भारतसँग ९३ करोड रुपैयाँमा खरिद गरेको कोभिडसिल्ड खोप आज नेपाल आउँदै, अब सर्वसाधारणले पाउने

  २०७७ फागुन ९ गते १०:३४     विकासन्युज

फाइल फाेटाे

काठमाडौं । आज भारतबाट १० लाख डोज कोभिडसिल्ड खोप नेपाल ल्याइने भएको छ । सरकारले खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप आज साढे एक बजे नेपाल ल्याइने भएको हो ।

खोप एयर इन्डियाको विमान मार्फत ल्याइने भएको छ । नेपाल सरकारले सेरम इन्स्टिच्यूट अफ इन्डियामा फागुन ५ गते २० लाख डोज खरिदका लागि सम्झौता गरेको थियो। सरकारले प्रति एक डोज ४ डलरमा २० लाख डोज खोप खरिद गरेको हो । प्रति डोज खोपको ४ डलर पर्दा आजको अमेरिकी डलरको मूल्य अनुसार २० लाख डोजको मूल्य ९२ करोड ९७ लाख ४० हजार नेपाली रुपैयाँ पर्न जान्छ । जसमध्ये पहिलो चरणमा १० लाख डोज आज आउन लागेको हो ।

सरकारले उक्त खोप खरिदका लागि अग्रिम भुक्तानी गरेको थियो। नेपालको खरिद ऐनले अग्रिम भुक्तानी गर्न नमिल्ने भएपछि मन्त्रिपरिषद्ले अग्रिम भुत्तानीका लागि निर्णय गरेको थियो । सरकारले फागुन २३ गतेदेखि संचालन गर्ने दोस्रो चरणको खोप अभियानका लागि उक्त खोप खरिद गरेको हो । अब दोस्रो चरणमा ५५ वर्ष माथिका नागरिक र जोखिम समुहलाई खोप लगाइने बताइएको छ ।

उक्त खोप टेकुस्थित कोल्डरुममा भण्डारण गरी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र माफर्त जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरका खोप केन्द्रमा वितरण हुने छ। स्वास्थ्य मन्त्रालयले बाँकी १० लाख खोप पनि चाँडै नेपाल आइपुग्ने जनाएको छ ।

नेपालमा माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप अभियान सुरु भएको थियो। पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,सफाईकर्मी, एम्बुलेन्स, शबबाहन चालक, पत्रकार, स्थानीय जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, नेपालस्थित कुटनितिक नियोगका कर्मचारी, युनएन एजेन्सीका कर्मचारीलाई खोप दिइएको छ। हालसम्म ३ लाख बढीले खोप लगाइसकेका छन् ।

कोरोना भाइरसविरुद्ध प्रयोग गर्न अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेकोे कोभिसिल्ड खोप हाल भारतमा उत्पादन भइरहेको छ । नेपालमा कोभिसिल्डको प्रभावकारिता राम्रो पाएपछि सरकारले सोही खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाएको थियो ।

सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप गत ८ माघमा भारतले १० लाख डोज नेपाललाई अनुदानस्वरूप दिएको थियो । उक्त अनुदानको खोपबाट अहिले नेपालमा खोपसेवा सञ्चालन भइरहेको छ ।

सरकारले तीन चरणमा गरी ७२ प्रतिशत नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । जसमध्ये २० प्रतिशतको जिम्मा कोभ्याक्स सुविधाले लिएको छ । अहिले कोभ्याक्स सुविधामार्फत पनि पहिलो चरणमा २२ लाख डोज खोप आउने सुनिश्चितता भएको छ । सेरमको खोप नेपालमा भण्डारण, ढुवानी सहज भएकाले सोही खोप उपलब्ध गराउने भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले आपत्कालीन प्रयोगका लागि अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेकोे कोभिसिल्ड खोप  प्रयोगका लागि अनुमति दिएको छ । डब्ल्युएचओको स्वीकृतिसँगै कोभिसिल्डको खोप कोभ्याक्स सुविधामार्फत नेपाल ल्याउने बाटो खुलेको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.