरै कुरा सिक्ने मौका पाए ।

०४६ सालतिर नेपालमा बाँसुरी बजाउनेहरुको संख्या कमै थियो । कतै कार्यक्रम आयोजना हुँदा केसी सहभागी हुन्थे । रानी ऐश्वर्यको जन्मदिनमा उनले तीन पटक सहभागी भएर लाइभ बाँसुरी बजाउने मौका पाएका छन् । त्यसबेला देशका बिभिन्न स्थानबाट नाँचगानका लागि कलाकारहरु काठमाडौं आइपुग्ने गर्थे । रानीको जन्मोत्सव नेपाल प्रभा भवन र राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम हुन्थे । उनले पनि रानीको जन्मोत्सवमा भाग लिने अवसर पाए ।

केसीले बाँसुरी बजाएर पहिलो पटक पारिश्रमिक ४० रुपैयाँ पाएका रहेछन् । लोक गायक कृष्णविक्रम थापाले वर्दिवासमा एक कार्यक्रमका लागि उनलाई बोलाएका थिए । ‘त्यही कार्यक्रममा मैले ४० रुपैयाँ पारिश्रमिक पाए ।’ उनले त्यो बेला स्मरण गरे । त्यसपछिका दिनमा उनी नेपालका केही स्थानहरुमा सांगितिक कार्यक्रमका सिलसिलामा पुगे । उनी पश्चिमको धनगढीदेखी पूर्व काँकरभिट्टासम्म आफ्नो प्रस्तुतीका लागि पुगेका छन् ।

बिगत पन्ध्र वर्ष यता त नेपाल भन्दा बढी विदेशकै कार्यक्रममा उनको व्यस्तता छ । विदेशमा नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा भन्दा विदेसीले आयोजना गर्ने कार्यक्रममा उनको माग बढी छ । सन् २०१६ मा लक्जेम्बर्गमा उनको प्रस्तुती हेर्न युवराज र त्यहाका प्रधानमन्त्री आएको देख्दा उनलाई गर्व लागेको थियो । घुमेका मध्ये स्वीट्जरल्याण्ड उनलाई एकदमै मन परेको देश हो । ‘त्यहाँको वातावरण, दृश्यले उनलाई निकै लोभ्यायो । जता हेरे पनि पोलिस गरे जस्तो, टिलिक्क टल्काए जस्तो लाग्यो ।’ उनी सुनाउँछन् ।

बाँसुरीवादक केसी घुम्नमा अत्यन्तै रुचि राख्छन् । उनी प्राय: एक्लै यात्रा गर्न रुचाउछन् । मुड चल्दा गाडी लिएर कतै एक्लै निस्किएका हुन्छन् । ब्राण्ड कन्सियस केसीलाई लिभाइजका लुगा र भ्यान्सको जुत्ता, सिकेवान परफ्यूम प्रयोग गर्छन् । उनले ओकिली र नाटिभा ब्राण्डका चस्मा प्रयोग गर्छन् । नाटिभाको चस्मालाई १ लाख रुपैयाँमाथि र ओकिलीको चस्मालाई ६० देखि ८० हजार रुपैयाँ पर्ने उनी बताउँछन् ।

अहिलेसम्म केसीले बाँसुरीकै लागि २ लाख रुपैयाँ भन्दा बढी खर्चिए । एक सेटमा २४ वटा बाँसुरी हुन्छन् । जसको मूल्य ४५ देखी ५० हजार रुपैयाँ पर्छ । जता पुगेपनि एक सेट बाँसुरी उनको साथमा कहिल्यै छुट्दैन । कोरोना नभईदिएको भए यतिखेर केसी कुनै युरोपियन देशमा सांगितिक कार्यक्रम गरिरहेका हुन्थे । धेरै वटा कार्यक्रमहरु कोरोनाकै कारण उनले मिस गरे ।

अब छिटै नै फेरी युरोप यात्रामा उनी निस्किदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.