एसके रावलः देशप्रतिको प्रेम र प्रहरी बन्न उमेरले साथ नदिएका डीसीईओ

  २०७७ मंसिर २२ गते ११:२६     नबिन पाेखरेल

काठमाडौं । विश्व प्रख्यात गायक तथा संगीतकार बब मार्लीले भनेका छन्, ‘एउटा ढोका बन्द हुदाँ के तिमीलाई थाहा छ ? दोश्रो खुलेको हुन्छ ।’ यस्तै, पाठ सिकाई भयो सगरमाथा इन्स्योरेन्स कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) एस के रावलकाे जीवनमा पनि ।

एसके रावल बीमा बजारमा एक परिचित नाम हो । बीमा क्षेत्रमा काम गरेको रावलसँग लामो अनुभव छ । वि.स २०४५ सालमा ओरियन्टल इन्स्योरेन्समा प्रवेश गरेर बीमा बजारमा काम गर्न थालेका रावलको तीन दशकभन्दा बढी समय बीमा क्षेत्रमै विभिन्न आरोह अवरोह र उतार चढावका बीच बितेको छ ।

भनिन्छ नि बगिरहेको पानीलाई न कसैको वास्ता हुन्छ नत मतलव नै । हो, त्यसरी नै आफने काममा तल्लीन छन् रावल पनि ।

बाल्यकाल

वि.स. २०२१ सालमा जन्मेका रावलको घर सुदूरपश्चिमकाे अछाम जिल्ला हो । उनकाे बाल्यकाल विभिन्न आरोह अवरोह र समस्या चुनौतीकाबिच भारतको मुम्बईमै बित्यो ।

आफ्ना बुबा पनि मुम्बईमै काम गर्ने भएकै कारण उनले आफ्नो पढाईलाई पनि मुम्बईमै निरन्तरता दिए । अधिकांश नेपालीहरु कामको खोजीमा भारतका विभिन्न शहरमा पस्छन् ।

रावलका बुवा पनि भारतमै भएको कारण उनलाई मुम्बईमै पढ्न सहज भयो । विद्यालय तहको पढाई उनले भारतमै पूरा गरे । भारतमा पढेपनि देशकोप्रतिको माया उनमा जिवित थियो । आफ्नै देशमा गएर देशको माया गर्ने उनको इच्छाले उत्कर्ष रुपले लिइहरेको थियो ।

प्रहरी बन्न नेपाल

भारतमा पढाई गरेका डीसीईओ रावल देशको माया र आफ्नो देशमै केही काम गर्नुपर्छ भन्ने सोच भएको उनी बताउँछन् । सोही कारण पनि उनले भारत छोडेर नेपाल फर्केकाे सुनाए ।

उनले नेपालमा आएर नेपाल प्रहरी बन्ने सोच बनाएका थिए । सोही अनुरुप उनले प्रहरी  बन्नका लागि आवेदन दिने पनि योजना बनाए । भारतको मुम्बईमा आफ्नो शैक्षिक योग्यता हाँसील गरेका रावललाई त्यतिखेर उनको उमेरले धोका दियो ।

प्रहरीको जागिर खान भनेर हिँडेका उनी उमेर बढी भएकै कारण फर्किएर घर आउन विवश भए । प्रहरी बन्नका लागि आवेदन दिन गएका उनलाई उमेर बढी भएको र प्रहरी बन्न अयोग्य भनेपछि दुःखी हुँदै घर फर्केको उनी सुनाउँछन् ।

देशप्रतिको उनको माया अझै‌ं जीवित नै  छ । विदेशमा पढेपनि आफ्नै देशमा केही गर्नु पर्छ भन्ने सोच उनमा निकै थियो । र, अहिले पनि छ ।

बीमा क्षेत्रमा प्रवेश

नेपालमै केही  गर्ने सोच भएका रावल जागिरकाे खोजीमा थिए । दैनिक प्रकाशित हुने पत्रपत्रिका उनका जागिर खोज्ने सारथी थिए । उनी भन्छन्, ‘सधैँको पत्रिकाका पाना–पानामा मेरो आँखा जान्थे, जागिरको खोजी अर्थात कतै भ्याकेन्सी छकि भनेर खोज्थेँ, तर रोजेको जस्तो भेटिन्थेन ।’

एकदिन उनको हातमा पर्यो दि राइजिङ नेपाल । राइजिङ नेपालमा भ्याकेन्सीको लागि आवेदन माग गरेको रहेछ । त्यो बीमा कम्पनीको लागि थियो ।

त्यो क्षण आफु निकै खुसी भएको उनी बताउँछन् । ‘भारतमा हुने बखतमा पनि मैले अलि अलि बीमा सम्बन्धि थाहा पाएको थिएँ, बीमा मेरो इच्छाको विषय पनि हो, त्यो देखेपछि मैले आवेदन दिएँ, भाग्यवस छनोट पनि भएँ,’ उनले खुसी हुँदै सुनाए ।

उनले अब ओरियन्टलबाट काम सुरु गर्ने भए । २०४५ सालबाट बीमामा प्रवेश गरेका उनले ओरियन्टलमा एसिस्टेन्ट पदबाट काम सुरु गरेको बताउँछन् । उनले ८ वर्षसम्म सोही कम्पनीमा लगातार काम गरि रहे ।

त्यस पश्चात उनको २२ वर्ष नेको इन्स्योरेन्समा बित्यो । उनले २२ वर्षसम्म नेकोमा काम गरे । त्यहाँ आफुले एसिस्टेन्टबाट एजिएमसम्म बन्ने मौका पाएको उनी बताउँछन् ।

