नयाँ अवसरहरुको सदुपयोग गर्न युवा उद्यमीलाई सरकारको आग्रह

  २०७७ माघ १९ गते ९:५२     विकासन्युज

काठमाडौं । सञ्चार तथा सुचनाप्रविधि मन्त्री पार्वत गुरुङले नयाँ अवसरहरुको सदुपयोग गर्न युवा उद्यमीलाई आग्रह गरेका छन् ।

स्टार्ट अप आइडियाज कल्स कार्यक्रमको सचिवालयमार्फत वाग्मती प्रदेश सरकार, राष्ट्रिय वााणिज्य बैंक, विशाल फाउण्डेशन र युनिग्लोव कलेजले आयोजना गरेको युवा उद्यमशीलता प्रवर्धन कार्यक्रममा मन्त्री गुरुङले यस्ताे आग्रह गरेका हुन् ।

यस्तै मन्त्री गुरुङले युवा उद्यमशीलता विकासका लागि सरकारले सहुलियतपुर्ण कर्जा कार्यक्रम अघि सारेको पनि बताएका छन् ।

सरकारका प्रवक्तासमेत रहेका उनले कोभिड—१९ ले सिथिल भएको अर्थतन्त्र उकास्न र वैदेशिक रोजगारीलाई व्यवस्थित गर्दै देशमै रोजगारीका अवसर सृजना गर्नका लागि सरकारले उद्यमी बन्न चाहनेका लागि सहुलियतपुर्ण कर्जा कार्यक्रम अघि सारेको बताए ।

सोहि कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी निर्वतमान अध्यक्ष भवानी राणाले स्टार्टअप व्यवसाय गर्न चाहनेका लागि अहिले अवसर नै अवसर रहेको बताउँदै युवाहरुमा सोच, संकल्प, निरन्तरता र व्यवसायिक रणनिति हुनुपर्ने बताए । उद्यमीमैत्री वातावरणका लागि सरकारले नेतृत्व लिनुपर्ने उनी बताउँछन् ।

कार्यक्रममा बैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष एवं बरिष्ठ उद्यमी पवन गोल्यानले कम्फर्ट जोनमा बसेर समस्या देखाउनु भन्दा नयाँ अवसरहरुको उपयोग गर्न आग्रह गरे । यस्तै राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो कर्जा एकदमै सस्तो र सरल किसिमले पाउने भएकाले सदुपयोग गरी व्यवसाय गर्न आग्रह गरे ।

विशाल फाउण्डेशनका कार्यकारी निर्देशक एवं आइडिया कल कार्यक्रमका संयोजक विशाल गैरेले माघ मसान्तभित्र आफनो इनोभेटिभ आइडिया पठाउने युवाहरुलाई निशुल्क तालिम र सहुलियत कर्जा प्रदान गर्ने बताए ।

यस संस्थाले २०७७ माघ महिना भरी उद्यमी बन्न चाहने युवाका लागि नवप्रवर्तन प्रवद्र्धन प्रस्ताव (स्टार्टअप आइडिया कल) को वेबसाइट मार्फत नवप्रवर्धन प्रस्ताव आह्वान गरी संकलन गर्ने, उत्कृष्ट आइडिया पठाउने युवाहरुलाई उद्यमशीलता सम्बन्धी नि:शुल्क तालीम प्रदान गरी राष्ट्रिय वाणिज्य बैंक मार्फत बढीमा तीन प्रतिशत ब्याजदरमा अधिकतम १५ लाख रुपैंयासम्म सहुलियतपूर्ण कर्जा लगानी गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.