धादिङ अस्पतालमा भेन्टिलेटर र आइसीयूकक्ष निर्माण हुँदै, एक हप्तामा संचालनमा आउने

  २०७७ कार्तिक १९ गते ९:३३     विकासन्युज

धादिङ । धादिङ अस्पताल धादिङमा एक साताभित्र भेन्टिलेटर जडान गरी सेवा शुरु गरिने भएको छ । वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा धादिङ अस्पतालमा दुईवटा भेन्टिलेटर राख्न लागिएको हो ।

धादिङ अस्पताल परिसरको बिरामी भर्ना गरिने क्षेत्रसँगै रहेको क्षेत्रमा अहिले भेन्टिलेटर राख्ने र बिरामीलाई कुर्ने आइसीयूमा राखिने स्थान बनाउँदै गरेको तथा एक सातामा तयार हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले बताएका छन् । अस्पतालले दुई भेन्टिलेटर र आठवटा आइसीयू शय्यासहितको थप सेवा दिन निरन्तर लागिरहेको र एक सातापछि अस्पतालले सेवा शुरु गर्न सकिने अवस्थामा पुगेको जनाएको छ ।

कोभिड–१९ उपचारका लागि स्थापना गरिने भए पनि यो सेवा शुरु भएपछि जिल्लामै सुविधासम्पन्न अस्पतालको रूपमा रहने भएको छ । आइसीयू र भेन्टिलेटर राखिएपछि बिरामीले जिल्लामै अति संवेदनशील अवस्थामा समेत सेवा पाउनेछन् भने गरिब नागरिकले घरआँगनमै निःशुल्क सेवा पाउने अवस्था आएको अस्पतालका अध्यक्ष धमलाको भनाइ छ ।

अस्पतालमा भेन्टिलेटर सेवा सञ्चालन भएपछि गम्भीर बिरामी भएकाहरुले समेत उपचार पाउने र सबै किसिमको विशेषज्ञ सेवासमेत रहने धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताएका छन् । हाल धादिङ अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवामा दैनिक १०० भन्दा बढी बिरामी आउने गरेका छन् भने विषेशज्ञसहितको टोलीले सेवा दिइरहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.