यसकारण किशोर प्रधानलाई रोजे‌ं: दिनेश श्रेष्ठसँगको अन्तर्वार्ता

  २०७७ मंसिर ९ गते १०:२९     विकासन्युज

नेपाल उद्योग वाणिज्य महासंघको चुनावी रौनक निकै तातेको छ । मंसिर ११ गतेदेखि १३ गतेसम्म हुने ५४औं वार्षिक साधारणसभा र निर्वाचनमा आफ्नो जित सुनिश्चित गर्न उम्मेदवारहरु उद्योगी व्यवसायी अर्थात मतदाताहरु समक्ष आफ्ना एजेण्डाहरु राख्नमै व्यस्त छन् । महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा उम्मेदवारी दिनु भएका दिदेश श्रेष्ठ पनि चुनावी माहोलमै व्यस्त हुनुहुन्छ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष समेत रहनुभएका श्रेष्ठले धुलिखेल उद्योग वाणिज्य संघबाट उम्मेदवारी दिनु भएको छ । उनै श्रेष्ठसँग हामीले उहाँका चुनावी एजेण्डा र महासंघको चुनावी रौनकका बारेमा कुराकानी गरेका छौं । प्रस्तुत छ उक्त कुराकानीको अंश ।

जिल्ला नगरतर्फको उपाध्यक्षमा उम्मेदवारी दिनु भएको छ । तपाईँका एजेण्डाहरु के–के हुन् ?

मेरो एजेण्डा भनेको सम्मुनत र सक्षम जिल्ला नगर संघ नै बनाउने हो । जिल्ला नगरको भूमिकालाई शसक्त बनाउने मेरो प्रमुख एजेण्डा हो । अहिले जिल्ला नगरबाट महासंघमा ५० प्रतिशत सहभागिता छ । तर, भूमिका भने ५० प्रतिशत छैन । mत्यसलाई शसक्त बनाउने पहल मेरो रहन्छ । जिल्लाका उद्योगी व्यवसायीको हक हितका र करदाताको हकहितका लागि काम गर्ने र समस्याको समाधान गर्ने हाम्रो एजेण्डा हुन् । कानुन तथा नीति निर्माणका मुद्ददा सम्मानजनक रुपमा अगाडि बढाउने पनि हाम्रा प्राथमिकताका विषय हुन् ।

कोरोना भाइरसको महामारीमै पनि तपाइँहरुलाई चुनाव निकै लाग्यो है ?

चुनाव अनवरत विषय हो । चुनाव लाग्नु हाम्रो नियमित प्रक्रिया पनि हो । यो अझै पनि ढिलाई भइसकेको छ । कोरोना भाइरसको असर कहिले सम्म रहन्छ भन्ने यकिन पनि छैन । कोरोना भाइरस र महासंघको चुनावलाई अलग–अलग पक्षबाट हेरेर काम गर्नु पर्ने हुन्छ । कोरोना भाइरसले परेको असरलाई न्यूनिकरण गर्नको लागि हामीले हाम्रा गतिविधिहरु अवश्य नै बढाउनु पर्छ ।

तपाइँले किशोर प्रधान पक्षबाट जिल्लानगर उपाध्यक्षका लागि उम्मेदवारी दिनु भएको छ । प्रधानमा के सवल पक्ष छ जसले तपाइँलाई उहाँकै प्यानलबाट उम्मेदवारी दिने मनसाय बनाउनु भयो र चन्द्र ढकालमा के कमजोरी छ र उहाँलाई रोज्नु भएन ? 

कमजोरी र सवल पक्ष भन्ने होइन । महासंघका किशोर दाईको २८ वर्षदेखिको योगदान छ । त्यस्तै, २० वर्षदेखि मैले निजी क्षेत्रको विकासका लागि भूमिका खेलेको छु । यो साथीहरुको आवश्यकता र सर–सल्लाह अनुसार नै समूह बन्ने रहेछ । यो एउटा प्रक्रिया हो । यसमा कोही राम्रो र नराम्रो भन्न हामी चाहन्नौं । आफ्ना विचार लिएर अगाडि बढ्ने हो । त्यस कारण हाम्रो पक्षमा भएका जति साथीहरु हुनुहुन्छ निजी क्षेत्रमा लामो समयदेखि काम गरेका र गर्दै आएकाहरु छन् । उनीहरु हामीलाई पत्याउनुहुन्छ भन्ने पनि मलाई लाग्छ ।

तपाईले जिल्ला नगरतर्फको उपाध्यक्षमा उम्मेदवारी दिनु भएको छ । तपाईलाई जिल्ल्ला नगरका उद्योगी व्यवसायीले पत्याउने अवस्था कत्तिको छ अर्थात तपाईको समर्थनमा कति व्यवसायीहरु छन् ?

जिल्ला नगरका साथीहरुले दिनु भएको सुझावहरु र उहाँहरुले दिनु भएको साथले नै मलाई उर्जा मिलेको हो । अहिले निर्वाचनमा मात्र होइन आगामी तीन वर्षसम्म पनि साथ दिने उहाँहरुले बचन दिइसक्नु भएको छ । पूर्व अध्यक्षदेखि वर्तमान अध्यक्षले साथ दिएको टीमले समेत यस्तो टीम चाहिन्छ भनेको हुनाले मलाई लाग्छ जिल्ला नगरका साथीहरुले हामीलाई विश्वास गर्नुहुन्छ । अहिलेसम्म काम हुन सकेन भनेर पनि आवाज उठ्छ । काम गर्नको लागि राम्रो टीमको आवश्यकता छ । यो टीम काम गर्छ भन्ने कूरामा उहाँ विश्वस्त हुनुहुन्छ । यसका लागि उहाँहरु सहयोग गर्नुहुन्छ भन्ने मलाई लाग्छ ।

तपाईँसँग कत्ति मतदाता छन् अर्थात तपाईँलाई कत्तिले साथ दिएका छन् भन्न मिल्छ ?

