फोनको भरमा औषधी घरमा

  २०७७ माघ २४ गते १०:०४     नरेन्द्र रौले

काठमाडौं । व्यस्तताले औषधी किन्न भ्याउनु भएन ? वा पसल चहार्दै हिंड्न झन्झट लाग्छ ? घरमै बसिबसि औषधी अर्डर गर्नु परेमा इजि केयरले त्यो सुविधा उपलब्ध गराउँदै आएको छ । १० रूपैयाँ भन्दा माथि जति रकमको औषधि अर्डर गर्नुहुन्छ, तपाईंको घरमै औषधि आईपुग्नेछ । एक फोनको भरमा, औषधि घरमा । इजी केयरको नाराले नै धेरै कुरा बताउँछ ।

इजी केयरले काठमाडौं उपत्यकाभित्र नि:शुल्क औषधि डेलिभरी सुविधा प्रदान गर्दै आएको छ । काठमाडौं उपत्यका बाहिरबाट ५ सय रुपैयाँसम्मको अर्डर आउँदा ५० रुपैयाँ डेलिभरी शुल्क लाग्छ । त्यसभन्दा माथि नि:शुल्क । सन् २०१६ देखि जनवरी ८ बाट इजि केयरले यो सुविधा सुरू गरेको हो ।

यसरी सुरु भयो–फोनको भरमा, औषधी घरमा
यो आइडिया काठमाडौंका सुप्रित बास्कोटाले जुराएका हुन् । आफूलाई समस्या परेपछि त्यसलाई अवसरका रूपमा परिणत गरिदिए उनले । त्यतिबेला उनी दिल्लीको स्टार्टफोर्ड युनिभर्सिटी पढ्थे । फुटबलका सौखिन सुप्रितको खुट्टामा समस्या आएपछि उनले एक वर्षसम्म औषधि खानुपर्‍यो । लिगामेन्टमा समस्या आएपछि उनले यति दुु:ख पाए कि औषधि किन्न फरक–फरक फार्मेसी धाउनुपर्‍यो । कुन औषधि कहाँ पाईन्छ, उनलाई थाहा पनि थिएन । अटो चढेर फार्मेसी चहार्दा-चहार्दै खुट्टा झन् दुख्थ्यो । चारैतिर भौतारिदा उनी दिक्क हुन्थे ।

अर्को पनि कारण छ । नेपालबाट उपचारका लागि नयाँ दिल्ली पुग्नेहरुसँग उनको भेट भईरहन्थ्यो । सुप्रितलाई पैसा दिएर विरामीले औषधि किन्न लगाउँथे । उनीहरुले भारतमै उत्पादित औषधि खानुपथ्र्यो । फार्मेसी धाउँदा–धाउँदै उनको खल्तीबाट दैनिक २ सय भारु रित्तिन्थ्यो । त्यही बेला उनको मनमा नयाँ आइडियाले जन्म लियो ।
सुप्रित नेपाल फर्के । उनले काठमाडौंमा अध्ययन गरे । यता नेपालमा पनि अधिकांसले त्यस्तै समस्या ब्योहोर्थे । जुन उनले नयाँ दिल्ली छँदा भोगेका थिए । उनका मामाहरु नेपालमा औषधि आयातको व्यवसायमा थिए । त्यो कुराले पनि उत्साहित बनेका थिए । आफूले भोगेको समस्या अरुले भोग्न नपरोस् भनेर उनले सुरु गरे, इजि केयर ।
५० हजार रुपैयाँमा सुप्रितले इजि केयरको सुरुवात गरे । ५० हजार रुपैयाँको लगानिमा उनले व्यवसायमा हात हाले । आफैले औषधि किन्ने, आफैले बिल काट्ने, आफैले डेलिभरी गर्ने काम गरे । एकजना व्यापारिक पार्टनर थपिए पछि त उनलाई अलि सहज भयो । तर, थप चुनौति उत्तिकै थिए, अब बजार कसरी बिस्तार गर्ने ? कसरी सेवा दिने ? आफ्नो तर्फबाट के–के गर्न सम्भब छ ? ति सबै विषयमा अध्ययन गरे ।

२ जना स्टाफबाट सुरु भएको इजी केयरले हाल ११ जनालाई रोजगारी दिएको छ । जसमा ३ जना हेल्थ असिस्टेन्ट, ३ जना फार्मेसिस्ट, ३ जना डेलिभरी ब्वाय र एकाउन्टेन्ट छन् । काठमाडौं मात्र होइन उपत्यका बाहिरका २४ स्थानमा औषधि डेलिभरी गर्दै आएको छ । उपत्यकामा आफ्नै स्टाफहरु खटिन्छन् भने बाहिरका लागि अरामेक्सले डेलिभरी गर्छ । स्थापनाको चार वर्षदेखि इजी केयरका नियमित ग्राहकहरुले साथ छाडेका छैनन् । होटल, बिभिन्न संस्था र कम्पनीहरुले फस्र्ट एड् बढी अर्डर गर्न थालेका छन् ।

