संसद पुनर्स्थापनासँगै निजी क्षेत्रको प्रतिक्रियाः नयाँ सरकारको प्रतिक्षा, अस्थिरता नहोस्

  २०७७ फागुन ११ गते २०:२०     विकासन्युज

काठमाडौं । निजी क्षेत्रले सरकारमा जुनसुकै पार्टी तथा व्यक्ति आएपनि आफुहरुलाई काम गर्नु पर्ने वातवारण सहज हुनु पर्ने बताएकाे छ । आज सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनर्स्थापना गर्ने फैसला गरेसँगै निजी क्षेत्रले पनि सर्वोच्चको स्वागतयोग्य फैसला भन्दै अब आउने सरकारले आफुहरुलाई काम गर्न सहज वातावरण सिर्जना गर्नु पर्ने बताएका हुन् । साथै उनीहरुले नयाँ आउने सरकारकाे प्रतिक्षामा पनि आफुहरु रहेकाे बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारमा जुनसुकै पार्टी तथा व्यक्ति आएपनि आफुहरुलाई काम गर्ने वातावरण भने सहज बनाइदिनु पर्ने बताए । ‘हामीलाई यो पार्टी त्यो पार्टीको सरकार भन्ने चासो हुँदैन, जुनसुकै पार्टी सरकारमा भएपनि हामीलाई काम गर्ने वातावरण हुनु पर्छ, सर्वोच्चको फैसला स्वागतयोग्छ छ,’ उनले विकासन्युजसँग भने ।

सरकारले संसद विघटन गरेसँगै बैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको घोषणाले आफुहरुलाई धेरै समस्या भएको महसुस भएपनि अब भने केही सहज हुने पनि उनीहरुको भनाई छ ।

यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले पनि राजीनितक रुपमा जो जे जस्तो भएपनि आफुहरुलाई काम गर्ने वातावरण चाहिने बताएका छन् । ‘हामी राजनीतिक रुपमा जे जस्तो आस्था भएपनि सरकारले अब अर्थतन्त्र चलायमान गर्न सक्ने क्षमता राख्नु पर्छ, काम गर्ने वातवारण बन्नु पर्छ, हामीलाई चाहिने नै यति हो,’ उनले भने ।

उनका अनुसार अब आफुहरु नयाँ सरकारकाे पर्खाईमा रहेकाे र काम गर्ने वातावरण सिर्जना गरी अर्थतन्त्र चलायमान राख्न सहयाेग गर्ने विश्वास उद्याेगी व्यवसायीकाे छ । सरकारले निर्वाचनको घोषणा गरेसँगै आफुहरुलाई केही व्यक्तिहरुबाट चन्दाको त्रास आउने भएपनि अब भने त्यो समस्या टरेको उद्याेगी व्यवसायीहरुकाे भनाई छ ।

निर्माण व्यवसायी महासंघको धारणा पनि देशकाे निर्माणका काममा बाधा नपुगाेस् भन्ने नै छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिँहले सर्वोच्च अदालतको फैसला लोकतान्त्रिक र स्वागतयोग्य भएको बताउँदै अब भने निर्माण व्यवसायीलाई चुनावको त्रास हटेको बताए ।

‘सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ, अब आउने दिनहरुमा काममा डिस्टर्ब हुनु भएन, निर्माणका कामहरुमा शान्ति सुरक्षा कायम हुनु पर्यो, सरकारले चुनावको घोषणा गरेको थियो, निर्वाचन खर्च पनि जुटाइरहेको थियो, अब चुनाव नहुने भयो, हाम्रा कामहरु पनि निर्वाद रुपले सञ्चालन हुन्छन् भन्ने विश्वास छ,’ उनले भने ।

घरेलु तथा साना उद्योग महासंघका कार्यकारी अध्यक्ष उमेशप्रसाद सिँहले पनि अब आउने सरकारले उद्योगमैन्त्री वातवरण निर्माण गर्नु पर्ने बताए । ‘मिलिजुली सरकार भएपनि राम्रो काम गर्ने वातवारण बनोस्, सबैभन्दा ठूलो सर्वोच्च बिकिसकेको भन्ने हल्ला थियो, अहिले सर्वोच्चले लोकतन्त्रको बचाउ गर्यो भन्ने हामीलाई महसुस भएको छ, सरकारले निर्वाचनको मिति तय गर्नु हामीले त्रास वातावरणको महसुस भएको थियो, अब जे जस्तो भए पनि हामीलाई काम गर्ने वातावरण चाहिन्छ,’ उनले भने ।

सर्वोच्च अदालतले आज प्रतिनिधिसभा पुनर्स्थापना गरको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन विरुद्ध परेकाे मुद्दालाई सदर गर्दै प्रतिनिधिसभा पुर्स्थापना गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गरेकी थिइन् । त्यसपछि संसद विघटनलाई पुर्स्थापना गर्न सर्वोच्चमा मुद्दा परेको थियो । सरकारले बैशाख १७ र २७ गतेका लागि निर्वाचन पनि घोषणा गरिसेकको थियो । निर्वाचनको घोषणासँगै निजी क्षेत्रलाई चन्दाको त्रास थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.