महिला लघुवित्तकाे आईपीओ पर्नेलाई मालामाल, अर्को वर्ष नै २४ प्रतिशत लाभांश

  २०७७ माघ ३० गते १६:५४     विकासन्युज

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) आज शुक्रबारबाट भर्न खुला गरिएको छ । आजदेखि सर्वसाधारणले सो कम्पनीको आईपीओ भर्न पाउने भएका हुन् ।

नेपाल धितोपत्र बोर्डबाट गत माघ ८ गते अनुमति पाएको लघुवित्तले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । जसको प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ ताकिएको छ ।

जारी सेयरमध्ये ०.५० प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई निष्काशन गरिने बताइएको छ ।

कम्पनीले आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गलाई तोकको छ । उक्त सेयर निष्काशनको लागि संस्थाले ईक्रा नेपालबाट ‘इक्राएनपी इस्युअर रेटिङ्ग डबल बी’ क्रेडिट रेटिङ्ग पाएको छ । हाल लघुवित्तको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ भने ४ करोडको आईपीओ पश्चात संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ हुने कम्पनीले बताएको छ ।

कम्पनीको परिचय

महिला लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत स्थापित भएको संथा हो । २०७५ जेठ २४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको यो संस्थाले नेपाल राष्ट्र बैंकबाट भने २०७५ असोज २२ गते वित्तीय संस्थाको रूपमा वित्तीय कारोबार गर्न अनुमति पाएको थियो ।

त्यसको एक महिनापछि अर्थात २०७५/०७/१ गतेका दिनदेखि औपचारिक रुपमा कारोबार सुरु गरेको थियो । यस लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. १३, साँगा काभ्रेपलाञ्चोकमा रहेको छ भने यसले देशका २९ वटा जिल्लाका ५३ वटा शाखाहरुबाट सेवा प्रवाह गर्दै आएको छ ।

यस कम्पनीका ५ वटा सुपरिवेक्षण तथा निरीक्षण कार्यालयहरु स्थापना गरी लघुवित्त कारोबार गर्दै आइरहेको छ र आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकको स्वीकृति लिई यस लघुवित्त वित्तीय संस्थाले शाखा, उपशाखा वा अन्य कार्यालय खोली कारोवार गर्न सक्ने उल्लेख गरेको छ ।

यस्ता छन् कम्पनीका उद्देश्य

कम्पनीले ग्राहकलाई सहज तथा गुणस्तरीय सेवा प्रवाह गर्नको लागि विभिन्न उद्देश्य तथा मार्गचित्र तयार गरेको छ । कम्पनीले वित्तीय संस्थाको निक्षेपकर्ताको हकहितको संरक्षण र सम्बद्र्धन गर्दै स्वस्थ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो वित्तीय मध्यस्थता सेवा उपलब्ध गराउने उद्देश्य लिएको छ भने कृषि, उद्योग, सेवा, व्यापार तथा अन्य व्यवसायीक रुपले सम्भाव्य देखिएका उत्पादनशील व्यवसायको स्थापना, विकास, विस्तार र क्षमता एवम्उत्पादकत्व वृद्धिका लागि आवश्यक बैंकिङ्ग/वित्तीय साधन आन्तरिक तथा बाह्य श्रोतबाट जुटाई देशको औद्योगिक व्यापारिक एवं कृषि क्षेत्रको विकासमा गतिशिलता ल्याउन सहयोग पुर्याउने विश्वास लिएको छ ।

उपलब्ध सीप, श्रम तथा पुँजीलाई उचित रुपमा परिचालन गरी ग्रामीण तथा शहरी क्षेत्रमा उत्पादन एवम् राेजगारीमूलक व्यवसायको स्थापना, सञ्चालन, विकास विस्तार एवम्प्रवर्धन गर्ने र सो कार्यको लागि आवश्यक वित्तीय साधन, प्राविधिक तथा व्यवस्थापकीय परामर्श सेवा, तालिम तथा प्रविधि उपलब्ध गराई गरीबी निवारणका लागि सक्रिय रुपमा संलग्न भई सहयोग पुर्याउने जनाएको छ ।

यस्तै, वित्तीय सेवामा जोखिम कम गर्दै वित्तीय क्षेत्रको उदारीकरणमा मद्दत पुर्यायाई देशको अर्थतन्त्रलाई सबल तथा सुदृढ बनाउन सहयोग पुर्याउने र देशको समग्र वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न सहयोग पुर्याउने दावी समेत कम्पनीको छ ।

कम्पनीका भावी योजना

कम्पनीले आफुलाई थप मजबुत र विश्वसनिय बनाउन धेरै योजना तथा कार्यक्रमहरु बनाएको छ । बजार विस्तारदेखि ग्राहकलाई सर्वसुलभ तथा सहज सेवा दिनको लागि कम्पनीले विभिन्न रणनीति बनाएर अगाडि बढेको छ ।

