नेपाली व्यापारीको १५ अर्बका सामान १ वर्षदेखि चिनियाँ सीमामा अलपत्र, जाडोका कपडा छैनन् बजारमा

  २०७७ कार्तिक १८ गते १४:५९     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकासहितका बजारमा जाडो मौसममा लगाउने बाक्ला र न्यानो कपडाको अभाव देखिएको छ । चीनबाट आउने ज्याकेट, स्वीटर, हाइनेक, हुक्सलगायतका सामानको अभाव देखिएको हो ।

गत वर्ष नै पैसा तिरेर किनेको सामान अझै पनि चीनमै रोकिएकोले यसवर्षको लागि थप सामान आयात गर्न नसकिएको व्यापारीले बताएका छन् । कोरोना भाइरस संक्रमणलाई कारण देखाएर चीनले गत वर्षदेखि नै नेपाल आउन नाकामा आएका सामान अझै छोडेको छैन ।

एक वर्ष अघि नै रकम तिरेर नेपाल ल्याउन लागिएको सामान अझै पनि चीनमा रोकिएकोले बजारमा जाडो मौसममा लगाउने कपडाको अभाव भएको आयातकर्ता इश्वर गुभाजुले जानकारी दिए ।

‘ऋण धन गरेर पोहोर नै पैसा तिरिसकेको सामान एक वर्षदेखि नाकामा आएर रोकिएका छन्, कोरोना भाइरस संक्रमणलाई कारण देखाएर चीनले सामान छोडेको छैन, एकातिर पोहोरकै लगानी फसिरहेको छ भने अर्काेतिर थप सामान हाल्दा पनि पैसा जाने सामान नआउने समस्या छ, त्यसैले बजारमा जाडो मौसमको लागि आवश्यक पर्ने कपडाको अभाव देखिएको हो,’ आयातकर्ता गुभाजुले भने ।

पहल गर्दै भन्सार कार्यालय

चीनसँगका तातोपानी र रसुवा भन्सार नाकाबाट केही सातादेखि दैनिक नगन्य मात्रामा सामान आउन थालेको छ । रसुवा नाकाबाट दैनिक ५ कन्टेनर सामान नेपाल भित्रिरहेको प्रमुख भन्सार अधिकृत पुन्यविक्रम खड्काले जानकारी दिए । यस्तै, तातोपानी नाकाबाट दैनिक २ वटा कन्टेनर सामान नेपाल भित्रिने गरेको प्रमुख भन्सार अधिकृत लालबहादु खत्रीको भनाइ छ ।

‘दशैंभन्दा केही अगाडिदेखि दैनिक ५ कन्टेनर सामान नेपाल आउन थालेका छन्, यसलाई बढाएर दैनिक ८ कन्टेनर सामान नेपाल भित्र्याउन पहल गरिरहेका छौं,’ रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत खड्काले भने ।

तातोपानी नाकाबाट पनि दैनिक नगन्य परिमाणमा सामान नेपाल भित्रिरहेको प्रभुख भन्सार अधिकृत खत्रीले जानकारी दिए ।

‘तातोपानी नाकाबाट सामान आउन सुरु भएको छ, अहिले दैनिक २ कन्टेनर सामान आइरहेको छ,’ प्रभुख भन्सार अधिकृत खत्रीले भने ।

व्यापारीका अनुसार एक कन्टेनरमा २ ट्रक सामान हुन्छ । यसरी हेर्दा तातोपानीबाट दैनिक ४ ट्रक र रसुवाबाट दैनिक १० ट्रक सामान नेपाल आइरहेको छ । यो परिमाणमा सामान आउनु असाध्यै कम भएको व्यापारीको भनाइ छ ।