कत्ति मत छन् भनेर खल्तिमा मत राख्ने कूरा होइन । यो जिल्ला नगरका अध्यक्षहरुको अधिकारको कूरा हो । यो उहाँहरुको हातमा छ । मलाई काम गर्ने अवसर दिने वा नदिने भन्ने उहाँहरु हजारौं व्यवसायीहरुको नेतृत्व गरेर जिल्लामा बस्दै आउनु भएको छ । उहाँहरुसँग राम्रो मान्छेलाई निर्वाचित गर्न सक्ने क्षमता छ । उहाँहरु आफै निर्णय लिन सक्नु हुन्छ । उहाँहरु यसको नतिजा १३ गते दिनुहुन्छ । हामी आशावादी छौं कि उहाँहरुले हामीलाई रोज्नुहुन्छ ।

तपाइँहरुले चुनावी प्रचारप्रसार बढाइरहनु भएको छ । समस्यामा परेका व्यवसायीहरुलाई राहत चाहिएको समयमा तपाईहरु भोट माग्न गइरहनु भएको छ । उहाँहरुले के–कस्तो प्रतिक्रिया दिनुहुन्छ ?

निर्वाचन हुँदा पनि वा नहुँदा पनि व्यवसायीको राहतका लागि हामी राज्यलाई घचघच्याइरहेका छौं । निजी क्षेत्रको विकास भयो भने राज्यलाई पनि फाइदा हुन्छ । आयकर बढ्छ । राज्यले कुनै क्षेत्रबाट २५ प्रतिशतको नाफा लिन्छ भने त्यस क्षेत्रको विकास गर्न तथा समस्या परेको बेला राहत वितरण गर्ने काम पनि गर्नु पर्छ भनेर हामी लागि परेका छौं । यो समायानुकुल अनुसार निर्वाचन हुन्छ । निजी क्षेत्रलाई नेतृत्व दिने विषय छ यसलाई प्रयोग गर्नको लागि निर्वाचन भएको हो । यो दुवैलाई एउटै रुपमा प्रयोग गर्नु हुँदैन । महासंघको गति दिनको लागि यो एउटा प्रक्रिया मात्र हो ।

अहिले चुनावी प्रचार प्रसारका लागि तपाइँहरु विभिन्न ठाउँमा गइरहनु भएको छ । जिल्लानगरमा जाँदा के–कस्ता समस्या देख्नु भयो । ती समस्या समाधानमा तपाईँको पहल के हुन्छ ?

जिल्ला नगरको मुख्य समस्या भनेको तिनीहरुलाई सक्षम र सवल बनाउनु पर्नेछ । सबै जिल्ला नगरमा एउटै समस्या छैन । अहिले सबैको साझा समस्या भनेको अहिले मनपरि ढंगबाट कानुनहरु बनिरहेका छन् । काम गर्न पनि असहज छ । कामबाट विस्थापित हुनु पर्ने अवस्था छ । कामको माग कम भएको अवस्था छ । उत्पादन कम भएको अवस्था छ । खर्च घटाउन नसकिरहेको अवस्था छ । यसबाट मुक्ति दिनको लागि व्यवसायीहरुलाई राहतको प्याकेज आउनु पर्छ । राहत आउनु पर्छ भन्ने हाम्रो माग हो । ठूला र मध्यम स्तरका उद्योग प्रतिष्ठानहरुलाई पनि सहयोग हुनुपर्छ भने नयाँ उद्योग व्यवसायीहरु आउने वातावरण सिर्जना गर्नुपर्छ । उनीहरुका लागि अनुदान तथा छुटका सुविधाहरु पनि हुनुपर्छ ।

अहिले स–साना उद्योगी व्यवसायीका पनि धेरै समस्याहरु छन् । कर र रोजगार सम्बन्धि समस्याहरु छन् । यी विभिन्न समस्याहरुको समाधानका लागि मेरो भूमिका महत्वपूर्ण हुन्छ र म यसकै लागि अगाडि बढ्छु । एक हामीसँग कानुनहरुको अभाव छ । उपभोक्ता ऐन पुनर्लेखन लगायतका कानुनहरु खारेज हुनुपर्छ भन्ने हाम्रो भनाई छ । यी विभिन्न समस्याहरु समाधान गर्न हामी अगाडि बढ्छौं ।

तपाईँका प्रतिष्पर्धीका रुपमा ढकाल पक्षबाट गुणनीधि तिवारी रहनुु भएको छ । तिवारीभन्दा तपाइँ के फरक ? तपाईँलाई मतदाताले किन मतदान गर्ने ?

मलाई मतदान किन गर्ने भन्ने कूरा सबैलाई थाहा छ । मैले गरेको काम र मैले महासंघमा गरेको योगदान र मेरो अनुभवका आधारमा मतदाताले मलाई मतदान गर्नुहुन्छ । मैले र मेरो टीमबाट भएका रोजगार, कर, बैंक सम्बन्धि कामहरुको नतिजा र योगदान नै मलाई मतदान गर्ने आधारहरु हुन् ।
ती आधारहरु हेरेर मतदाताहरुले हामीलाई यो पटक मत दिएर जिताउनु हुन्छ भन्ने कूरामा म विश्वस्त छु । साथीहरुले जुन भावना व्यक्त गर्नु भएको र दिनु भएको बचन छ हाम्रा लागि उर्जा मिलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.