कम्पनीले संस्थागत सुशासन, आन्तरिक नियन्त्रण तथा प्रशासकिय सुदृढिकरणमा विशेष जोड दिने, ऋण रकमको उपयोग उत्पादनशील कार्यमा लगाउनका लागि ऋणीहरुको उद्यमशिलता विकासमा जोड दिने, संस्थाको पूँजीकोष नेपाल राष्ट्र बैंक लगायत नियमनकारीको निर्देशन पालना गर्ने/गराउने योजना बनाएको छ भने परम्परागत कारोवार प्रणाली प्रविधियुक्त हुने गरी रुपान्तरण गर्ने कार्यमा नीतिगत व्यवस्था गर्ने समेत योजना लिएको छ ।

यस्तै, आन्तरीक श्रोत साधनको अधिकतम परिचालन गरी वाह्य श्रोत परिचालन न्यून गर्ने, संस्थागत सुशासन कायम गर्ने, लगानीकर्तालाई उच्चत्तम प्रतिफल दिलाउने तर्फ प्रतिबद्धता र संस्थाले आफ्ना सदस्य तथा कर्मचारीहरुलाई उचित सेवा सुविधाहरु प्रदान गरी संरक्षित, समयानुकूल, योजनाबद्ध रुपमा संस्थाका कारोवारहरुको स्तरियता बृद्धिमा जोड दिने रणनीति पनि बनाएको छ ।

समग्र कर्जाको गुणस्तरलाई उच्चस्तरमा राख्ने र कर्जा तथा सापटमा प्राप्त हुने प्रतिफललाई उच्च राख्न कर्जा लगानीमा विविधिकरण गर्ने पनि कम्पनीको योजना रहेको छ ।

कम्पनीको पुँजी संरचना

महिला लघुवित्त वित्तीय संस्थाको अधिकृत पुँजी २० करोड रहेको छ । उक्त पुँजीलाई एक सयका दरले २० लाख साधारण सेयरमा विभाजन गरिएको छ । संस्थाको हालको जारी पुँजी १० करोड रुपैयाँ रहेको छ भने ६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

आईपीओ पश्चात कम्पनीकाे चुक्ता पुँजी १० करोड रुपैयाँ हुने भएको छ । जसमा ६० प्रतिशत सेयरधनीको र ४० प्रतिशत सर्वसाधारणको हुनेछ ।

कम्पनीले चालु यसै वर्ष ७ करोड १६ लाख रुपैयाँ नाफा गर्ने लक्ष्य देखाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा २ करोड ४८ लाख रूपैयाँ (अर्थात चुक्ता पुँजीकाे २४.८५ प्रतिशत) र २०७९/८० मा ३ करोड ९४ लाख रूपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यस्तै, आर्थिक वर्ष ७७/७८ को दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा ५ करोड ४३ लाख रहेको छ । आर्थिक वर्ष ७७/७८ को अन्त्यसम्ममा कम्पनीले ७ करोड १६ लाख नाफा कमाउने अनुमान गरेको छ ।  कम्पनीले आगामी वर्ष २४.८५ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा प्रतिसेयर आम्दानी ५७.८५ रुपैयाँ भएको उल्लेख गरेको छ भने आर्थिक वर्ष ७७/७८, ०७८/७९ र ७९/८० मा क्रमश ५१.२३ रुपैयाँ, ६५.३७ रुपैयाँ र १०४.८२ रुपैयाँ हुने अनुमान गरेको छ ।

यस्तै, कम्पनीले कम्पनीले आर्थिक वर्ष ७६/७७ मा प्रतिसेयर नेटवर्थ ३१३.१६ रुपैयाँ रहेको थियो भने आव २०७७/७८, २०७८/०७९ र २०७९/०८० मा क्रमश २९४ रुपैयाँ, ३८५ रुपैयाँ र ५३० रुपैयाँ हुने अनुमान गरेको छ ।

यी हुन् सञ्चालक

महिला लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिमा ५ जना सदस्य रहेका छन् । बोर्डको अध्यक्ष तारा कुवर हुन् । गोर्खा एयरलाइन्समा २ वर्ष र यति एयरलाइन्समा कार्य अनुभव भएकी उनी हाल हृेलो नेपाल टुर एण्ड ट्राभल मा प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गर्छिन् ।

यस्तै संस्थाको सदस्यमा माछापुच्छ्रे बैंकका सुवास जमारकट्टेल, डा इमिनसिँह गुरुङ, इन्दु कुमारी कार्की र कोपिला पोख्रेल रहेका छन् ।

यस्तै, संस्थाको सीईओको रुपमा कृष्णप्रसाद न्यौपाने रहेका छन् । कम्पनीमा हाल कुल २ सय ४४ जना कर्मचारी रहेका छन् । त्यसमध्ये १ सय ३९ स्थायी, ३४ अस्थायी, २६ प्रशिक्षार्थी र अन्य ४५ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.