अन्य व्यवसायमा धोका पाएका केदार जिपलाईनमा बने पायोनियर

  २०७७ माघ २३ गते १०:२२     नरेन्द्र रौले

काठमाडौं । केदार थापासँग केही घण्टा समय बिताउने हो भने उनी आइडियाका खानी लाग्छन् । नयाँ–नयाँ आइडिया फुराएर उद्यम गर्ने बानी परेका थापा भीरमा पनि ‘स्वप्निल खेती’ खोज्ने व्यक्ति हुन् ।

धुलिखेल जिपलाइन सुरु गरेपछि सिन्धुपाल्चोकका थापा उद्यमीका रुपमा चिनिन थाले । हुन त यसअघि नै पोखरामा जिपलाइन सञ्चालनमा आइसकेको थियो । तर, धुलिखेलमा जब सुरु भयो, त्यो देशव्यापी चर्चाको विषय बन्यो । व्यापक प्रचार–प्रसारमा पाएपछि आम नागरिकदेखि सेलिब्रिटीसम्मले जिपलाईनको मजा लिए ।

२०७५ साउन १० गतेदेखि धुलिखेलमा जिपलाइन सञ्चालनमा आयो । वल्र्ड वाइड एड्भेन्चर प्रालिको मातहतमा यो सञ्चालित छ । केदार यो कम्पनीका अध्यक्ष हुन् भने काठमाडौंका युवा भुपेश श्रेष्ठ व्यापारिक साझेदार ।

काठमाडौंको कोटेश्वरबाट ३३ किलोमिटरको दुरीमा अवस्थित छ यो जिपलाइन । धुलिखेलको थाक्लेडाँडाबाट टेकअफ गरेपछि खावा, पाँचखालमा ल्यान्डिङ गरिन्छ । १ हजार १ सय मिटर लामो जिपलाइन करिब १ मिनेट २० सेकेन्डमा पार गरिन्छ ।

जिपलाइनको मजा मात्र होइन, यहाँ पुगेपछि लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचु लगायतका हिमालहरुको पनि दृश्यावलोकन गर्न सकिन्छ ।

केदारको मनमा फुरेको जिपलाइन आइडिया

स्कुल र कलेजमा पढ्दै गर्दा केदार चाहन्थे, कुनै नौलो काम गरूँ । जसले आफ्नो पहिचान बनोस् । सिन्धुपाल्चोकको बार्‍हबिसेस्थित भोटेकोशी बन्जी र राफ्टिङका लागि चर्चित छ । द लास्ट रिसोर्टले सञ्चालन गरेको बन्जी र राफ्टिङको मजा लिन स्वदेशी तथा विदेशी पर्यटकहरु झुम्मिन्छन् ।

केदारका बुबा गोविन्दले त्यसको कोर्डिनेटर भएर काम गर्थे । विदेशीहरुसँग बाक्लै भेटघाट त्यही बेला भइरहन्थ्यो । आफूले पनि केही नयाँ काम गरौं भन्ने त केदारलाई त्यही बेला लागिसकेको थियो । तर, ठ्याक्कै कुन व्यवसायमा हात हाल्ने भन्ने दिमागमा आइसकेको थिएन ।

द लास्ट रिसोर्टका सञ्चालक विष्णु न्यौपानेको कामबाट पनि केदार प्रभावित छँदै थिए । यस्तैमा सन् २०१५ मा भूकम्पमा केही युवाले गरेको कामबाट उनी झन् प्रभावित बने ।

भूकम्पपछि केही नेपाली युवाले ‘इन्टरलक’ बनाए । सस्तो दरमा इन्टरलक बनाएको यो समाचार प्रसिद्ध अमेरिका पत्रिका फोब्र्सले प्राथमिकता साथ छाप्यो । त्यो पढेपछि त केदारलाई झनै आफूले ढिलो गर्नुहुन्न भन्ने लाग्यो । केही फरक काम गरेर आफ्नो पहिचान बनाउने उनको धोको पहिल्यैदेखि नै थियो । जतिसक्दो छिटो उनी आफ्नो नामलाई स्थापित गर्न चाहन्थे । त्यो बाटोमा जान भित्री मनदेखि लालायित बनिसकेका थिए ।

थाइल्याण्ड, चीन र कम्बोडिया घुम्दा केदारले जिपलाइन देखेका थिए । नेपालमा उनले त्यसैको सुरूवात गर्न चाहे । विदेश गएर उनले यसबारे थप अध्ययन, अनुसन्धान गरे ।

अनि धुलिखेलमा सुरु भयो जिपलाइन ।

अष्ट्रेलियाबाट उनले विज्ञ झिकाए । विज्ञले नै यसको डिजाइन तयार पारे । युरोप र अमेरिकाबाट झिकाएका मेसिनहरु फिट गरेपछि जिपलाइन सञ्चालनमा आयो । झण्डै ४ करोड रुपैयाँको लगानीमा जिपलाइन सुरु भयो ।

धुलिखेल जिपलाइनमा २५ जनाले रोजगारी पाएका छन् । यहाँ विदाका बेला दैनिक झण्डै एक सय जना र अन्य बेला ३० देखि ४० जना जिपलाइनको रमाइलो लिन आउने गरेको सञ्चालक केदार बताउँछन् ।

उनका अनुसार जिपलाइनबाट वार्षिक डेढ करोड रुपैयाँको कारोबार हुन्छ । जिपलाइन बाहेक धुलिखेलमा उनले आफ्नै रिसोर्ट पनि सञ्चालनमा ल्याएका छन् । जहाँ ३५ जना एकै पटक बस्न सक्छन् ।