यसरी दिनहरु बित्दै गए । उनमा बीमा सम्बन्धि ज्ञानको दायरा फराकिलो बन्दै गयो । अहिले उनी सगरमाथा इन्स्योरेन्समा डीसीईओका रुपमा कार्यरत छन् । सगरमाथामा डीसीईओ बनेको पनि ४ वर्ष भइसकेको छ । दिनप्रतिदिन उनी झन परिपक्क र दृढ बन्दै गएका छन् ।
नबुझिकनै बीमा क्षेत्रमा लाग्ने र बीमा क्षेत्रमा लागेपछि यसको बारेमा बुझ्दै जानेहरुपनि अधिकांश हुने गरेको उनको अनुभव छ ।

पारिवारिक पृष्ठभूमी

डीसीईओ एसके रावल घरका एक्ला छोरा हुन् । स्थायी घर सुदूरपश्चिमको अछाम जिल्ला भएका उनको हालको बसाईँ भने कैलालीको टिकापूरमा छ ।

घरकाे एक्लो छोरो त्यसमा पनि बुवाको निधन भइसकेको छ । त्यसैले पनि हो घरको सम्पूर्ण जिम्मेवारी उनी माथि नै छ । जीवनमा आएका अनेकन आरोह अवरोहहरुलाई चुनौती दिँदै डीसीईओ रावल अगाडि बढिरहेका छन् ।

बीमा क्षेत्रमका प्रवेश गर्नको लागि २०४५ सालमा काठमाडौ छिरेका रावल त्यस पश्चात घर नफर्केको बताउँछन् । ‘म यतै काठमाडौंमै छु, अहिले लोकन्थलीमा बस्दै आएको छु, जीवनका चुनौतीहरुलाई सामना गर्दै अगाडि बढिरहेको छु, रावल भन्छन् ।’

घुमघाम तथा रमाइलो

साथीहरुसँग बसेर रमाइलो गर्नु रमाइलो ठाउँ घुम्नु पनि आफुमा भएको अर्को विषेशता तथा  भएको उनी बताउँछन् । तर, समयका कारण त्यतातिर धेरै समय खर्चिने नगरेको उनको भनाई छ ।

‘बीमा कम्पनीमा काम गर्दा धेरै पार्टीहरुमा सहभागी हुने मौका मिल्छ, कुनै–कुनै पार्टीमा मदिरा पिउँछु पनि, त्यो समय अनुसार पिइन्छ,’ उनले भने ।

बीमामा सम्झन लायकको क्षण

बीमा क्षेत्रमा एउटा घटना सधै उनलाई सम्झन लायकको लाग्छ । त्यो घटना २०७२ साल वैशाख १२ गते गएकोे विनाशकारी भुकम्पसँग सम्बन्धित छ । भूकम्पको कारण हजारौं घरहरु भत्किए ।

धेरै मानवीय क्षति भयो । भौतिक क्षति पनि त्यतिकै । त्यतिखेर बीमा गरेकाहरुलाई एक किसिमको ढुक्क बन्ने अवसर पनि बन्यो । रावलका अनुसार उनको बीमा क्षेत्रमा हालसम्मको अनुभवमा त्यतिधेरै दावी परेको पहिलो पटक हो । त्यो नै उनको लागि अविस्मरणीय घटना बन्यो ।

बीमितले दाबीको भुक्तानी पाउँदा निकै खुशी र राहत महशुस गरेको तथा बीमा कम्पनीहरुले समेत त्यस्तो बेलाको समेत भुक्तानी गरेकोमा उनले खुशी महसुस भएको उनी बताउँछन् ।

‘त्यतिबेला सर्भेयरको अभाव पनि थियो, बीमा कम्पनीहरुले दाबी भुक्तानी के गर्लान् भन्ने सबैको चासोको विषय बनेको थियो, बीमा कम्पनीहरुले पनि नेपालमा त्यति ठूलो क्षतीको अनुभव त्यो भन्दा अगाडी गरेका थिएनन्, तर त्यस्तो अवस्थासम्म ह्यान्डल गरेका बीमा कम्पनीहरु अहिले बीमितको मन मस्तिष्कमा बसिसकेका छन्,’ उनले भने ।

उनका अनुसार अहिले पनि सगरमाथा इन्स्योरेन्स कम्पनी दाबी भुक्तानी सहजै दिँदै आएको छ । यो सबै एउटा बीमितहरुको विश्वासकै कारण भएको उनी सुनाउँछन् ।

बीमितलाई सन्देश

बीमा भनेको अर्थतन्त्रको अभिन्न अंग हो । धेरैलाई बीमा सम्बन्धि जानकारी समेत छ । राष्ट्र विकासमा समेत बीमा सधैँ सहयोगी हुन्छ । राष्ट्र विकसिति भएपनि बीमा नभएका देशहरु अहिलेको समयमा आर्थिक विकासमा अधुरो हुन्छन् ।

सुरक्षाको लागि बीमाको आवश्यकता पर्छ । बीमा भएन भने सुरक्षाको आभास हुँदैन । ठूला ठूला जोखिम र खतराहरु र स साना आवश्यकतासम्म नै बीमा अपरिहार्य छ । दिनप्रतिदिन जीवनमा विभिन्न आवश्यकता पर्छन् ।

ती आवश्यकतारुहरुमध्ये बीमा पनि एक महत्वपर्ण विषय बनिसकेको छ । हाम्रो विकासन्मोखु छ । हाम्रो देशमा त झन बीमाको आवश्यकता झनै बढी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.