तीन दिनमै करिब ९ लाखले भरे प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ

  २०७७ पुष १ गते १८:१०     विकासन्युज

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले निष्काशन गरिरहेको प्राथमिक सेयर(आईपीओ) हालसम्म करिब ९ लाख जनाले आवेदन दिइसकेका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बुधबार साढे ४ बजेसम्ममा ८ लाख ९२ हजार ८२४ जना आवेदकले कम्पनीको सेयरको लागि आवेदन दिइसकेका छन् ।

तीन दिनको अवधिमा सो मात्राको आवेदन हालसम्मकै उच्च हो । गत मंसिर २९ गतेदेखि निष्काशन बिक्री खुला भएको उक्त आईपीओमा हालसम्म २ अर्ब ४८ करोड रुपैयाँ बराबर अर्थात २ करोड ४८ लाख १६ हजार ६७० कित्ता सेयरको लागि आवेदन परेको क्यापिटलले जानकारी गराएको छ । जुन कम्पनीले सर्वसाधारणमा माग गरेकाे भन्दा साढे ४ गुणा बढी आवेदन हाे ।

कम्पनीले प्रतिसेयर एक सय अंकित दरको ६० लाख कित्ता बराबरको ६० करोडको सेयर बिक्री खुला गरेकाे हाे ।

जसमध्ये कम्पनीको कर्मचारीहरुलाई ३ लाख कित्ता सेयर सुरक्षित गरी र ३ लाख कित्ता सेयर सामूहिक लगानीकोषहरुलाई बाँडफाँड गरिएको र बाँकी रहेको ५४ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि खुला गरिने कम्पनीले जनाएको छ ।

उक्त सेयरमा लगानी गर्न इच्छुक सर्वसाधारणले मंसिर २९ गतेदेखि छिटोमा पुस २ गते बैंकिङ्ग समय अघिनै उक्त सेयरमा आवेदन दिन सक्नेछन् । यो अवधिभित्र सबै आईपीओ बिक्री नभएमा ढिलोमा पुस १३ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था रहेको कम्पनीले जानकारी गराएको छ । इच्छुकले न्युनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मकाे सेयरको लागि आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

हाल कम्पनीकाे चुक्ता पुँजी एक अर्ब ४० कराेड रूपैयाँ रहेकाे छ । आईपीओ पश्चात कम्पनीको चुक्ता पुँजी बढेर २ अर्ब रुपैयाँ पुग्नेछ ।

सम्बन्धित समाचारः

६० करोडको आईपीओ जारी गरिरहेको प्रभु लाइफमा सेयर हाल्नु कत्तिको उचित ?
प्रभु लाइफका २२२ कर्मचारीलाई ३ करोडको आइपिओ, कसले कति कित्ता पाउँछन् ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.