मौद्रिक नीतिको पहिलो समीक्षाः सेयर लगानीकर्तापछि बैंकरको बढ्यो दौडधुप

  २०७७ मंसिर २३ गते ९:५३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले सेयर लगानीकर्तासँगै बैंकरको दौडधुप बढाएको छ । समीक्षा मार्फत बैंकमा राखिने निक्षेपको व्याज अन्तर कम गर्ने नीतिगत व्यवस्था हुन लागेको जानकारी दिइएको थियो ।

राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षाबाट मुद्दति तथा बचतको व्याज अन्तर ५ प्रतिशतभन्दा बढी हुन नपाइने नीतिगत व्यवस्था गरिने जानकारी दिएको छ । सेयरधितो कर्जाको हालको व्यवस्थामा पुनरावलोकन गर्ने जानकारी दिएसँगै सेयर लगानीकर्तामा बेचैनी उत्पन्न भएर गत आइतवार सेयर बजार मापक नेप्से परिसुचक ६ प्रतिशतले घटेपछि नकारात्मक सर्किट लगाएर बजार बन्द गरिएको थियो ।

सेयरधितो कर्जाको अहिलेको व्यवस्थामा पुनरावलोकन गर्ने राष्ट्र बैंकको जानकारीपछि सेयर लगानीकर्तासँग सम्बन्धित संस्थाहरुको दौडधुप बढेको थियो । विभिन्न संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुले नेपाल राष्ट्र बैंकका अधिकारीहरुलाई भेटेर बजारमा नकारात्मक असर पर्ने नीतिगत व्यवस्था नगर्न अनुरोध गरेका थिए ।

निक्षेपको व्याज अन्तर ५ प्रतिशतभन्दा बढी हुन नपाउने नीतिगत व्यवस्था गरिने भन्ने राष्ट्र बैंकको अर्काे जानकारीले बैंकरको दौडधुप बढेको छ । अहिले बजारमा १ खर्ब ४४ अर्ब रुपैयाँभन्दा बढी तरलता भएकोले यस्तो बेलामा महंगो व्याजमा निक्षेप उठाउन नसकिने बैंकर्सको भनाइ छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गर्न लागेको नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि मुद्दति र बचतको व्याज अन्तर बढीमा ५ प्रतिशत मात्रै हुनुपर्छ । अर्थात मुद्दति निक्षेपको व्याजदर ९ प्रतिशत छ भने बचतको व्याज ४ प्रतिशत हुनुपर्छ । अहिले पनि बैंक तथा वित्तीय संस्थाहरुले मुद्दतिमा बढी र बचतमा कम व्याज दिइरहेका छन् । मुद्दतिको व्याज ९ प्रतिशतभन्दा माथि रहदा पनि बचतको व्याज २ प्रतिशतको हाराहारीमा छ ।

राष्ट्र बैंकले गर्न लागेको नयाँ व्यवस्था कार्यान्वयनमा कठिनाई हुनेभन्दै त्यस्तो व्यवस्था कार्यान्वयन नगर्न नगराउन बैंकर्सले संयुत्त पहल थालेका छन् । यही विषयमा छलफल गर्न नेपाल बैंकर्स संघले आज बैठक बोलाएको छ । सो बैठकमा निक्षेपको व्याज अन्तर ५ प्रतिशतमा कायम गरिनु पर्ने नीतिगत व्यवस्था कार्यान्वयन नगर्न नगराउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरिने निर्णय हुन सक्ने एक बैकर्सले जानकारी दिए । उनका अनुसार निक्षेपको व्याज अन्तर ५ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था कार्यान्वयन गरे बचतको व्याज बढ्नुको साटो मुद्दतिको व्याज घट्ने खतरा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.