अमेरिकाले नेपाललाई दियाे एक सय थान भेन्टिलेटर, सरकारी अस्पताललाई दुई-दुईवटा

  २०७७ कार्तिक २८ गते १२:४८     विकासन्युज

काठमाडौं । कोभिड १९ विरुद्धको लडाईमा सहयोग पुर्याउन अमेरिकी सरकारले नेपाललाई एक सय थान भेन्टिलेटर सहयोग गरेको छ । अमेरिकाले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी) मार्फत नेपाललाई भेन्टिलेटर सहयोग गरेको हो ।

नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तानतरण गरेका हुन् । भेन्टिलेटर हस्तान्तरणपछि राजद्युत बेरीले असल र खराब सबै समयमा अमेरिका नेपालसँग साझदारी गर्न प्रतिवद्ध रहेको बताए । अति दुर्गम क्षेत्रका समुदायको उपचारमा समेत प्राप्त भेन्टिलेटरले सहयोग पुर्याउने उनले बताए । ७० वर्षभन्दा लामो समयदेखि विपद्, द्वन्द र कठिन अवस्थामा अमेरिकाले नेपाललाई सहयोग गर्दै आएको उल्लेख गर्दै उनले सहकार्यलाई निरन्तर्ता दिन कोरोना महामारीको समयमा पनि सहयोग गरेको बताए ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिड विरुद्धको लडाईका लागि जनधनको सुरक्षा गर्न अमेरिकाले सुरुवाती चरणबाटै सहयोग गर्दै आइरहेको उल्लेख गर्दै अहिले ठूलो संख्यामा भेन्टिलेटर सहयोग गरेको प्रति धन्यवाद ज्ञापन गरे । उनले प्राप्त भेन्टिलेटर शुक्रबार १२ बजेबाट नै विरतण सुरु गरिएको बताए । सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई ७/७ वटाका दरले वितरण गरिने र बाँकी रहेको भेन्टिलेटरहरु हरेक सरकारी अस्पताललाई दुई-दुईवटाका दरले वितरण गरिने उनले बताए ।

भेन्टिलेटरका अतिरिक्त युएसआइडीले देशका १ सय १३ पालिकामा संक्रमण अनुसन्धान टोलीलाई सहयोग गरेको छ । अहिलेसम्म २० लाख परिवारलाई टेलिफोनमार्फत परामर्श समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.