२५ किलोमिटरको ढुवानी भाडा १४ लाख २६ हजार

नेपाली व्यापारीले किनेका सामान चीनको खासा, ल्हाला, सिगात्से जस्ता क्षेत्रमा रोकिएको व्यापारीले बताएका छन् । नेपालको नाका नजिकै आएका सामान नेपाल छिराउनको लागि पनि चिनियाँ पक्षले असाध्यै बढी रकम माग्ने गरेको आयातकर्ता गुभाजुले बताए ।

‘रसुवाको नाकाभन्दा २५ किलोमिटर टाढा रोकिएका सामान नाकासम्म ल्याउन अहिले चिनियाँ पक्षले ५० हजारदेखि ८० हजार आरएमबीसम्म मागिरहेको छ, सामान्य अवस्थामा यो दुरीबाट सामान ल्याउन जम्मा ६ हजार आरएमबी मात्रै खर्च लाग्थ्यो, अहिले आएका सामान पनि २५ किलोमिटरको लागि १० देखि १३ गुणासम्म बढी शुल्क तिरेर ल्याउनु पर्ने वाध्यता छ,’ आयातकर्ता गुभाजुले भने ।

चिनियाँ मुद्रालाई युआन भनिने भएपनि सामान्य बोलिचालीमा आरएमबी पनि भनिन्छ । नेपाल राष्ट्र बैंकले तय गरेको विदेशी मुद्राको विनिमय दर अनुसार प्रतिआरएमबी नेपाली मुद्रा १७ रुपैयाँ ८३ पैसा छ । सो विनिमय दर अनुसार नेपाली व्यापारीले २५ किलोमिटरको ढुवानीको लागि ८ लाख ९१ हजार रुपैयाँदेखि १४ लाख २६ हजार रुपैयाँसम्म रकम तिर्नु परेको छ ।

‘चिनियाँ पक्षले ढुवानीको लागि गाडी भाडा, लेवर चार्ज जस्ता कारण देखाएर यति रकम माग्ने गरेको छ, कोभिडको कारण भन्दै नेपालीलाई पस्न दिएका छैनन्, एक वर्षअघि पैसा तिरेर किनेको सामान महंगो ढुवानी भाडा तिरेर ल्याउन पाएपनि सावाँ सबै त डुब्दैनथ्यो कि भन्ने हुँदो रहेछ,’ आयातकर्ता गुभाजुले थपे ।

नेपालीको १५ अर्बको सामान चीनमा रोकियो

व्यापारीका अनुसार रसुवा नाकातिर नेपालीको करिब ७ सय ट्रक सामान रोकिएका छन् । यस्तै, तातोपानी नाकातिर करिब ८ सय ट्रक सामान रोकिएको व्यापारीले बताएका छन् ।

व्यापारीहरुका अनुसार एक ट्रकमा ७० लाखदेखि १ करोड रुपैयाँ बराबरको सामान हुन्छ । चीनसँगका दुबै नाकामा गरी करिब १५ सय ट्रक सामान रोकिएको र ती सामानको मूल्य १५ अर्बको हाराहारीमा हुने आयातकर्ता गुभाजुले जानकारी दिए ।

रसुवामा ट्रक व्यवसायीको सिन्डिकेट

चीनबाट सामान ल्याउने व्यापरीले नेपाल आएपछि रसुवामा अर्काे समस्या झेल्नु परेको बताएका छन् । रसुवाका मात्रै ट्रकले सामान ढुवानी गर्न पाउने र अरुले नपाउने नियम लागू गरेर ट्रक व्यवसायीले सिण्डिकेट लागू गर्दा पनि सरकारी निकाय रमिते मात्रै भएर आफूहरुसँग चर्काे ढुवानी भाडा असुल गरिएको व्यापारीको आरोप छ ।

सम्बन्धित सामग्री

८ महिनादेखि चीनको नाकाबन्दी, सरकारमा बस्नेहरुले देखाएनन् चासो

चीनले पर्याप्त सामाग्री नपठाँउदा नेपाली व्यावसायी मारमा, नाकालाई पूर्ण रुपमा सञ्चालन गराउन माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.