निजी क्षेत्रको भिजन पेपर तयार गर्दै महासंघ

  २०७७ मंसिर २६ गते १०:१८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा नवनिर्वाचित पदाधिकारी सहित जमल स्थित चेम्बर भवन प्रवेश गरेका छन् । महासंघ अध्यक्ष गोल्छा नवनिर्वाचित पदाधिकारी सहित बिहिवार चेम्बरद्वारा आयोजित स्वागत आतिथ्यता साथै बधाई कार्यक्रममा उपस्थित भएका हुन् ।

नेपाल चेम्बर अफ कमर्सले जमल स्थित आफनै भवनमा स्वागत गर्दै महासंघका अध्यक्ष गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघाई र कोषाध्यक्ष सुकुन्तलाल हिराचनलाई कार्यकालको पूर्ण सफलताको कामना सहित बधाई दिएको छ ।

सो अवसरमा बोल्दै चेम्बरका अध्यक्ष श्रेष्ठले निजी क्षेत्रका प्रतिनीधीमूलक संस्था बीच विगत समय देखिनै विभिन्न कार्य र क्षेत्रहरुमा सहकार्य हुँदै आएको स्मरण गर्दै नयाँ कार्य समितीसँग पनि सहकार्य सद्भाव र समन्वय हुने आशा एवं विश्वास व्यक्त गरे । साथै, उनले दुबै संस्था तयार रहेको अनुभूति आफूलाई भएको खुलाए ।

अध्यक्ष श्रेष्ठले महासंघको इतिहासको स्मरण गर्दै महासंघको स्थापना कालदेखि यसको विकासमा चेम्बरले खेलेको भूमिका अतुलनिय रहेको बताउँदै आगामी दिनहरुमा आम जनताको क्रयशक्ती बढाउन, रोजगारी बृद्धि गर्न, राजश्व प्रशासन,व्यापार बृद्धि आयकर भन्सार दरवन्दि, उद्योगको कच्चा पदार्थमा भन्सार घटाउने, कारोवार मूल्य,मूल्य अभिवृद्धि दरको कर घटाउदै लैजाने, अन्तशुल्क, मानवलाई हानी गराउने बाहेकमा नलगाउने थ्रेसहोल्ड,चेक वाउन्स आदि यावत मुद्धाहरुमा कार्यगत एकता हुनपर्ने आफ्नो धारणा रहेको स्पष्ट पारे ।

व्यवसायीहरुले भोग्दै आएको समस्या तथा समग्र आर्थिक नीति, ऐन, काननूहरुमा देखिएको अस्पष्टता र प्रक्रियागत जटिलता हटाउनेतर्फ व्यावसायीहरुले सामूहिक प्रयासलाई एकवद्ध गर्दै लैजान समेत आवश्यक र अनिवार्य भैसकेको बताउँदै चेम्बर जिल्ला, प्रदेश र स्थानीय स्तरमा समेत विस्तार भैसकेको सन्दर्भमा सो स्तरमा समेत सहकार्य र समन्वय हुन आवश्यक रहेको औल्याए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आजको स्वागत कार्यक्रमलाई इतिहासकै घडीमा शुभ संकेतको रुपमा लिएको र निजी क्षेत्र एउटै रहेकोले फरक, फरक राजनितिक विचारधारा नबोक्ने प्रण गरे । साथै कार्यगत एकता समेत देखाउने चुनौति रहेको कुरा राख्दै विगतमा विभिन्न आयाम र क्षणमा धेरै समयमा कार्यगत एकता भएको स्मरण गरे । महासंघ अध्यक्ष गोल्छाले दुई संगठन बीच तालमेल नमिल्दा निजी क्षेत्रको समस्या समाधान गर्न अप्ठ्यारो हुने भन्दै निजी क्षेत्रको भिजन पेपर तयार गर्न लागी रहेको र सोमा चेम्बरको समेत सुझावको अपेक्षा आफुले राखेको बताए ।

कार्यक्रममा चेम्बर र महासंघका पदाधिकारीहरुले मूलुकको उच्च आर्थिक बृद्धिदर हासिल गर्न अनुकूल वातावरण सृजना गर्न, श्रम निर्यात प्रवद्र्धन, आयात व्यवस्थापन, व्यापार घाटा, रुग्ण उद्योग, कोभिडको असर, बैकिंङ, राजश्व, उपभोक्ता, लगानी प्रवद्र्धन आदि विषयमा दुवै संस्थाको मूलभूत रुपमा समान विचार र धारणा रहेको धारणा व्यक्त गरे ।

सो अवसरमा महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रको आवाज एउटै हुनुपर्नेमा जोड दिए । चेम्बरको तर्फबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले मुलुक डिजीटल भूक्तानीमा जानुपर्ने भनाई राख्दै धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा चेम्बरका उपाध्यक्ष कमलेश कुमार अग्रवाल, दिपक कुमार मल्होत्रा, महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ तथा कार्यसमिती सदस्यहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.