भक्तपुरमा विश्वकै अग्लो त्रिशुल निर्माण हुने, लागत २ करोड ७० लाख रुपैयाँ

  २०७७ कार्तिक २५ गते १७:५२     विकासन्युज

भक्तपुर । भक्तपुरको चागुँनारायण नगरपालिकामा विश्व कै अग्लो त्रिशुल स्थापना हुने भएको छ । महाँकाल त्रिशुलडाँडा उपभोक्ता विकास समितिले चागुँनारायण नगरपालिका वडा नं ५ स्थित धार्मिक महत्वको दोलागिरी पर्वतमा अवस्थित मुलकोटगढी महाँकाल त्रिशुलडाँडामा विश्व कै अग्लो त्रिशुल स्थापना गर्न लागेको छ ।

समितिले त्रिशुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको जानकारी नगरपालिकालाई समेत गराएको छ । कुल २ करोड ७० लाख रुपैयाँ लागतमा विश्व शान्ति राष्ट्र कल्याण हेतुले निमार्ण हुन लागेको त्रिशुलको लम्बाई जमिनको सतहबाट एक सय फिट उचाईको हुने छ भने जमिन मुनि करिब साढे आठ फिट हुने छ ।

भित्रिभागमा फलाम र बाहिरी भागमा तामाको धातुले निमार्ण हन लागेको त्रिशुलको तल्लो भागमा करिब १ सय ५० जनासम्म अट्न सक्ने ध्यान केन्द्र समेत निर्माण हुने समितिका अध्यक्ष श्रीकृष्ण खड्काले जानकारी दिए । उनले पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका माथि आक्रमण गर्ने क्रममा सो स्थानमा मुल गढी भएको कारण पनि मुलकोटगढी सांस्कृतिक र धार्मिक एवं ऐतिहासीक महत्वको भएको बताए । उनले मुलकोटगढी महाँकालमा विश्वकै अग्लो त्रिशुल स्थापना भएपछि पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने समेत बताए ।

चागुँनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले मुलकभर बढ्दो क्रमममा रहेको कोरोना भाइरसको जोखिमका कारण नगरपालिकाले मठ, मन्दिर, पाटी पौवा लगायत निमार्ण गर्ने भन्दा पनि स्वास्थ्य पूर्वाधार निमार्णमा जोड दिएको बताए । यद्दपी, मिश्रले कोरोना भाइरस संक्रमणको जोखिम कम हुदैं गए त्रिशुल निर्माणका लागि महानगरले पनि सक्दो सहयोग गर्ने बताए ।

मुलकोटगढीमा विश्व कै अग्लो त्रिशुल बाहेक ५५ फिट अग्लो गोरखनाथको मन्दिर, मुलकोटगढी द्धार, सत्तल, त्रिशुल डाँडादेखि साँखुसम्म जोड्ने सिडी मार्ग लगायत निमार्ण गर्ने गुरुयोजना समेत रहेको छ । त्रिशुलको शिलान्यास यही मंसिर २२ गते हुने छ भने करिब ९ महिनामा निमार्ण सम्पन्न हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.