जो दशैंको टीका नपुछेरै मुग्लान लागे

  २०७७ कार्तिक १७ गते १२:१८     सन्ताेष राेकाया

धनगढी । निधारमा टलक्क टल्केको टिका । अनुहारभरी पसिना । ओठमाथि भर्खरै देखिएका जुँगाका रेखीहरु । पिठ्युँमा गह्रुँगो झोला बोकेर लाइनमा एकोहोरो टोलाइरहेका थिए अछामका मदन जोशी ।

दशैं सकिएको थिएन । बडा दशैं नेपालमा एक हप्तासम्म तामझामका साथ मनाइन्छ । तर, मदन भने दशैंको तेस्रो दिनमै कैलालीको गौरिफण्टा नाकामा भारत पस्न तम्तयार देखिन्थे ।

करिब १ सयभन्दा बढी मानिसहरुको संख्या रहेको लाइनमा उभिएर भारत पस्न तम्सिएका थिए मदन । दशैंको टीका लगाएर भारतलागि हिँडेका उनमा निराशा रेखीहरु भने प्रष्ट बुझिन्थे ।

चाडपर्वको समय । लामो समयसम्म घर परिवारसँग रमाउने रहर कस्को नहोला र ? तर, मदनको हकमा भने त्यो रहरलाई रहरमै सीमित राख्नुको विकल्प थिएन ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण भारतमा लकडाउन भएपछि जेठमा नेपाल आएका उनी फेरि काम गर्नैकै लागि भारत लागे । ‘नेपालमा बस्न खानको लागि केही नपाइनँ, ३/४ महिना भारतबाट ल्याएको पैसाले जसो तसो काम चल्यो, त्यो पैसा पनि सकियो, अहिले भोक भोकै मर्न लागेपछि भारत जान तयार भएँ,’ उनले दुखेसाे पाेखे ।

पेटमा खानको लागि नभएपछि चाडपर्वको पनि त्यति माया लाग्ने रहेनछ, अब तिहार उतै मनाउनु पर्ला,’ उनले तप्प आँशु खसाल्दै भने ।

मदन मात्र होइन उनको जस्तै पीडा भएका त्यो पंक्तिमा सयौं जना थिए । पंक्तिमा साना नानीबाबु काखीमा च्याप्दै बसेका बाजुराका प्रेम खातीको गुनासो पनि मदनको भन्दा कम थिएन ।

नेपालमा लकडाउन हुनुभन्दा २ दिन अगाडि नेपाल पुगेका प्रेम दशैंको तेस्रो दिनमै श्रीमति र आफ्नो छोराछोरी बोकेर भारत हिँडे । उनले गुनासो गरे, ‘नेपालमा बालबच्चा पाल्न नसकिने, भारत जानु बाहेको विकल्प नै छैन, सरकारले हामी जस्ता गरिबलाई हेर्दैन, भोक भोकै मर्नु भन्दा भारतमा जे काम पायाे त्यही गर्यो खायो, नेपालमा न काम पाइन्छ, नत पैसा नै ।’

उनले आफूहरु जस्तालाई सरकारले कुनै वास्ता नगरेको गुनासाे गरे । भारत नगएर आफूहरुको गुजारा नचल्ने बताउने उनका सबै परिवार भारतमै बस्दै आएका छन् । मदन र प्रेम मात्र हाेइन सुदूरपश्चिमका अधिकांशकाे राेजिराेटीकाे लागि जाने उपयुक्त ठाउँ नै भारत हाे ।

सुदूरपश्चिमका अधिकांश मानिस दशैंमा एक दुई दिनका लागि घर आएर फेरि भारतै फर्किन थालेका छन् । दशैँमा आफ्नो घरपरिवार र मान्यजनबाट टिका लगाएर उनीहरू अहिले कञ्चनपुरको सीमा नाका गौरीफन्टा र गड्डाचौकी नाका भएर भारत गइरहेका छन् । प्रत्येक वर्ष दशैं तिहार नजिकिएसँगै भारतबाट यी दुई नाकाबाट हजारौँ सङ्ख्यामा नेपाली स्वदेश फर्किने गर्दथे । तर, यो वर्ष भने खासै मानिस नेपाल आएन । नेपाल आएकाहरु पनि चाँडै भारत जान बाध्य भएका छन् ।

घरको आर्थिक अवस्था कमजोर भएर विदेशमा मजदुरी गर्न जान उनीहरू भारत जाने गरेका छन् । कोरोना सङ्क्रमित सबैभन्दा धेरै हुने देशको सूचीमा पुगेको भारतमा कोरोना सङ्क्रमण बढ्ने क्रम रोकिएको छैन । यस्तो समयमा नेपालीहरू भारत जानु झन् जोखिम भए पनि जीवन चलाउन सहज अवस्था नभएपछि उनीहरू ज्यान नै जोखिम राखेर भारत फर्किन बाध्य भएका हुन् ।

भारतबाट फर्केका अधिकांश युवाहरूको चाहना स्वदेशमै सीप अनुसारको काम गर्ने थियो । तर,उनीहरूले यहाँ कहिँकतै रोजगारी नपाएपछि फेरि भारत नै जान विवश भएका हुन् ।

स्थानीय स्तरमा रोजगारीका अवसरहरु प्रर्याप्त नहुँदा चाडपर्व नसकिदै भारत पस्नु परेको दुखेसो उनीहरुको छ । देशमा तीन तहको सरकार भए पनि आम सर्वसाधारणको समस्या कसैले पनि नबुझेको प्रतिक्रिया भारत जानेहरु दिन्छन् ।

अहिले भारतका बिभिन्न शहरमा कामका लागी युवा, वयस्क, महिलादेखि वृद्ध उमेर सम्मका नागरिकहरु गौरीफन्टा नाकामा भेटिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.