दाङको तुल्सिपुरमा ‘गार्डेन मार्ट’ सञ्चालनमा, ५० भन्दा बढीले पाए राेजगारी

  २०७७ कार्तिक १८ गते १३:१२     विकासन्युज

दाङ । दाङको तुल्सिपुरमा सोमबारदेखि ‘गार्डेन मार्ट’ सञ्चालनमा आएको छ । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्य र स्थानीय उपभोक्तालाई सर्वसुलभ रुपमा दैनिक उपभोग्य बस्तु उपलब्ध गराउन यो मार्ट सञ्चालनमा ल्याएको हो ।

मोफसलका ग्राहकलाई समेत आधुनिक किनमेलको अनुभव दिलाउने उदेश्यले मार्ट सञ्चालनमा ल्याइएको संस्थाका मुख्य प्रवन्धक लिलानाथ गौतमले बताए । यो मार्टमा उपकार ब्रान्ड लगायतका अन्य विभिन्न ब्राण्डका चामल, दाल, चिनी, चियापत्ति, चकलेट, ध्यू, मह, जुस लगायतका दैनिक उपभोग्य सामग्री, आधुनिक कृषि उपकरण, मर्मत सम्भारका लागि आवश्यक सम्पूर्ण पार्टपूर्जाहरू, गार्मेन्ट्सका प्रोडक्टहरु, भाँडा वर्तन, श्रृङ्गारका सामग्री, स्टेशनरी, जुत्ता, ब्याग लगायतका सामग्री विक्रिका लागि राखिएको छ । शुभारम्भको अवसरमा मार्टले सम्पुर्ण सामाग्रीहरुमा विशेष छुट समेत दिएको छ ।

बहुउद्देश्यीय सहकारी भएकाले यसले बचत तथा ऋण संकलनका अतिरिक्त सेयर सदस्यलाई प्रत्यक्ष फाइदा पुर्याउने उदेश्यले अन्य विभिन्न क्षेत्रमा समेत लगानी विस्तार गरिरहेको छ । मुख्य प्रबन्धक गौतमले बहुउद्देश्यीय प्रकृति अनुसार नै ‘गार्डेन मार्ट’ सञ्चालन गरिएको बताउँदै मुलुकका विभिन्न क्षेत्रमा करिब २ सयको हाराहारीमा मार्ट सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए ।

उभोक्ताहरूले एउटै छानामुनि सुलभ मूल्यमा सबै किसिमका दैनिक उपभोग्य सामान किनमेल गर्न सकुन् भन्ने उदेश्यले मार्ट सञ्चालनमा ल्याएको मुख्य प्रवन्धक गौतमले बताए । गौतमका अनुसार मार्टमा स्थानीय ५० भन्दा बढीले प्रत्यक्ष रुपमा रोजगारी समेत पाएका छन् ।

दाङमा खुलेको यो संस्थाको तेश्रो मार्ट हो । सहकारीले यस अगाडी डडेलधुरा र भक्तपुरमा मार्ट सञ्चालनमा ल्याइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.