विकास निर्माणको काममा केन्द्र सरकारले सहयोग गरेको छैन : गाउँपालिका अध्यक्ष घलेसँगको कुराकानी

  २०७७ माघ १४ गते २१:००     विकासन्युज

‘क्व्होलासोथार गाउँपालिका’ गण्डकी प्रदेश अन्तर्गतको लमजुङ जिल्लामा पर्ने सुन्दर गाँउपालिकाका रुपमा परिचित छ । यो गाँउपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा निक्कै चर्चित पनि छ । गुरुङ्ग समुदायको बाहुल्यता भएको यो गाँउपालिकाले ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्रकिृतिक विशेषता बोकेको त छ नै साथै एसिया महादेशको नमुना गाउँ मानिएको घलेगाँउ र भुजुङ पनि यहि गाउँपालिकामा पर्नुले अझ सुनमा सुगन्ध थपिदिएको छ । नेपालकै दोश्रो होम–स्टेको अवधारणा पनि यसै गाउँपालिका बाट सुरु भएको हो । गुम्बा, मठ–मन्दिर, भेष–भुषा, चाड–पर्व लगायतका विषयमा अध्ययन गर्नेका लागि यो गाउँपालिका एउटा गन्तव्यस्थल नै हो । घाँटु सोरेठि नृत्यले मुग्ध बनाउने यस ठाउँमा पर्यटन, चिया बगान, कफि बगान, अलौंची खेती र भेडा पालन लगायतलाई  सर्वसाधारणले आय आर्जनको स्रोत बनाउँदै आएका छन् । सेता हिउँले ढाकिएको हिमाल हेर्नको निम्तिी भ्यु–टावर, गुरुङ समुदायमा केन्द्रीत संग्रहालय एवं घले राजाको पार्कले पनि गाउँपालिकाको सुन्दरतालाई थप्ने काम गरेको छ ।
निःशुल्क इन्टरनेटको सुविधा र सौर्य उर्जाको प्रयोगका निम्ति सर्वसाधारणलाई प्रोत्साहन गर्दै आएको यस गाँउपालिकाका ठुला योजना तथा परियोजनाहरु के–के छन्, कोरोनाले शैक्षिक क्षेत्रमा पुर्याएको असर, रोजगारी सृजना गर्नमा गाँउपालिकाले खेलिरहेको भुमिका लगायतका विषयमा केन्द्रीत हुँदै सो गाँउपालिकाका अध्यक्ष प्रेम वहादुर घलेसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन्ः

गाँउपालिकामा कोरोनाले के–कस्तो असर पुर्याएको छ, हालको अवस्था कस्तो छ ?

कोरोनाको कारण गाँउपालिकामा हुने विकास निर्माणको काममा असर पुग्यो । कोरोनाकालमा हामीले सम्पूर्ण वडाहरुमा क्वारेन्टिन बनायौं । गाँउपालिका भित्र ११० बेडको क्वारेन्टिन स्थापना गर्यौं । सो वेला बाहिरी जिल्लाबाट आउनेलाई हामीले गाँउपालिका प्रवेशमा रोक लगायौं । कोरोनाकै कारणले गाँउपालिकामा रहेका कोहि पनि नागरिकको ज्यान जान भने पाएन । हिजोआज कोरोनाको प्रभाव खासै छैन पनि । यहाँका नागरिकको जीवन सामान्य बनिसकेको छ ।

गाँउपालिकामा कस्ता किसिमका योजनालाई प्राथमिकतामा राखेर काम गरिरहनुभएको छ ?

हामीले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेका छौं । गाँउपालिकाको सबै वडामा सडक र बिजुली पुगेको छ । भौतिक निर्माणका काम पनि गरिरहेका छौं । सिँचाइ र विद्यालयका भौतिक पुर्वाधार आदिलाई पनि प्राथमिकता दिँदै अघि बढेका छौं ।

स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ नि ?

स्थानीय सरकार र प्रदेश सरकार बिच समन्वय गरेर नै हामी अगाडि बढिरहेका छौं । मागे जति बजेट प्रदेश सरकार बाट आइरहेकै छ । विकास निर्माणको काममा पनि प्रदेश सरकारको सहयोग पाएका छौं । गाँउपालिकामा बन्न लागेको ३५ कि.मि बाटो पिच गर्नमा पनि प्रदेश सरकारको सहयोग मिलेको छ । विकास निर्माणको काम देखि लिएर अन्य काममा प्रदेश सरकारले सहयोग पुर्याएको छ । बजेटको कुरा गर्नुपर्दा चाहिँ यो वर्ष ७० करोड रुपैयाँ प्रदेश सरकार बाट आएको छ ।

स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आई पर्छन् ?

स्थानीय तहमा सानातिना समस्या देखा परिरहन्छन् । मुख्य रुपमा भन्नुपर्दा विकास निर्माणको काममा कतैकतै समस्या देखा पर्ने गरेको छ ।

केन्द्र सरकारबाट चाहिँ कत्तिको सहयोग मिलेको छ ?

केन्द्र सरकारमा मेरो गुनासो रहेको छ । केन्द्र सरकार बाट खासै सहयोग मिलेको छैन । केन्द्र सरकार बाट योजना आएको छैन भन्दा पनि हुन्छ । विकास निर्माणको काममा पनि केन्द्र सरकारले सहयोग गरेको छैन ।

गाँउपालिकामा विकास निर्माणको कामहरु कत्तिको प्रभावकारी भएका छन् ?

