दूरसंचार प्राधिकरणले विवरण रजिष्टर गरेकै आधारमा जागिर दिन लागेको हो ? यस्तो छ वास्तविकता

  २०७७ माघ ८ गते १७:५०     विकासन्युज

काठमाडौं । तपाईंले सामाजिक संजाल फेसबुकमा नेपाल टेलिकम्युनिकेसन्स अथोरिटी (एनटीए) ले अनलाइन रजिष्टर गरेकै आधारमा जागिर दिन लागेको जानकारी पाउनु भएको छ ?

फेसबुकमा पैसा तिरेर (स्पोन्सर) गरेर विज्ञापन गरिएको एउटा सुचना भाइरल भएको छ । सुचनामा ‘नेपाल संचार प्राधिकरणले थप रोजगार आवेदन खोल्ने घोषणा गरेको, लिंक अनुसरण गरेर रजिष्टर गरिएमा अनलाइनबाटै नियुक्ति पठाउने’ भनिएको छ ।

‘नेपाल संचार प्राधिकरण (एनटीए) ले थप रोजगार आवेदन खोल्ने घोषणा गरेको छ । कृपया तलको लिंक अनुसरण गरेर रेजिस्टर गर्नुहोस् । हामी तपाइँको तपाइँको पंजीकृत खाता को माध्यम बाट एक नियुक्ति पठाउने छौं,’ फेसबुकमा राखिएको विज्ञापनमा उल्लेख गरिएको छ ।

सो विज्ञापनमा जागिर दिने कम्पनी वा संस्थाको नाम अंग्रेजीमा ‘नेपाल टेलिकम्युनिकेसन्स अथोरिटी’ भनिएको छ । यो नाम नेपालको दूरसंचार क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणको अंग्रेजी नामसँग ठ्याक्कै मिल्छ । लोगो पनि प्राधिकरणको नै राखिएको छ । यद्यपि, नेपालीमा नाम भने ‘नेपाल संचार प्राधिकरण (एनटीए) भनिएको छ । नेपालीमा नाम लेख्दा केही फरक भने छ । तर, सर्वसाधारणले सहजै पत्ता लगाउन सक्ने प्रकारका भिन्नता भने छैन ।

के हो वास्तविकता ?

फेसबुकमा भाइरस भएको सो विज्ञापनप्रति नेपाल दूरसंचार प्राधिकरणले प्रतिक्रिया दिएको छ । यसरी राखिएको विज्ञापन भ्रमक रहेको र त्यस्तो लिंक क्लिक गरी कसैले पनि आफ्नो व्यक्तिगत विवरण दिन नहुने प्राधिकरणले सार्वजनिक सुचना नै प्रकाशित गरेको छ ।

‘यस प्राधिकरणको नाम तथा लोगो दुरुपयोग गरी सामाजिक संजाल फेसबुक पेज मार्फत भ्रामक जानकारी प्रकाशित गरेको पाइएकोले यस्ता अनधिकृत पेज तथा सो पेजमा रहेका लिंकहरुलाई क्लिक नगर्न तथा आफ्नो कुनै पनि विवरण उपलब्ध नगराउन सबैलाई सचेत गराउँदछौं । यस प्राधिकरणको फेसबुकमा हालसम्म कुनै आधिकारिक पेज/खाता नरहेको र यस्ता अनधिकृत कार्य गर्ने/गराउनेलाई प्रचलित कानुन बमोजिम कारवाही गरिने व्यहोरा समेत जानकारी गराउँदछौं,’ प्राधिकरणले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।

पहिलो कुरा त अहिले कुनै पनि सरकारी वा संस्थानले यसरी व्यक्तिगत विवरण भरेकै आधारमा जागिर दिन पाउँदैनन् । यसरी जागिर दिन कानुनले रोक्छ । दूरसंचार क्षेत्रको नियामक निकाय भएकोले प्राधिकरणमा जागिर खानको लागि विज्ञापन खुलेको हुनुपर्छ भने विज्ञापन खुलेपछि लोकसेवा आयोगले लिने परीक्षा पास गरेर अन्तरवार्ता समेत पास गरेको हुनुपर्छ ।

सो सुचना सर्वसाधारणको व्यक्तिगत सुचना र जानकारी चोरेर दुरुपयोग गर्ने उद्देश्यले प्रकाशित गरेको प्रष्ट हुन्छ । सो फेसबुक पेजमा दिइएको लिंकमा क्लिक गर्दा लिंकट्री नामक पेज खुल्छ र त्यसमा उल्लेख गरिएको भाषा नेपाली र अंग्रेजी बाहेकको नबुझिने छ । त्यसैले यस्तो पेजको लिंक खोलेर आफ्ना व्यक्तिगत विवरण दिन घातक हुने सुचना प्रविधि विज्ञले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.