उपत्यकाभित्र अर्डर गरेको ४ देखि ८ घण्टाभित्र सेवा दिदै आएको इजि केयर उपत्यका बाहिर ठाउ हेरीहेरी कम्तिमा २ दिनमा डेलिभरी सेवा दिन्छ । इजि केयरको वेवसाइट, भाइबर, ह्वाट्सएपमार्फत औषधि अर्डर गर्न सकिन्छ । तीन महिनाभित्र मोबाइल एप बनिसक्ने सुप्रितले जानकारी दिए । अंग्रेजी र नेपाली दुबै भाषामा उपलब्ध हुने यो एपले प्रयोगकर्तालाई थप सहज बनाउनेछ । यस्तै विराटनगर र धनगढीमा छिटै इजी केयरले आफ्नो ब्राञ्च खोल्ने तयारी गर्दैछ ।

इजि केयरले औषधि डेलिभरी गर्ने बाहेक डक्टर वन कल र ब्लड टेस्ट सेवा पनि दिदै आएको छ । कसैलाई जरुरी परेको विषयका डाक्टरसँग अपोइन्टमेन्ट मिलाईदिने र घरमै आएर ब्लड टेस्ट गर्ने, रिपोर्ट दिने काम पनि गर्दै आएको छ । वेवि केयर, हेल्थ केयर, ग्लुकोमिटर, अटोमेटिक ब्लड प्रेसर मेसिन, फस्र्ट एड् ब्याग लगायतका स्वास्थ्यसँग सम्बन्धित सामानहरु पनि एक कल फोनको भरमा घरमै पुर्‍याउँदै आएको छ । इजी केयरले कतिपय औषधिमा १२ प्रतिशतसम्म छुटको सुविधा पनि प्रदान गर्दै आएको छ ।

तीन वर्ष लगातार लगानि मात्र गरेको इजि केयरले नाफामा आउन भने लकडाउन नै कुर्नुपर्‍यो । कोभिड १९ को महामारीपछि इजि केयरको व्यापार यति राम्रो भयो कि कम्पनी नाफामा गयो । कोरोना महामारी फैलिदै गएपछि विरामीहरुले भटाभट एक, डेढ वर्षका लागि औषधि मगाउन थाले । कतिले इम्युन सिस्टम बलियो बनाउने औषधि धमाधम अर्डर गर्न थाले । मानिसहरुमा कोरोनाका कारण बन्द अझै लम्बिन्छ कि भन्ने त्रास थियो ।

त्यही पीरले पछि सम्मका लागि औषधि मगाउन थाले । भिटामिन सि, भिटामिन डि, मल्टिभिटामिन, स्किन केयरका सामग्री, लगायत आफूलाई चाहिने औषधिको अत्यधिक माग भएको सुप्रितले बताए । यसबिच नयाँ–नयाँ ग्राहकहरु थपिदै गए । लकडाउन भन्दा पहिले न्युमोनिया र इन्फ्लुएन्जा भाइरस पहिले यत्तिकै डेट्एक्सपायर भएर सकिन्थ्यो । अहिले भने दुई वटाको भ्याक्सिन प्राय:ले लगाउँदै आएका छन् ।

लकडाउन अगाडीको समयमा औषधि डेलिभरी गर्ने कम्पनी लगभग १० वटा मात्र थिए । त्यसपछिको समयमा झण्डै ५० भन्दा बढीको संख्यामा यस्ता कम्पनीहरू थपिए । तर, अस्वस्थ प्रतिष्पर्धा भने बढ्दै गयो । कतिले औषधिमा २०/२५ प्रतिशतसम्म छुटको नाममा झुक्याउने गरेको सुप्रित सुनाउँछन् । इजि केयरको चर्चा भने निकै चल्यो । मानिसहरुले सोसल मिडियामा खोज्न थाले । अहिले पनि विहान १० बजेदेखि रातको १०/११ बजेसम्म अर्डर आईरहन्छ ।

‘अरु कम्पनीहरुको संख्या बढ्दैमा हामीलाई केही फरक पर्दैन ।’ सुप्रित भन्छन्, ‘हाम्रो बजार फैलिदै छ । हामी आफ्नै रफ्तारमा छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.