सामाजिक सुरक्षा कोष कार्यविधि संशोधन: आवश्यक परे ऋण पाइने, जागिर गए व्याजसहित सबै रकम फिर्ता

  २०७७ मंसिर ७ गते १४:५५     विकासन्युज

काठमाडाैं । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा कोष नियमावली संशोधन गर्ने तयारी गरेको छ । त्यसका लागि कोष सञ्चालक समिति सदस्य एवं अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माको संयोजकत्वमा कार्यकारी निर्देशक, कानून मन्त्रालय, ट्रेड युनियन तथा रोजगारदाताको प्रतिनिधित्व रहेको उपसमिति गठन गरी योजना परिमार्जनको तयारी गरिएको हो ।

कोषले सामाजिक सुरक्षा योजनाप्रति आकर्षण बढाउन योगदानकर्ताको चाहनाअनुसार केही योजना परिमार्जनको प्रस्ताव अगाडि सारेको हो । समितिले गरेका प्रस्ताव अनुसार अब योगदानकर्ताहरुले आफुले कोषमा जम्मा गरेको रकम फिर्ता पाउन सक्नेछन् । कोषका प्रवत्ता विवेक पन्थीका अनुसार अब योगदानकर्ताले आफुले योगदान गरको रकमको व्याजसहित रकम फिर्ता पाउन सक्ने प्रस्ताव अगाडि सारिएको हो ।

उपसमितिले रोजगारदाता र श्रमिकको कुल ३१ प्रतिशत योगदानमध्ये वृद्धअवस्था सुरक्षा योजनाअन्तर्गतको २८.३३ प्रतिशत रकमलाई ‘ब्रेकडाउन’ गरी २० प्रतिशतबाट पेन्सन र बाँकी ८.३३ प्रतिशतबाट अवकाश सुविधा दिने प्रस्ताव गरेको छ । यसबाट ६० वर्ष उमेर नपुगेका योगदानकर्ताले रोजगारीमा संलग्न नभएको अवस्थामा ८‍.३३ प्रतिशतबाट उपदानरअवकाश सुविधा प्राप्त गर्न सक्नेछन् । योगदानकर्ताले ६० वर्ष पुगेपछि २० प्रतिशतबाट पेन्सन सुविधा प्राप्त गर्न सक्नेछन् ।

पन्थीका अनुसार आगामी चैतभित्र सामाजिक सुरक्षा कोषमा आवद्ध भएकाहरुको कारणवस जागिर छुटेमा वा कोषमा आवद्ध हुन नचाहेमा जम्मा गरेको रकमसहति व्याज प्राप्त गर्न सक्नेछन् भने त्यसपछि आवद्ध भएकाहरुले निश्चित रकम फिर्ता पाउनेछन् ।

योगदानकर्ता रोजगारीबाट विमुख भएपछि पेन्सनका लागि ६० वर्षसम्म कुर्नुपर्ने गुनासोलाई सम्बोधन गर्न सो व्यवस्था गर्न लागिएको हो । “बीस प्रतिशतबाट आयको निरन्तरता होस् भन्नका लागि योगदानकर्ता ६० वर्ष पुगेपछि पेन्सनका रुपमा आर्थिक सहायता पाउनेछन्”, उनले भने, “बाँकी ८.३३ प्रतिशतलाई अवकाश सुविधा योजना अन्तर्गत राख्न लागिएको हो । यदि योगदानकर्तालाई बीचैमा रकम आवश्यक परेको खण्डमा सापटीका रुपमा पनि झिक्न पाउने र रोजगारीबाट अलग भए पनि सो रकम झिक्न पाउनुहुनेछ ।” कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत संस्थाबाट योगदानकर्ताले सञ्चित रकममध्येबाट आवश्यकता परेको खण्डमा केही रकम झिक्न पाउने अभ्यास प्रचलनमा छ ।

यस्तै औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा पनि सामान्य परिमार्जनको प्रस्ताव गरिएको छ । कोषमा योगदान गर्न शुरु भएको तीन महिना पछाडिदेखि योगदान गर्न छाडेको तीन महिनासम्म यो योजना लागू हुने व्यवस्थालाई परिमार्जन गरी ६० वर्षपछि पेन्सन सुविधामा बसेको योगदानकर्तालाई ७० वर्षसम्म पनि औषधि उपचार स्वास्थ्य सुविधा दिन प्रस्ताव गरिएको छ । यसैगरी योगदानकर्ता प्रसूति भएपछिको ६ हप्तासम्मको उपचार खर्च दिन प्रस्ताव गरिएको छ । आइएलओ अभिसन्धि, अन्तर्राष्ट्रिय प्रचलनअनुसार यसलाई समायनुकूल बनाउन लागिएको हो ।

यसअघि गर्भावस्थाको परीक्षण तथा तीन महिनासम्मको शिशुको उपचार खर्च मात्र कोषले व्यहोर्ने व्यवस्था थियो । आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत रोजगारीका शिलसिलामा विदेशी योगदानकर्ताको मृत्यु भएको अवस्थामा एकमुष्ट रकम लिन सक्ने प्रस्ताव गरिएको छ ।

प्रस्तावित योजनाले लामो समयदेखि श्रमिकले माग गर्दै आएको विषयलाई धेरै हदसम्म सम्बोधन गर्ने कोषका प्रवक्ता पन्थी बताउँछन् । उपसमितिले तयार गरेको प्रस्ताव कोष सञ्चालक समितिले अनुमोदन गरी स्वीकृतिका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइने उनले जानकारी दिए । “प्रस्तावित योजनाका बारेमा उपसमितिमा अन्तिम छलफल भइरहेको छ, सञ्चालक समितिले अनुमोदन गरी स्वीकृतिका लागि मन्त्रालयमा जान्छ”, उनले भने, “मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत भए पछि नयाँ योजना लागू हुन्छ ।” यही मङ्सिर ११ गतेभित्र प्रस्तावित योजनाले मूर्तरुप पाउने गरी तयारी अगाडि बढाइएको कोषले जनाएको छ ।

कोषले सामाजिक सुरक्षाको दायरालाई फराकिलो बनाउँदै अब छिट्टै अनौपचारिक क्षेत्र तथा स्वरोजगारमा संलग्नलाई पनि योजनामा समेट्ने तयारी गरेको छ । सरकारको नीति तथा कार्यक्रममा पनि अनौपचिारक तथा स्वरोजगारमा संलग्नलाई पनि सामाजिक सुरक्षा योजनामा समेट्ने घोषणा गरिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.