गाँउपालिकामा गरिएका विकास निर्माणका कामहरु प्रभावकारी नै छन् । गाँउपालिकाको सबै वडामा सडक पुगेको छ । खानेपानी र बिजुली सबै ठाउँमा पुगेको छ । विकास निर्माणका धेरै कामहरु हामीले गरिरहेका छौं ।

तपाईं निर्वाचित हुनुभन्दा अगाडि र निर्वाचित हुनुभन्दा पछाडि गाँउपालिकामा कस्ता खाले परिवर्तन आएका छन् ?

अहिले गाँउपालिकामा धेरै परिवर्तन आइसकेको छ । म निर्वाचित हुनु अघि यहाँ सडक, खानेपानी, बिजुली पुग्न नसेकेका ठाउँहरु धेरै थिए । तर आज यस्तो सुविधा पर्याप्त मात्रामा उपलव्ध भइसकेको छ । पहिला सेवा प्रवाहमा पनि कठिनाइ आइरहेको थियो । हाल यो समस्या हटिसकेको छ । अहिले हामीले तरकारी खेती पनि सुरु गरेका छौं । सडकहरुलाई कालोपत्रे गर्ने काम पनि सुरु भइसकेको छ ।

तपाईंले गरेको विकास निर्माणको काममा त्यहाँका नागरिकहरु सन्तुष्ट छन् त ?

मैले गरेका विकास निर्माणको काममा गाँउपालिकाका नागरिक खुसि पनि छन् र सन्तुष्ट पनि छन् भन्ने ठानेको छु । मेरो विपक्षी साथिहरु पनि खुसि नै हुनुहुन्छ । हामीले ४० वटा बैठक सभा बस्दा कुनैमा पनि विवाद नहुनुले मेरो कुरालाई पुष्टि गरेको छ ।

आफ्नो गाँउपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ?

हामीले पर्यटन क्षेत्रका लागि भनेरै वार्षिक ५० लाख रुपैयाँ बजेट छुट्याउने गरेका छौं । हाम्रो गाँउपालिका आफैंमा एउटा पर्यटकिय क्षेत्र पनि हो । गाउँपालिका भित्र रहेका पर्यटकिय क्षेत्रको प्रचारप्रसार गर्न हामिले कुनै कञ्जुस्याईं गरेका छैनौं । चिरपरिचित घलेगाउँ र भुजुङ हाम्रै गाउँपालिकामा पर्छन् । विभिन्न मठ मन्दिरको पनि हामीले प्रचारप्रसार गरिरहेका छौं । गाउँपालिका भित्र पर्यटकका लागि होमस्टेको पनि व्यवस्था गरिएको छ ।

कोरोना भाइरसले शैक्षिक क्षेत्रमा पुर्याएको असरका साथै हालको शैक्षिक अवस्थाका वारेमा केहि बताइदिनुस् न

कोरोनाको प्रभाव शैक्षिक क्षेत्रमा पनि परेको छ । नेपालमा लकडाउन भएको समयमा गाउँपालिकाको सबै विद्यालयहरु बन्द भएका थिए । इन्टरनेटको असुविधाका कारण अनलाइन बाट विद्यार्थीलाई शिक्षा दिन सम्भव थिएन । त्यसकारण विद्यालयमै बोलाएर सामाजिक दूरी कायम गर्दै पठनपाठन सञ्चालन गर्यौं । हाल यहाँ कोरोनाको प्रभाव खासै छैन जसका कारण सबै विद्यालयको पठनपाठन निरन्तर रुपमा सञ्चालन भइरहेको छ ।

गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

यहाँका युवाहरुलाई ठुला रोजगारीको अवसर दिन नसकेता पनि हामीले विकास निर्माणका काममा साथै कृषि क्षेत्रमा पनि थोरबहुत अवसर दिन सकेका छौं । हामीले आयमुलक काममा युवाहरुलाई लगाएका छौं । गाउँपालिकाका केही युवाहरु बाख्रापालन पनि गरिरहेका छन् ।

गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ?

आधुनिक कृषि खेती गर्ने योजना गाउँपालिकाले बनाएको छ । कृषिलाई आधुनिकिकरण गर्नका लागि भनेर हामीले ३६ लाख रुपैयाँ बराबरको उन्नत जातको आलुको विउ खरिद गरेका छौं । बढि मात्रामा आलुको उत्पादन हुने भएकाले आलुको विउ खरिद गरिएको हो । हामीले कृषकलाई विउ विजनामा ५० प्रतिशत अनुदान समेत दिने गरेका छौं ।

गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के–के रहेका छन् त ?

गाउँपालिकामा ३५ कि.मि बाटो पिच भईरहेको छ । मोटर पुलको निर्माण पनि हुँदैछ जसका लागि १० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ८० लाख रुपैयाँ बराबरको टेन्डरको काम पनि भइरहेको छ ।

तपाईंको कार्यकालमा गाँउपालिकालाई कस्तो बनाउने योजना रहेको छ ?

मेरो कार्यकालमा गाउँपालिकालाई विकसित बनाउने योजना बनाएको छु । ७ करोड रुपैयाँमा स्वास्थ्य भवन बनिरहेको छ र यसलाई पुरा गर्न लागिपरेको छु । कृषि र पर्यटनमा बढि जोड दिँदै यहाँका युवाहरुलाई यसतर्फ प्रोत्साहन पनि गरिरहेको छु । म चाहन्छु कि मेरो कार्यकालमा गरिएका सम्पूर्ण कामहरु एकदमै प्रभावकारी होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.