विस्तार हुँदैछ जिपलाइन

धुलिखेलबाट सुरु भएको जिपलाईन देशका अन्य स्थानमा पनि विस्तार हुँदैछ । भक्तपुरको घ्याम्पे डाँडा र धनकुटाको भेडेटारमा केदारले आफ्नै कम्पनीको मातहतमा जिपलाइन सुरू गरिसकेका छन् । अब छिटै नै नगरकोटमा पनि सुरु गर्दैछन्, जुन २ हजार मिटर लामो हुनेछ ।

भेडेटारको जिपलाइनमा १० जना र घ्याम्पे डाँडामा ६ जनाले रोजगारी पाएका छन् । यसैको सिको गर्दै अन्य व्यवसायीले मकवानपुरको ऐतिहासिक स्थल मकवानपुर गढीमा पनि जिपलाइन सञ्चालनमा ल्याएका छन् ।

जिपलाइनको काम गर्दागर्दै केदार यसबारे आधारभुत ज्ञान बटुलिसकेका छन् । अब त उनी इन्स्ट्रक्टर र इन्सटलर भइसकेका छन् । जिपलाइन सञ्चालन गर्न इच्छुक व्यक्तिहरूले मुलुकका बिभिन्न स्थानबाट उनलाई फोन सम्पर्क गरिरहन्छन् ।

जिपलाइन इन्स्ट्रक्टर र इन्सटलरका रुपमा मुलुकका कतिपय स्थानमा उनी पुगिसकेका छन् । पछिल्लो पटक मकवानपुरगढीको जिपलाइनमा उनले आफ्नो क्षमता देखाइसकेका छन् । अन्य व्यवसायीले सञ्चालन गरेको उक्त जिपलाइनमा केदारले प्राविधिक सहयोग गरेका थिए ।

केदारको बुझाईमा जिपलाइन भनेको तुइनको एड्भान्स रूप हो । फरक के छ भने तुइन आवश्यकताका लागि प्रयोग गरिन्छ, जिपलाइन रमाइलोका लागि ।

देख्दा फलामको डोरी मात्र भए पनि यसमा धेरै मेसिनहरूको प्रयोग हुन्छ । एउटै मेसिनको १३ लाख रुपैयाँसम्म पर्ने उनी बताउँछन् । सुरुसुरुमा विदेशबाट मेसिन झिकाउन एकदमै गार्‍हो भएको थियो । अहिले भने अर्डर गरेको हप्ता, दस दिनमै विदेशबाट नेपालमा मेसिनहरू आइपुग्ने गरेको उनी सुनाउँछन् ।

नौलो उद्यम, नयाँ सपना

केदारको मनमा नयाँ–नयाँ सोच फुरिरहन्छन् । नौलो खालका उद्यममा हात हालेर उनी अघि बढ्न चाहन्छन् । जिपलाइनपछि केही नौलो प्रयोग गर्ने तरखरमा छन् उनी ।

कति ठाउमा जमिन समेत भाडामा लिइसकेका छन् । स्काइ वाक (सिसाको पुल), सुपरम्यान जिपलाइन (सुतेर खेल्न मिल्ने), स्वीङ, क्यानोनिङ वाकलगायतका काम उनको लिस्टमा छन् । जुन नेपालमै नितान्त नौलो हुनेछन् । यस्तै, बन्जी, एड्भेन्चर पार्क पनि उनले स्थापना गर्न चाहेका छन् । नेपाल सरकारको पर्यटन विभागले उनलाई विज्ञ सदस्यका रुपमा नियुक्त गरेको छ । शाहसिक खेल सञ्चालन हुने ठाउमा गुणस्तरीय सामान परीक्षण गर्न र प्राविधिक कुरा जाँच्न बिभागले उनको सहयोग लिने गर्छ ।

बलियो आत्मविश्वास, उर्जाशील मन

उमेरले ३७ वर्ष मात्र पुगेका केदार अनुभवले भने धेरै खारिएका छन् । यो छोटो समयमा उनले धेरै व्यवसायमा हात हालिसके । जिपलाइनमा त उनी सफल छन् । अन्य व्यवसायमा व्यापारिक साझेदारका कारण धोका पनि खाएका छन् ।

हाइड्रो, सार्वजनिक बस, इम्पोर्ट, प्रिफ्याब घर, जियोलोजिकल सर्भेलगायतका व्यवसायमा हात हालेका उनले पार्टनरकै कारण ठूलै रकम पनि डुबाए । क्षणिक फाइदा उठाउने व्यापारिक साझेदारले गर्दा अन्य व्यवसायलाई उनले लामो समय अगाडि बढाउन सकेनन् ।

तर, केदारले कहिल्यै हरेस खाएनन् । यो कुराकानी भइरहँदा पनि उनमा बलियो आत्मविश्वास देखिन्थ्यो । हँसिलो मुहार, मनभरी उत्साह, उर्जाले भरिएका देखिन्थे उनी ।

सबैभन्दा महत्वपूर्ण पक्ष त उनको मन एकदम सकारात्मक सोचले भरिएको छ । उनले जीवनमा पाएको दु:खको त सीमा नै छैन । तैपनि हाँसेरै हिंडिरहेका भेटिन्छन् । फेरि राम्रा दिन आउनेछन् भन्नेमा उनी ढुक्क छन् । एउटा क्षेत्रमा डुबे पनि अर्काे क्षेत्रमा पक्कै उक्सिन्छु भन्नेमा उनी विश्वस्त छन् ।

‘बिगत सम्झेर किन दु:खी हुने ? उमेर छ । अनुभव छ । खासै फरक पर्दैन सर,’ यसो भनिरहँदा केदारको मुहार उस्तै हँसिलो देखिन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.