प्राधिकरणमा कुलमानको अभाव खड्कियो, तिहारमा काठमाडौं अध्याँरो

  २०७७ कार्तिक २९ गते १८:५५     विकासन्युज

काठमाडौं । वर्षभरीको सबैभन्दा बढी विद्युत खपत हुने दिन आज अर्थात लक्ष्मी पूजाको दिन हो । आजको दिन विद्युत प्राधिकरणले देशभर बिजुली जान नदिनको लागि पहिले नै तयारी गरेर देशभर उज्यालो बनाउने नीति लिन्छ ।

यो शिलशिला विगत ४ वर्षदेखि चल्दै आएको छ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ प्राधिकरणमा भित्रिएदेखि नेपाली नागरिकले कुनै पनि लक्ष्मी पूजा अर्थात तिहारमा बत्ती जान्छ कि भन्ने चिन्ता लिनु परेन ।

अहिले घिसिङ प्राधिकरणबाट बाहिरिसकेका छन् । उनी बाहिरिएसँगै नागरिकहरुले पटक–पटक बत्ती आउने जाने समस्याले पनि हैरानी व्यहोर्नु परेको छ ।
हुन त आजको दिनमा प्राधिकरणले प्राधिकरणसँग प्रयाप्त मात्रामा विद्युत रहेकोले चाहेजति खपत गर्न आग्रह पनि गरेको छ । तर, प्राधिकरणले भने जस्तो यो लक्ष्मी पूजामा बेला-बेला बत्ती आउने जाने समस्या भइहरेको छ ।

आज काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा घरीघरी बत्ती जाने आउने समस्या भइरहेको छ । काठमाडौंको कलंकीमा मात्रै आज ५/६ पटक बत्ती आउने जाने समस्या भयो ।

देशमा व्यापक लोडसेडिङको बिचमा पनि कुलमान भित्रिएकै वर्ष काठमाडौं झिलिमिली भएको थियो । तर, नेपाल सरकारले लोडसेडिङ अन्त्य गरेको धेरै समय बितिसक्दा पनि यो लक्ष्मीपूजामा त्यो समस्या दोहोरिएको छ ।

नेपाल विद्युत प्राधिकरणले स्वदेशी उत्पादनबाटै बिजुलीको माग व्यवस्थापन गर्ने बताएको थियो । तर, आजको दिनमा बिजुलीको माग बढेपछि बेला बेला बत्ती आउने जाने समस्या भइरहेकाे छ । यसले तिहारको रौनक घटेको आभास आम नागरिकले गरेका छन् ।

जतिसक्दो धेरै विद्युत खपत गर्न आग्रह गर्दै प्राधिकरणले अघिल्ला वर्षजस्तै यसपटक पनि विद्युत नकाटिने बताए पनि आज भने पटक–पटक बत्ती जाने आउने भइरहेको छ ।

प्राधिकरणले भने बत्ती गएको ठाउँमा केही समस्या भएको हुन सक्ने बताएको छ । प्राधिकरणकी सूचना अधिकारी लिला अर्यालले कतै लाइन काटिएर वा कुनै समस्या भएर बत्ती गएको हुन सक्ने बताइन् ।

बत्ती गएको ठाउँमा पनि धेरै बेर अवरुद्ध नहुने उनको भनाई छ । वितरण प्रणाली अवरुद्ध नहुने तरिकाले प्राधिकरणले व्यवस्थापन गरिरहेको उनले बताइन् ।
उनका अनुसार लक्ष्मी पूजाको दिन देशमा पिक लोड करिब ११५० देखि ११८० मेगावाट रहने अनुमान प्राधिकरणको छ ।

लक्ष्मीपूजामा सबै औद्योगिक उत्पादन पनि बन्द हुने र अरू दिनभन्दा विद्युत खपत कम हुने भएकाले विद्युत कटौती नहुने प्राधिकरणको भनाइ थियो । अघिल्लो वर्ष लक्ष्मीपूजाको पिक लोड करिब ११३० मेगावाट थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.