साढे १० लाखले भरे प्रभु लाइफ इन्स्योरेन्सकाे आईपीओ

  २०७७ पुष २ गते १८:१४     विकासन्युज

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले निष्काशन गरेकाे प्राथमिक सेयर(आईपीओ) मा करिब साढे १० लाख जनाले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आईपीओ निष्काशनकाे अन्तिम दिन आज बिहीबार साढे ४ बजेसम्ममा १० लाख ४४ हजार आवेदकले कम्पनीको सेयरको लागि आवेदन दिएका हुन् ।

गत मंसिर २९ गतेदेखि निष्काशन बिक्री खुला भएको उक्त आईपीओमा हालसम्म २ अर्ब ७७ करोड रुपैयाँ बराबर अर्थात २ करोड ७७ लाख कित्ता सेयरको लागि आवेदन परेको क्यापिटलले जानकारी गराएको छ । जुन कम्पनीले सर्वसाधारणमा माग गरेकाे भन्दा ५.१२ गुणा बढी आवेदन हाे । तर याे प्रारम्भिक तथ्याङ्क भएकाले अन्तिम तथ्याङ्कमा केही तलमाथि हुने क्यापिटलले जानकारी गराएको छ ।

कम्पनीले प्रतिसेयर एक सय अंकित दरको ६० लाख कित्ता बराबरको ६० करोडको सेयर बिक्री खुला गरेकाे थियाे । जसमध्ये कम्पनीको कर्मचारीहरुलाई ३ लाख कित्ता सेयर सुरक्षित गरी र ३ लाख कित्ता सेयर सामूहिक लगानीकोषहरुलाई बाँडफाँड गरिएको र बाँकी रहेको ५४ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि खुला गरिने कम्पनीले जनाएको छ ।

उक्त सेयरमा लगानी गर्न इच्छुक सर्वसाधारणले मंसिर २९ गतेदेखि छिटोमा पुस २ गते बैंकिङ्ग समय अघिनै उक्त सेयरमा आवेदन दिन सक्ने व्यवस्था थियाे । जसमा न्युनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मकाे सेयरको लागि आवेदन दिन पाइने थियाे ।

हाल कम्पनीकाे चुक्ता पुँजी एक अर्ब ४० कराेड रूपैयाँ रहेकाे छ । आईपीओ पश्चात कम्पनीको चुक्ता पुँजी बढेर २ अर्ब रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.