सगरमाथा क्षेत्र घुम्न जाने सुनौलो मौकाः १४ हजारमै एभरेष्ट ट्रेल र फेमेली ट्रेक प्याकेज

  २०७७ कार्तिक १७ गते १६:४७     विकासन्युज

काठमाडौं । कोरोना महामारीको सबैभन्दा गम्भीर असर परेको क्षेत्र पर्यटन हो । तर, यही गम्भीर नकारात्मक असर भने कम आम्दानी हुने नेपालीलाईलाई सुवर्ण मौका पनि बनिरहेको छ ।

सामान्य अवस्थामा नेपालीलाई वास्तै नगर्ने पर्यटकीय गन्तव्यहरुमा नेपाली पर्यटकलाई लक्षित गरी विभिन्न प्याकेजहरु सार्वजनिक भइरहेका छन् । यस्तै, नेपालीलाई लक्षित गरी सार्वजनिक भएको एउटा आकर्षका प्याकेज हो एभरेष्ट फेमेली ट्रेक ।

यो प्याकेज हनिगाइड ग्रुप प्रालिले ल्याएको हो । समिट एयरसँगको सहकार्यमा ल्याइएको एभरेष्ट फेमेली ट्रेकमा १४ हजार रुपैयाँमा नाम्चेको खुम्जुङ भ्यालीसम्म जान पाइन्छ, जुन सामान्य समयको जहाज भाडाभन्दा पनि सस्तो हो ।

विगतका वर्षहरुमा पर्यटकीय सिजनमा नेपालीले पैसा तिरेर पनि जान गाह्रो पर्ने यो क्षेत्रमा अहिले नेपाली लक्षित प्याकेज संचालन भइरहेको प्रालिका कोफाउन्डर अभिषेक पाण्डे बताउँछन् ।

‘कोरोना महामारीको कारण विदेशी पर्यटक आएका छैनन्, शहरी क्षेत्रमा पनि कोरोना त्रासका कारण घरभित्र थुनिएर बसेका नेपालीलाई लक्षित गरी एभरेष्ट क्षेत्रका विभिन्न प्याकेज ल्याएका छौं, यी प्याकेजले कम पैसा तिरेर नेपालीले एभरेष्ट क्षेत्र घुम्न पाएका छन् भने त्यो क्षेत्रको पर्यटन उद्योगले पनि केही मात्रामा भएपनि व्यवसाय पाएको छ, सबै पक्षलाई फाइदा नै भएको छ,’ पाण्डेले विकासन्युजसँग भने ।

३ वटा गन्तव्यको बेग्लाबेग्लै प्याकेज

हनिगाइड ग्रुपले एभरेष्ट फेमेली ट्रेक, गोक्यो ट्रेक र एभरेष्ट बेसक्याम्प ट्रेक गरी ३ गन्तव्यको प्याकेज संचालन गरिरहेको छ । चार रात ५ दिनको एभरेष्ट फेमेली ट्रेकको लागि १३ हजार ९ सय ९९ रुपैयाँ तिर्नुपर्छ । यो खर्चमा जान पाइने भनेको नाम्चेको खुम्जुङ भ्यालीसम्म हो ।

यस्तै, १० रात ११ दिनको गोक्यो ट्रेकको शुल्क भने १७ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । १२ रात १३ दिनको एभरेष्ट बेसक्याम्प ट्रेकको शुल्क भने १९ हजार ९ सय ९९ रुपैयाँ छ । यो शुल्कमा काठमाडौंदेखि लुक्लासम्म आउने जाने हवाई भाडा, होटल खर्च र ब्रेकफाष्ट समावेश हुन्छ । लन्च र डिनरको लागि भने आफैले पैसा तिर्नुपर्छ । यस्तो शुल्क १२ सयदेखि १५ सय रुपैयाँसम्म लाग्ने पाण्डेले जानकारी दिए ।

यो शुल्कमा गाइड सेवा भने पाइदैन । गाइड सेवा लिनको लागि यी ३ गन्तव्यको लागि क्रमशः २४ हजार ९ सय ९९, ३९ हजार ९ सय ९९ र ४४ हजार ९ सय ९९ रुपैयाँ खर्च लाग्छ । लन्च र डिनरको पैसा यसमा पनि जोड्न नविर्सनुस् ।

थप एउटा कुरा, लुक्ला जानको लागि पनि कोरोना संक्रमण भए नभएको पीसीआर परीक्षण अनिवार्य छ । यस्तो शुल्क २ हजार रुपैयाँ लाग्छ भने ३ हजार रुपैयाँ तिरेमा टुर अपरेटरले नै घरमै आएर स्वाव संकलन गर्ने सुविधा पनि प्रदान गर्छ ।

तारा एयरको एभरेष्ट ट्रेल

यस्तै प्याकेज तारा एयरले एभरेष्ट ट्रेलमार्फत संचालन गरिरहेको छ । ताराको प्याकेज भने नाम्चेको खुम्जुङ भ्यालीसम्मको हो । एभरेष्ट ट्रेल प्याकेजको शुल्क पनि १३ हजार ९ सय ९९ रुपैयाँ नै छ । यो प्याकेज पनि ४ रात ५ दिनको हो ।

एभरेष्ट ट्रेलले काठमाडौंदेखि लुक्लासम्मको आउने जाने हवाइ भाडा, ब्रेकफाष्ट, होटल तथा गाइड सुविधा पनि प्रदान गर्छ । सो क्षेत्रमा पाइने होटल भनेको पर्यटकस्तरीय हो ।

कति छ सस्तो ?

यो सिजनमा सामान्यतः नेपालीले एयर टिकट र होटल नै नपाउने समस्या हुने गथ्र्याे । तर, कोरोना भाइरस महामारीको कारण विदेशी पर्यटक आउन छोडेपछि पर्यटन व्यवसायीहरुले नेपाली पर्यटक प्याकेज संचालन गरेका हुन् ।

सामान्य अवस्थामा यो सिजनमा काठमाडौंदेखि लुक्ला आउन जान हवाइ भाडा नै १६ हजार रुपैयाँ लाग्थ्यो । यस्तै ब्रकेफाष्टको प्रतिदिन ५ सय रुपैयाँका दरले ५ दिनको २५ सय र गाइडको प्रतिदिन १५ सय रुपैयाँका दरले ५ दिनको ७ हजार ५ सय गरी २६ हजार रुपैयाँ तिर्नुपर्ने हुथ्यो । सोभन्दा माथिको यात्राको लागि भने प्रतिदिन सोही अनुपातमा खर्च बढ्ने हुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.